बुद्धम् शरणम्
लुम्बिनी प्रायः घुमिने मायादेवी मन्दिरमा मात्रै सीमित छैन, विश्वका ३० भन्दा बढी देशको बौद्ध संस्कृतिमय छ लुम्बिनी। यहाँको संस्कृति हेर्न मात्रै कम्तिमा दुई दिन लाग्छ।
सन् २०१९ मा लुम्बिनीको बौद्ध संसार हेर्न आउने तेस्रो मुलुकका पर्यटकको संख्या १ लाख ७४ हजार १५ जना थियो। २ लाख ६ हजार १ सय ७१ भारतीय र ११ लाख ७८ हजार १ सय ४८ जना नेपालीले सोही वर्ष लुम्बिनी भ्रमण गरे। लुम्बिनी पुगेका यी १५ लाख बढी पर्यटकमध्ये धेरैले बढीमा तीन घण्टा लुम्बिनी बिताए होलान्।
मायादेवीको मन्दिर दर्शन, सेन्ट्रल क्यानेलको बोट, सेतो गुम्बा लुम्बिनी पुग्ने धेरैको रोजाई क्षेत्र हो। तर, लुम्बिनी पुग्ने धेरै मानिसहरूलाई थाहा छैन कि लुम्बिनीमा यीबाहेक अरू धेरै आकर्षक र बौद्ध संस्कृतिले भरिपूर्ण क्षेत्र छन्। बौद्ध संस्कृतिका रुपमा हेर्दा लुम्बिनी नै संसार हो। जहाँ बौद्ध संस्कृति भएका विश्वका मुलुकहरूले बिहार, गुम्बा बनाएर कला संस्कृतिको प्रदर्शन गरेका छन्।
मायादेवी मन्दिर क्षेत्र बुद्ध लुम्बिनीमा जन्मिएका हुन भन्ने प्रमाणको विशेष भूमि हो। ती बाहेकका अन्य संरचना बौद्ध संस्कृति प्रबद्र्धनका लागि निर्माण गरिएको छ। विश्वका मुलुकका बौद्ध संस्कृति देखिने संरचना बनाउनकै लागि केन्जो टाँगेको गुरुयोजनामा ४५ वटा प्लट निर्माण गरिएको छ, जहाँ थेरबाद र महायान सम्प्रदायका बिहार र गुम्बाहरू छन्।
ईसापूर्व ६२३ मा लुम्बिनी जन्मिएका सिद्धार्थ गौतमले ३५ वर्षको उमेरमा बोधी (ज्ञान) प्राप्त गरे। उनले ज्ञान बाढ्दै ४५ वर्ष बिताए। कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्दै गर्दा बुद्धले शिष्यलाई भनेका थिए, जीवनमा एकपटक म जन्मिएको, बुद्धत्व प्राप्त गरेको, पहिलोपटक ज्ञान बाढेको र प्राण त्यागेको स्थानमा अवश्य पुग्नु। (त्यति पनि नसके जन्मेको स्थान लुम्बिनी पुग्नु।) हो, त्यही धार्मिक महत्वको क्षेत्र हो लुम्बिनी।
बुद्धको महापरिनिर्वाणपश्चात् धर्मका विषयमा अनेक विवाद भए। बौद्ध संघ अर्थात् भिक्षु-भिक्षुणीहरू सय वर्षपछि नै दुई वर्गमा विभाजित भए। स्थविरवाद र महासांघिक। त्यसपछिका बिभिन्न कालखण्डहरूदेखि अहिलेसम्म डेढदर्जन सम्प्रदाय जन्मिए। बुद्ध, धम्म र संघ यी तीन महत्वपूर्ण पक्ष नै लुम्बिनीको खास पहिचान हो।
चार दशकअघि प्रोफेसर केन्जो टांगेले लुम्बिनी गुरुयोजना कोरे। लुम्बिनी रुपन्देहीको दक्षिणी क्षेत्रमै रहेको प्रमाण अशोक स्तभ हो। जहा ‘हिदबुद्धजाते’ अर्थात् बुद्ध यही जन्मिएका हुन भन्ने सहितका लिखित प्रमाणसहितको स्तम्भ छ। त्यही प्रमाणका आधारमा युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको लुम्बिनी टाँगेको गुरुयोजनापछि धार्मिक केन्द्रका रूपमा विकसित हुँदैछ।
