७८ वर्षीया महिलालाई करणी गरी हत्या गर्ने व्यक्ति कारागार चलान
जोमसोम : मुस्ताङमा ७८ वर्षीया महिलालाई करणी गरी हत्या गरेको आरोपमा एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
वृद्धालाई करणी गरी हत्या गरेको आरोपमा म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका-५ मल्कावाङका ४४ वर्षीय हिराबहादुर कामी कारागार चलान भएका हुन्।
मुस्ताङ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। यसअघि ती महिला आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्।
घटनाबारे प्रहरी अनुसन्धान टोलीले अनुसन्धान गर्दै जाँदा करणी गरी हत्या गरेको आरोपी कामीलाई प्रहरी परिचालन गरी म्याग्दीको बेनी बजारमाट पक्राउ गरिएको थियो।
अभियुक्त आरोपी कामीले मादक पदार्थ सेवन गरी जबर्जस्ती करणी गरी घाँटी च्यापेर हत्या गरेको र हत्यापछि वृद्धले लगाएको घाँटीको गहना रिङ (दुई थान) समेत चुडालेर लगेको तथ्य सप्रमाण खुल्न आएकाले अदालतबाट सम्पूर्ण अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मंगलबार पुर्पक्षका लागि मुस्ताङ कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी धर्म बहादुर अधिकारीले जानकारी दिए।