मेट्रो रेलको पहल
आधुनिक सहरको मुख्य कडी हो–मेट्रो रेल। सम्पन्न र विकसित मुलुकका अधिकांश सहरमा मेट्रो रेल गुड्छन्। सार्वजनिक यातायातबाटै सर्वसाधारणले यात्रा गर्ने गर्छन्।
छोटो समयमा धेरै यात्रुलाई गन्तव्य पुर्याउनका लागि मेट्रो रेल अति आवश्यक मानिन्छ। त्यसैकारण काठमाडौं उपत्यकाको चर्को ट्राफिक जाम घटाउन र सवारीको सही व्यवस्थापनका लागि मेट्रो रेल अति आवश्यक भएको विज्ञहरू बताउँछन्।
रेलको विकासका लागि विभाग पनि स्थापना भएको छ। यसले उपत्यकाको मेट्रो रेलको सम्भाव्यता अध्ययन पनि गरेको छ। सम्भाव्यता प्रतिवेदनमा उपत्यकामा मेट्रो रेल र मोनो रेल सञ्चालन गर्न सकिने लेखिएको थियो।
केही महिनाअघि मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरका मेयरहरूबीच छलफल पनि चलेको थियो। सरकारी सहयोग भए दुवै महानगरपालिका मेट्रो रेल परियोजना अगाडि बढाउने तयारीमा छन्।
ललितपुर महानगरपालिका प्रवक्ता राजु मर्हजन उपत्यकामा मेट्रो रेल रहरभन्दा पनि अति आवश्यकता भएको बताउँछन्। सबै नगरपालिका मिलेर मात्रै मेट्रो रेल सञ्चालन संभावना छ। काठमाडौंको जामले गर्दा ललितपुरमा समेत असर पर्छ। जतापनि काठमाडौंकै जामले असर परिरहेकाले जाम र सवारी चाप हटाउन रेलको विकल्प छैन।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर भन्छन्, ‘मेट्रो रेल कुनै नगरले चाहने र नचाहनेभन्दा पनि अहिलेको ट्राफिक व्यवस्थापन गर्न अति आवश्यक छ। बस्ती नै बस्तीले भरिएको उपत्यकामा सडक र सवारीको व्यवस्थापनका लागी मेट्रो रेल जरुरत हो। यसका लागि महानगरपालिका, केन्द्रीय सरकार, निजी क्षेत्र र विदेशी सहायता सबैको आवश्यकता छ। सरोकारवाला सबैको समन्वयले उपत्यकावासीको मेट्रो रेल सपना पूरा हुन सक्छ।
रेल वे विभागका महानिर्देशक रोहितकुमार विसुराल उपत्यकामा कोटेश्वर–कलंकी, कलंकी–महाराजगन्ज, महाराजगन्ज–कोटेश्वर, बूढानीलकण्ठ—सूर्यविनायक र चाबहिल–कलंकी गरी ५ खण्डमा रेल सेवा सञ्चालन गर्न सकिने अध्ययन प्रतिवेदन सार्वजनिक भएको जानकारी दिए। मेट्रो रेल सञ्चालनका लागि सरकारको कुनै पनि ठोस निर्णय र प्रतिबद्धता आवश्यक छ।
उपत्यकामा हरेक दिन जनघनत्व र सवारी चाप अत्यधिक बढ्दै गएकाले यो मासलाई समेट्ने सवारी साधन भनेकै मेट्रो रेल भएकाले रेल रहर र संभावना मात्रै नभएर सहरको आवश्यक्ता भएको उनले बताए।
पूर्वाधारविज्ञ सूर्यराज आर्चायले उपत्यकाको सवारी चाप कम गर्न र व्यवस्थित सहरको परिकल्पना गर्न मेट्रो रेल आवश्यकता र बाध्यता दुवै भएको जानकारी दिए। यसका लागि केन्द्रीय सरकारले नै प्रभावकारी कलम चाल्नुपर्ने हुन्छ।