मुलुककै मुख्य पर्यटकीय केन्द्र लुम्बिनीमा तीन प्रकृतिमा पर्यटकहरू आउँछन्। अध्येता, दर्शनार्थी र दर्शक। अहिले सबैभन्दा बढी दर्शक (नेपालसहित विदेशी पनि), दर्शनार्थी र अध्येता आउँछन्। दर्शक वा सामान्य घुमफिर गर्न आउनेलाई लुम्बिनी के हो पत्तो छैन। यहाँ भएको संरचनाहरूले के अर्थ दिन्छन् भन्ने जानकारी नै नपाई फर्किन्छन्। न त धर्म दर्शनका बारेमा ज्ञान छ न त पुरातत्वको बारेमा। बुझ्न चाहनेका लागि लुम्बिनी नै बौद्ध दर्शनको सवथोक हो।
लुम्बिनी सानो बौद्ध विश्व नै हो, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय भन्छन्–‘धेरैलाई यो कुरा थाहा छैन, कतिले बुझ्न चाहानुहुन्न।’ लुम्बिनी मिनि बुद्धिष्ट वल्र्ड रहेकाले तेस्रो मुलुकका धेरैभन्दा धेरै पर्यटकहरू लुम्बिनी ल्याउन सकिने ठूलो सम्भावना छ।
पछिल्लोपटक कोरोना महामारीले पर्यटकको संख्या खुम्चिएको छ। सन् २०२२ को अन्त्यपछि केही संख्या बढ्दै गएको छ। प्रदेश सरकारले लुम्बिनीलाई नै केन्द्रमा राख्दै पर्यटनबाटै आर्थिक समृद्धि हुने दीर्घकालीन रणनीति सार्वजनिक गरेको छ।
यसकारण लुम्बिनी बौद्ध संसार
बुद्धको महापरिनिर्वाण अर्थात ईसापूर्व चौथो शताब्दीमा बुद्ध संघमा विभाजन सुरु भयो। बहुसम्प्रदाय निर्माण भए। ईसापूर्वको दोस्रो शताब्दी अर्थात सम्राट अशोकको कालमा बौद्ध धर्मले विश्वव्यापी प्रचारको मौका पायो। त्यसपछिका समयमा बौद्ध धर्म विश्वका धेरै मुलुकमा पुग्यो। थेरबाद, महायानसहित बज्रयान, हिमालय बौद्ध समुदायसहितका सम्प्रदायहरू निर्माण भए।
फरक–फरक देशमा आ–आफ्नै बौद्ध सस्कृति छ। फरक कला छ। बुद्धकै उपदेश ग्रहण, धर्मदेशना, प्रजज्या, पूजा पाठको आफ्नै संस्कृति छ। अहिलेका अध्यताहरू यी संस्कृतिको गहन अध्ययन गर्न चाहान्छन। त्यसका लागि धेरै देश चहार्नुपर्ने बाध्यता छ। तर, लुम्बिनी त्यस्तो स्थान हो, जहा बौद्धमुलुक र बौद्ध धर्म पनि मान्ने मुलुकको संस्कृति बुझ्न सकिन्छ।
गुरुयोजनामा टांगेले चार दशकअघि नै यसको कल्पना गरेका थिए। लुम्बिनी प्रवेशद्वारबाट नै लुम्बिनीग्रामको सुरुआत हुन्छ। पर्सा हुँदै बसपार्कबाट लुम्बिनी प्रवेश गर्ने मूलद्वार हो। जहाँको उत्तरतर्फ थेरबाद र दक्षिणतर्फ महायान सम्प्रदायका विहारहरू छन्। यो गुरुयोजनाले अध्ययनको एक आसन र बौद्ध धर्मको प्राणको अनुभव गर्ने स्थान प्रदान गरेको छ, वरिष्ठ पुरातत्वविद बसन्त बिडारीले आफ्नो मौन आह्वान पुस्तकमा लेखेका छन्– ‘यसले पश्चिम नेपालको सामाजिक आर्थिक उत्थानमा महत्वपूर्ण भूमिका खेलेको छ र सांस्कृतिक पर्यटनको विकासमा बल पुग्नेछ।’
विहारैपिच्छे फरक संस्कृति
लुम्बिनीको मूल नहरको पूर्व–पश्चिममा ४२ वटा विहारका लागि प्लट बनाइएको छ। राजकीय थाई विहार, क्यानेडियन बुद्धिष्ट संस्था, महावोधि मन्दिर भारत, कम्बोडियन मन्दिर, श्रीलंका महाविहार, नेपाल थेरबाद मन्दिर, म्यानमार स्वर्ण मन्दिरसहित विपश्यना केन्द्र उत्तरी विहार क्षेत्रमा बनेका छन्। यसको अध्ययनले थेरबाद के हो ? संस्कृति र कला के हो। कुन देशको कला कस्तो भन्ने पूर्ण ज्ञान दिन्छ।
