आफ्नै आविष्कार
आविष्कार केन्द्र परिसरको रौनक नै वेग्लै छ, त्यहाँ बाहिरबाटै विभिन्न मेसिनहरूको आवाज सुन्न सकिन्छ।
राष्ट्रिय आविष्कार केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ। यो केन्द्र विशुद्ध जनस्तर र विदेशी तथा विदेशमा बस्ने नेपालीको सहयोगबाट सञ्चालन भइरहेको छ। केन्द्रका अध्यक्ष हुन्, महावीर पुन।
कीर्तिपुरस्थित आविष्कार केन्द्र परिसरको रौनक नै वेग्लै छ। त्यहाँ पुग्ने जोकोहीले बाहिरबाट नै विभिन्न मेसिनहरूको आवाज सुन्न सक्छ। ट्याङटुङ र टुङटुङ अनि ध्वारर घुररको आवाजसँगै युवाहरू विभिन्न काममा व्यस्त भएको देख्न सकिन्छ। यो केन्द्रले केही नयाँ काम गर्न सोच भएका युवाहरूलाई निःशुल्क अध्ययन र अनुसन्धानको वातावरण निर्माण गरेको छ। त्रिभुवन विश्वविद्यालयले दिएको जग्गामा राष्ट्रिय आविष्कार केन्द्रलाई हुर्काइरहेका बैज्ञानिक महावीर पुन सामाजिक अभियान्ताका रूपमा परिचित छन्। अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुन देशलाई विकासको गतिमा डोर्याउने कर्ममा सक्रिय छन्। वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह तथा इन्टरनेट सञ्जाल विस्तार गरेको योगदान स्वरूप उनले अमेरिकाको चर्चित रोमन म्यागासेसे पुरस्कार प्राप्त गरेका छन्।
आविष्कार केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन्। लामो समयदेखि बन्द भएको वीरगन्जस्थित कृषि औजार केन्द्र सञ्चालन गर्नका लागि सरकारले आविष्कार केन्द्रलाई जिम्मा दिएको छ। महावीर पुनकै नेतृत्वमा उक्त केन्द्रमा रहेका पुराना मेसिन तथा औजारहरू पुनः प्रयोगमा ल्याउन केन्द्रले काम गरिरहेको छ।
आविष्कार केन्द्रमा रहेको सामान्य आवासगृहमा बस्ने पुन सादगी जीवनका पर्याय हुन्। उनले आफूले लगाउने कपडासमेत वर्षांैदेखि किनेका छैनन्। उनी भन्छन्, साथीहरूले दिएका कपडा लगाएरै मैले ३० औ वर्ष धानेको छु। अमेरिकामै पढेका र उतै अध्यापन गराएका पुन आविष्कारको क्षेत्रमा केही गर्ने नयाँ हुटहुटी बोकेर नेपाल फर्किएका हुन्। कामको सिलसिलामा उनी विश्वको २८ देश पुगिसकेका छन्। भने नेपालको २८ बढी जिल्ला घुमिसकेका छन्।
विभिन्न विषयमा पढ्दै गरेका युवाहरू व्यावहारिक ज्ञानका लागि राष्ट्रिय आविष्कार केन्द्रमा पुग्ने गर्छन्। पुनकै अगुवाइमा विभिन्न मेसिन तथा कृषि औजार निर्माणमा जुट्ने गर्छन्। यो आविष्कार केन्द्रले कोरोनाको समयमा स्वास्थ्यउपकरण समेत निर्माण गरेको थियो। कृषि औजार, घरायसी सामग्री तथा विभिन्न अत्याधुनिक मेसिनहरू पनि निर्माण गर्दै आइरहेको छ। अहिले नेपालमै बनेको विद्युतीय मोटरसाइकल यात्रीलाई सरकारी मान्यता दिलाउनका लागि महावीर पुनले नेतृत्व गरिरहेका छन्।
पुन भन्छन्, ‘आविष्कार केन्द्र प्रतिभाशाली युवाहरूको साथ दिने र काम गर्न वातावरण मिलाउने एउटा संस्था हो। यो सबैका लागि खुला छ। जोसँग क्षमता छ र काम गर्ने जागर छ, यहाँ आउनुहोस् हामी केही सीप सिकाएर पठाउँछौं। विकासको क्षेत्रमा समृद्ध नेपाल बनाउने मेरो सपना छ। लक्ष्य पनि यही हो। नेपालमै केही गरौं।’
अहिलेसम्म केही आविष्कार गरेको छैन भन्दै उनी भन्छन्, ‘विशेष आविष्कार गर्छु नै भनेर आएको पनि होइन। समाज सेवा गर्ने उद्देश्यले म नेपालमा बसेको हो। समाजसेवाका क्रममा विभिन्न सामाजिक विकासका काममा सक्रिय भएको उनले बताए। देश समृद्ध बनाउने सपना देखेको कारण निकै दुःखले आविष्कार केन्द्रको स्थापना गरिएको उनले सुनाए।’
राष्ट्रिय आविष्कार केन्द्र महावीर पुनको परिकल्पना हो। युवाका लागि आविष्कार गर्न दिने ‘प्लेटफर्म’का रूपमा यो केन्द्र सञ्चालित भएको छ। पुनका अनुसार यो केन्द्रमा अहिले एकैपटक १८ वटा प्रोजेक्टहरू सञ्चालन भइरहेका छन्। यहाँ आउने जोसुकैले काम गर्नुपर्छ। निःशुल्क रूपमा योगदान दिनुपर्छ। हरेक युवा आफैं इन्जिनियर, आफैं वैज्ञानिक त आफंै आविष्कारक। यहाँ आउने जोकोही आफैं मेसिन चलाउछन्, सिलाउँछन्, हम्बर पिट्छन् ।
समृद्ध देशको सपना बोकेर हिँडेका महावीर पुन नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा सरकारले चासो नदेखाएको बताउँछन्। मुलुकलाई चाहिने नुनदेखि सुनसम्म विदेशबाट आयात गर्ने नेपालले यहीको उत्पादनलाई भने प्राथमिकतामा नराख्ने उनको गुनासो छ। बजेटको केही रकम आविष्कारको क्षेत्रमा लगानी गर्नका लागि सरकारसमक्ष उनको अनुरोध छ।
आविष्कार केन्द्रमा अहिले सेलरोटी बनाउने मेसिन तयारी अवस्थामा छ। यो मेसिनको माग बजारमा उच्च छ। हरेक दिन सेलरोटी बनाएर वेच्ने होटलहरूमा यो मेसिनको प्रयोगले छिटो र सहज तरिकाले रोटी निर्माण गर्न सहज बनाउनेछ।
यस्तै सानोबच्चालाई तातो बनाइ राख्ने बेबी वार्मर पनि तयार भइरहेको छ। सानो बच्चालाई निमोनियाबाट बचाउनका लागि बेबी वार्मर निकै उपयोगी हुने पुनले अपेक्षा गरेका छन्। यही केन्द्रमा सक्रिय युवाहरूले औषधि बोक्ने ड्रोनको निर्माण गरिरहेका छन्। औषधि बोक्ने ड्रोनको परीक्षण गरी यही वर्षदेखि नै सञ्चालनमा ल्याइने उनले बताए।