चन्दले अघि सारेको सेती लोकमार्गको अवधारणा २४ वर्षपछि अर्थात् २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा समेट्यो। आर्थिक वर्ष २०६६-०६७ यता सेती लोकमार्ग सरकारको नीति तथा कार्यक्रममा छुटेको छैन।
दक्षिणको छिमेकी भारत र उत्तरको चीनको ताक्लाकोट सीमा नाका जोड्ने त्रिदेशीय महत्त्वको सेती लोकमार्गको चर्चा २०४२ सालमा सुरु भयो। सुदूरपश्चिम घर भएका तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले पहिलो पटक प्रधानमन्त्री हुँदा उत्तर–दक्षिण सीमा जोड्ने सेती लोकमार्गको अवधारणा ल्याए।
चार पटकसम्म प्रधानमन्त्री भएका चन्दले अघि सारेको सेती लोकमार्गको अवधारणा लामो समय चर्चामै सीमित बन्यो। चन्द २०३९, २०४६, २०५३ र २०५८ गरी चारपटक प्रधानमन्त्री बने। चन्दलाई समेत उछिन्दै सुदूरपश्चिमबाटै शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री बने। २०५१, २०५७, २०६१, २०७३ र २०७७ गरी पाँच पटक प्रधानमन्त्री बनेका देउवाकै कार्यकालमा समेत सेती लोकमार्गले गति लिन सकेन।
चन्दले अघि सारेको सेती लोकमार्गको अवधारणा २४ वर्षपछि अर्थात् २०६६ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा समेट्यो। आर्थिक वर्ष २०६६-०६७ यता सेती लोकमार्ग सरकारको नीति तथा कार्यक्रममा छुटेको छैन। तथापि सेती लोकमार्ग निर्माण सुुरु भएको झन्डै १४ वर्ष ट्र्याक खोल्नमै सीमित छ।
कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ हुँदै तिब्बतको (ताक्लाकोट) सीमा नाकासम्म ३ सय ५९ किलोमिटर लामो सेती लोकमार्गको हालसम्म १ सय ८७ किलोमिटर मात्रै ट्र्याक खोलिएको छ। सेती लोकमार्ग निर्माणलाई तीव्रता दिन भन्दै सरकारले उत्तरी र दक्षिणी खण्ड गरी दुई वटा योजना कार्यालय स्थापना गरेको छ। दक्षिणी खण्डका लागि अछामको साँफेबगर र उत्तरी खण्डका लागि बझाङको चैनपुरमा छुट्टाछुट्टै योजना कार्यालय राखिएका छन्।
टीकापुरदेखि चैनपुरसम्म दक्षिणी खण्डमा पर्ने २ सय ४२ किलोमिटरमध्ये १ सय ४७ किलोमिटर र चैनपुरदेखि ताक्लाकोटसम्म उत्तरी खण्डमा पर्ने १ सय १७ किलोमिटरमध्ये ४० किलोमिटरमात्रै ट्र्याक खोलिएको छ।
सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका सूचना अधिकारी इन्जिनियर केशव मिश्रले दिएको जानकारीअनुसार दक्षिणी खण्डमा पर्ने टीकापुरदेखि बौनियाँसम्म १५ किलोमिटर, बौनियाँदेखि ठूलीगाडसम्म ३७ किलोमिटर ट्र्याक खोलिएको छ।
त्यस्तै अछामको सेती र बुढीगंगा दोभानदेखि साँफेबगरसम्म २४ किलोमिटर र साँफेबगर–घुघुरकोट–बिडासैनसम्म ३३ किलोमिटर ट्र्याक खोलिएको छ। दक्षिणी खण्डअन्तर्गत पर्ने बझाङको रानागाउँदेखि तमेल हुँदै चैनपुरसम्म ३८ किलोमिटर सडकको ट्र्याक खोलिएको छ। दक्षिणी खण्डमा पर्ने बौनियाँदेखि ठूलीगाडसम्म २० किलोमिटर, डोटीको ठूलीगाडदेखि सेती–बुढीगंगा दोभानसम्मको ४० किलोमिटर अझै ट्र्याक खोल्न बाँकी छ।