काठमाडौं उपत्यकामा बढ्दै गएको सहरीकरण र जनघनत्वको अवस्थालाई हेर्दा मेटो रेल धान्छ कि धान्दैनभन्दा पनि यो अनिवार्य भएको आर्चायको तर्क छ। भन्छन्, कत्रो साइजको रेल चाहिने भन्ने बहसको विषय होला तर प्राथमिक मेरुदण्डीय बूढानीलकण्ठदेखि भैंसेपाटी र अर्को सूर्यविनायकदेखि कंलकी हुँदै थानकोटसम्मको रेल वे निर्माण आवश्यकता हो। अबको २० वर्षभित्रमा ३ वटा रेल वे निर्माण भएनन् उपत्काका सहरी वातावरण निकै भयावह हुने उनको आंशका गरे। उनी भन्छन्, ‘हाम्रो अर्थतन्त्रले धान्न सक्दैन भनेर सरोकारवाला पन्छिरहेको देख्छौं हामी तर यो अपुरो बुझाई हो। मेट्रो रेल लगानी उठ्नका लागि गरिने बिजनेस हैन। रेलमा लगानी गरेर लगानी उठेको केही देशमा अपवाद होला तर सबै ठाउँमा संभव छैन। रेल सञ्चालन गरेर टिकट बेचेर नाफा कमाउने कन्फम छैन। टिकट बेचेर रेल सञ्चालन गर्न पुग्यो भने यसलाई सफल परियोजना भन्न सकिन्छ।’
आचार्यका अनुसार सहरहरूको पूर्वाधार पुनर्निर्माणका लागी, शहर सुन्दर बनाउनका लागि जनताको अधिकार संरक्षण गर्नका लागि राज्यले गर्ने लगानी हो। जसरी सरकारले सडक बनाउँछ, विद्यालय, विश्वविद्यालय बनाउँछ, स्वास्थ्य क्षेत्र र अस्पताल बनाउँछ त्यसरी नै रेलमा लगानी गर्न आवश्यक छ। पैसा धेरै भएर रेल बनाउने भन्ने मान्यता नै गलत हो। आवश्यकता भएर बनाउने हो।
उपत्यका योजनाबद्ध सहर हैन। थोरै क्षेत्रफलको सडकमा लगानी छ। सडक पूर्वाधार सीमित भएको ठाउँमा थोरै ठाउँ ओगटेर धेरै मानिस बोक्ने सार्वजनिक सवारी निर्माण गर्न अति आवश्यकता भएका कारण मेट्रो रेलको अवधारणा अघि सारिएको हो।
काठमाडौं बढी जनघनत्व भएको सहरका रूपमा पर्छ। एउटै रेल वे भएको लाइनले धेरै जनसंख्या समेट्न सक्छ। सार्वजनिक यातायात चढ्न मानिसहरू लालायित छन्। व्यक्तिगत सवारी चलाएर यात्रा गर्न सकिने अवस्था छैन। जति धेरै व्यक्तिगत सवारी साधन भयो सहरको ट्राफिक उति नै बढी हुन्छ। यसैले पनि सार्वजनिक सवारीका लागि मेट्रो रेल आवश्यक छ।
अन्य क्षेत्रको लगानी घटाएर भए पनि रेल वे निर्माणमा लगानी सरकारले बढाउनुपर्ने पूर्वाधारविज्ञ आर्चायको सुझाव छ। वार्षिक साढे ५ लाखभन्दा बढी सवारी साधन देशमा भित्रिरहेको जानकारी दिँदै उनले देशले मेट्रोजस्ता सार्वजनिक यातायात प्रणाली सञ्चालनमा ल्याएर सवारी, पार्टपुर्जा र इन्धनमा विदेसिने गरेको रकम जोगाउन सक्ने दाबी गरे।
यात्राको गुणस्तर र सुरक्षा, छोटो समयमा गन्तव्य पुग्न सकिने, एकै पटक धेरै यात्रु बोक्न सकिने, प्रदूषण नियन्त्रण, मानव स्वाथ्य, ट्राफिक व्यवस्थापन र आयात निरुत्साहन जस्ता फाइदा लिनको लागि मेट्रो प्रविधि अति आवश्यक हो। ट्राफिक व्यवस्थापन सहज भएमा पर्यटन उद्योगमा समेत सकारात्मक प्रभाव पार्न सकिने विज्ञहरू बताउँछन्।
रेल विभागका प्रवक्ता अमन चित्रकारले रेल सम्भाव्यता अध्ययनले एलिभेटेड रेल बनाउनका लागि सडकको बीचबाट २ मिटर अग्लापिलर उठाउनुपर्छ भने जमिनमुनि रेल बनाउन कम्तिमा सतहबाट २० मिटर तलबाट मात्र पूर्वाधार बनाउन सकिने प्रतिवेदन बुझाएको जानकारी दिए।
उपत्यकाको मेट्रो रेल पूर्वाधार तयार गर्न ५ खर्ब ५३ अर्व २० करोड लागत लाग्ने अनुमान रेल विभागको छ। चित्रकार भन्छन्, रेल विभागले ठोस कार्य केही सुरु गरेको छैन। तर, उपत्यकामा जमिनको सतहमा भने मेट्रो रेल कुदाउन नसकिने प्रतिवेदन छ।