एकै स्थानमा धेरै संस्कृति बुझ्न सक्ने वातावरण विश्वका कुनै स्थानमा छैन, विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय भन्छन्– ‘लुम्बिनीमा यी सबै मुलुकको संस्कृति अध्ययन गर्न सकिन्छ।’ संस्कृतिको विषयमा अध्ययन गर्नेहरूको संख्या बढ्दै गएकोमा उनी विश्वस्त छन्।
नहरको दक्षिणतर्फ २९ वटा विहार छन्। जहा महायानी सम्प्रदायपछिका उपसम्प्रदायका पनि गुम्बा बिहारहरू निर्माण भएका छन्। नेपाल, सिंगापुर, फ्रान्स, जर्मनी, जापान, भारत, क्यानडा, भियतनाम, मंगोलिया, भुटान, स्विट्जरल्यान्ड, चीन, दक्षिण कोरिया, म्यानमार तथा हिमाली बौद्ध समुदायको संस्कृति झल्किने कलात्मक गुम्बा बिहारहरू निर्माण भएका छन्।
यी मुलुकमा हुने बौद्ध गतिविधि, संस्कृति र कलाको अनुपम संगम नै लुम्बिनीमा रहेकाले यसलाई मिनि बुद्धिष्ट वल्र्ड भनिएको हो। संस्कृति विद् डा. गितु गिरी भन्छन्– ‘बौद्ध संस्कृति र कला बुझ्नका लागि लुम्बिनी विश्वकै महत्वपूर्ण गन्तव्य हो। यसलाई विश्वभर प्रचार गर्न आवश्यक छ।’
पर्यटन प्रवद्र्धन
समय–समयमा पर्यटन व्यवसायीले लुम्बिनीभित्र बनेका बिहार गुम्बाहरू होटलका रूपमा प्रयोग भएको गुनासो गर्दै आएका छन्। तर, त्यो गुनासोभन्दा पनि महत्वपूर्ण कुरा यिनै विहारगुम्बाले नै लुम्बिनीको अन्तर्राष्ट्रिय प्रवद्र्धन गरेका छन्।
झन्डै ४० वटा बौद्ध गुम्बा र बिहारमै बसेका भिक्षु-भिक्षुणीबाट नै ती मुलुकमा लुम्बिनीको प्रचार प्रसार भएको छ। पर्यटक लुम्बिनी ल्याउनमा समेत यी बिहारको महत्वपूर्ण योगदान छ। विकास कोषका उपाध्यक्ष मैत्तेय यी गुम्बामा बस्नेहरूलाई ‘पर्यटन दूत’को संज्ञा दिन्छन्।
नेपाल सरकारले गर्न नसकेको पर्यटन प्रवद्र्धनमा यहाका बिहारको महत्वपूर्ण योगदान छ, उनले भने– ‘पर्यटकहरूलाई लुम्बिनी डोर्याउने काममा ठूलो सहयोग छ।’ लुम्बिनीको सन्दौर्यताका लागि पनि बिहार महत्वपूर्ण हुन्।
पर्यटक टिकाउने युक्ति
लुम्बिनी आउने पर्यटकले रात नकटाएसम्म आर्थिक विकासमा टेवा पुग्दैन। तेस्रो मुलुक र भारतबाट आउने पर्यटकहरू बास बस्न भारतमै जाने प्रवृत्ति छ। यसलाई रोक्न लुम्बिनीका हरेक विहारका साथै तिलौराकोट र रामग्राम प्याकेज निर्माण गर्नुपर्ने सुझाव विज्ञहरूको छ।
लुम्बिनीलाई घुमिरहने थलो बनाउनुपर्छ, पूर्वसदस्यसचिव विमलबहादुर शाक्य भन्छन्–‘विकास कोषलाई राजनीतिबाट मुक्त पारी पर्यटन प्रवद्र्धनमा केन्द्रित गर्नुपर्छ।’ जसका लागि अपनत्व, वफादारिता र सदाचारिता विकास कोषका पदाधिकारीमा हुनुपर्ने उनी बताउँछन्।
वातावरणीय प्रदूषण, मायादेवी मन्दिर परिसरमै अमानवीय क्रियाकलाप, बिहारभित्रका गुप्त गतिविधि र बाह्य समुदायले अपनत्व नलिनु लुम्बिनीका मुख्य चुनौती हुन्।