त्यस्तै, अछामको सेती बुढीगंगा दोभानदेखि साँफेबगरसम्म आठ किलोमिटर, घुघुरकोट–बिडासैनसम्मको १५ किलोमिटर र बाजुरामा पर्ने बिडासैनदेखि रानागाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ।
सेती लोकमार्ग उत्तरी खण्ड सडक डिभिजन कार्यालय चैनपुरका सूचना अधिकारी इन्जिनियर पंखसिंह धामीले दिएको जानकारीअनुसार बझाङको चैनपुरदेखि उरै भन्ज्याङ ताक्लाकोटसम्म पर्ने १ सय १७ किलोमिटर उत्तरी खण्डमध्ये चैनपुरदेखि पाल्ती भीरसम्म ४० किलोमिटर ट्र्याक खोलिएको छ। सो खण्डको ७७ किलोमिटर ट्र्याक खोल्न अझै बाँकी छ।
कैलालीको मोहन्यालका ७१ वर्षीय प्रजे मगरले सेती लोकमार्गको चर्चा सुनेको वर्षौं भएको बताए। उमेर ढल्किनै लाग्दासमेत लोकमार्गको ट्र्याकसमेत नखोलेपछि सडक चुनावी नारा मात्रै भएझैं लागेको छ। ‘हामी जवान हुँदै यो सडकको चर्चा सुनेका हौं, अहिलेसम्म ट्र्याकसमेत खुलेको छैन’ निराश हुँदै उनले भने, ‘यो सडक नेताहरूको चुनावी एजेन्डा मात्रै हो कि जस्तो लाग्छ।’
कैलाली र डोटी जिल्लाको पूर्वी भाग, अछाम, बाजुरा र बझाङ जिल्लाका महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य लोकमार्गसँग जोडिएका छन्। विशेषतः हिन्दु धर्मावलम्बीका लागि आस्थाको केन्द्र मानिने कैलाश मानसरोवरसम्म पुग्न सेती लोकमार्ग पश्चिमभरिमा सबैभन्दा छोटो र कम लागत लाग्ने महत्त्वपूर्ण आयोजना हो।
मान्यताअनुसार कैलाश मानसरोवर जान भारतको नैमिसारण्डदेखि सुरु गर्नुपर्छ। सेती लोकमार्गले नैमिसारण्डदेखि भारतको तिकुनियाँहुँदै टीकापुर, डोटीको पूर्वीभाग, अछामको वैद्यधानधाम, बझाङको खप्तड हुँदै ताक्लाकोटबाट कैशाल मानसरोवर जान सकिन्छ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. जनकराज शाह सेती लोकमार्ग सुदूरपश्चिमको आर्थिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले लाइफलाइन भएको बताउँछन्। ‘कैलालीको पूर्वी भाग, यातायात सुविधाबाट वञ्चित रहेको डोटीको पूर्वीक्षेत्र, अछामको वैद्यनाथ धाम, बाजुरा र बझाङको खप्तड हुँदै उरै भन्ज्याङसम्म जोड्ने यो सडक दूरी र लागतका हिसाबले धेरै सहज आयोजना हो’ डा. शाहले भने।
उनले उत्तर–दक्षिण जोड्ने यो सडक आर्थिक रणनीतिक मार्ग मात्रै नभएर सुदूरपश्चिमको लाइफलाइन भएको बताए। ‘यसले यहाँको जनजीवन एउटा स्तरमा पुर्याउनेछ’ डा. शाहले भने। उनी राष्ट्रिय योजना आयोगको सदस्य हुँदा निर्माण सुरु भएको यो सडकको प्रगति सुस्त रहेकोमा उनले दुःख व्यक्त गरे।
