नारायणी अस्पतालमा आईसीयू वार्ड सञ्चालनमा आउने
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालमा लामो समयदेखि बन्द अवस्थामा रहेको आईसीयू वार्ड आइतबारदेखि सञ्चालनमा आउने भएको छ।
कोभिड महामारीकै बेला अस्पतालमा निर्माण गरिएको २३ शय्याको सुविधासम्पन्न आईसीयू वार्ड जनशक्ति अभावका कारण सञ्चालनमा आउन नसकि बन्द अवस्थामा छ।
अब वीरगन्ज महानगरपालिकाले आवश्यक जनशक्ति व्यवस्थापनमा सहयोग गर्ने भएपछि उक्त आईसीयू वार्ड आइतबारदेखि सन्चालनमा आउने आउने भएको हो।
बुधबार महानगरपालिकाका मेयर राजेशमान सिंहले अस्पतालको निरीक्षणका क्रममा आवश्यक जनशक्ति सहयोग गर्ने बताएकोले बन्द रहेको आईसीयू वार्ड पूर्ण क्षमतामा सञ्चालनमा आउने अस्पतालका सूचना अधिकारी डाक्टर उदयनारायण सिंहले जानकारी दिए।
डाक्टर सिंहका अनुसार आईसीयू वार्ड पूर्ण क्षमतामा सञ्चालनका लागि २० जना स्टाफ नर्स र कार्यालय सहयोगी गरी २८ जना जनशक्ति आवश्यक पर्छ।
उक्त जननशक्ति महानगरपालिकाले व्यवस्थापन गर्ने मेयर सिंहले बताएको डाक्टर सिंहले जानकारी दिए। २३ शय्याको आईसीयू वार्ड पूर्ण क्षमतामा सञ्चालनमा आएपछि बिरामीको उपचारमा अझ सहज हुने पनि उनले बताए।
बुधबारको निरीक्षणका क्रममा मेयर सिंहले अस्पतालको प्रसूति गृहमा बिरामीलाई सहज सेवा प्रदानका लागि आवश्यक थप संरचना निर्माण गर्न पनि महानगरले आउँदो आर्थिक वर्षमा बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाएको डाक्टर सिंहले जानकारी दिए।