आयोजनाको काम सुस्त हुन थालेपछि अछाम क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले वैशाख ५ गतेको प्रतिनिधिसभा बैठकमा बोल्दै सरकारको ध्यानाकर्षण गराए। ‘भारतको उत्तर प्रदेशको १८ करोड जनसंख्याको १० प्रतिशत मात्रै पर्यटक मानसरोवरसम्म यही मार्ग भएर ल्याउन सकिने विश्वासका साथ सुरु गरिएको आयोजना हो’ सांसद कुँवरले भने। ‘सुदूरपश्चिमको पर्यटन विकास, पहाडी जिल्लाहरूको बसाइँसराइ रोक्न र यहाँको आर्थिक रूपान्तरणका लागि सेती लोकमार्ग महत्त्वपूर्ण छ। यसमा कुनै प्रकारको बहानाबाजी, आलटाल हाम्रा लागि सैह्य हुने छैन।’
पटक–पटक ध्यानाकर्षण गराउँदासमेत अन्तर मन्त्रालय समन्वयको अभावमा आयोजना निर्माणमा ढिलाइ भइरहेको उनले बताए। ‘चार वर्षसम्म वन मन्त्रालयका कारण रूख कटान गर्नुपर्ने कैलाली र डोटीमा वातावरणीय प्रभाव मूल्यांकन नै हुन सकेन’ पूर्वमन्त्रीसमेत रहेका कँुवरले भने। ‘अहिले कामले केही गति लिएको छ। कैलालीमा रूख कटान सुरु हुँदैछ, डोटीमा छपान कार्यको अनुमति आएको छ।’
हाल धनगढीबाट साँफेबजर पुग्न २ सय ७० किलोमिटरमा कम्तीमा १० घण्टा समय लाग्छ। टीकापुरदेखि सेती लोकमार्ग हुँदै साँफेबगरसम्मको दूरी १ सय ३५ किलोमिटर अवस्था ठ्याक्कै आधा छ। सेती लोकमार्ग निर्माण भए तीन घण्टामै साँफेबगर पुग्न सकिने कुँवरले बताए। ‘यसले ढुवानीको लागतसमेत कम हुन जान्छ भने साँफेबगर पुग्ने समयमा बझाङको चैनपुरसम्म सजिलै पुग्न सकिन्छ।’
बझाङको चैनपुरदेखि ताक्लाकोटसम्म पर्ने उत्तरी खण्डको निर्माण आर्थिक वर्ष २०८४-०८५ मा सम्पन्न गर्ने लक्ष्य रहेको उत्तरी खण्ड आयोजना प्रमुख तुलाराम शर्माले बताए। ‘कडा चट्टान भएर ब्लास्ट गर्नुपर्ने हुँदा निर्माणमा केही ढिलो भए पनि निर्धारित समयमै आयोजना सम्पन्न गर्ने गरी काम भइरहेको छ’ शर्माले भने। ‘कुल १ सय १७ किलोमिटर ट्र्याकमध्ये ४० किलोमिटरभन्दा बढी ट्र्याक खोलिसकेका छौं।’
यता, बझाङको चैनपुरदेखि टीकापुरसम्म हेर्ने सेती लोकमार्ग दक्षिणी खण्ड सडक डिभिजन कार्यालय साँफेबगरका योजना प्रमुख रमेश भट्टराईले वन मन्त्रालयले रूख कटान आदेश दिनमै समय खर्चिएको बताए। ‘चार वर्षसम्म रूख कटानका लागि वातावरणीय प्रभाव मूल्यांकन नै हुन सकेन’ उनले भने। ‘अहिले कैलालीमा रूख कटान सुरु भएको छ भने डोटीमा छपानको कार्य भइरहेको छ।’
कैलालीको धनगढीस्थित त्रिनगर नाकाको विकल्पका रूपमा भारतीय तिकुनियाँ हुँदै खक्रौला नाकालाई उत्तरी सीमावर्ती चीनसँग जोड्ने छोटो मार्गका रूपमा रहेको सेती लोकमार्ग निर्माणमा ध्यान दिन जरुरी छ। त्रिदेशीय नाकाबाट हुन सक्ने व्यापार, सुदूरपश्चिमको पर्यटन विकास, आर्थिक रूपान्तरण र देशकै लागि चिन्ताको विषय बनेको पहाडी जिल्लाको बसाइँसराइ नियन्त्रणका लागि यो आयोजना कोसेढुंगा सावित हुनेछ।