नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै

नक्कली शरणार्थी प्रकरणमा लहरो तानिँदै
सुन्नुहोस्

काठमाडौं : नक्कली भुटानी शरणार्थी बनाएर ‘मोटो रकम असुल गर्ने’ धन्दामा संलग्न उच्च राजनीतिक व्यक्तित्त्वदेखि प्रशासकहरू धमाधम पक्राउ पर्न थालेका छन्। नक्कली शरणार्थी बनाउने गिरोह पक्राउ परेपछि उनीहरूले राजनीतिक व्यक्तित्त्व र प्रशासकको पोल खोल्दै गएका छन्। नक्कली शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै गिरोहले ८ सय ७५ जनासँग १० देखि ५० लाखसम्म रकम उठाएको प्रहरीको अनुमान छ। यसप्रकरणमा पूर्वऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीलाई पक्राउ पुर्जी जारी भएको छ। उनका छोरा सन्दीप यसै प्रकरणमा मुछिएकाले बुधबार नै बुटवलबाट पक्राउ परेका छन्। यस्तै उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे पनि बुधबार पक्राउ  परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पाण्डेलाई थुनामा राख्न बुधबार नै जिल्ला अदालत काठमाडौंले ३ दिनको म्याद जारी गरेको छ। कार्की भन्छन्, ‘नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कागजात बनाउने र रकम असुली गर्ने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि सहभागिता देखिएको छ।’ अपराधमा जोसुकै संलग्नता भए पनि उन्मुक्ति नपाउने कार्कीले बताए। 

शरणार्थी प्रकरणमा अर्बौं ठगी गरेको भन्दै उजुरी परेपछि एमाले नेता टोपबहादुर रायमाझीका सहयोगी सानु भण्डारी र कांग्रेस नेतृ सुजाता कोइरालाका पूर्वस्वकीय सचिव केशव दुलालसहित मोरङका सागर थुलुङ, पाँचथरका टंक गुरुङ र दाङका सन्देश शर्मा यसअघि नै पक्राउ परेका छन्। उनीहरूविरुद्ध सांगठित अपराधमा मुद्दा दर्ता भई जिल्ला अदालत काठमाडांैमा मुद्दा चलिरहेको छ। 

मंगलबार बिहान पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ डा. इन्द्रजित राई पनि पक्राउ परेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा इन्द्रजित राईका छोरा निरज राईको पनि संग्लनता भेटिएपछि उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ। निरजलाई भने अहिलेसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन। बुधबार एमाले नेता टोपबहादुर रायमाझीका बाबु–छोराविरुद्ध पनि पक्राउ पुर्जी जारी हुनु र पूर्वगृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेसँगै प्रहरीको अनुसन्धान हाइप्रोफाइल तिर सोझिएको हो। 

भुटानी शरणार्थी भन्दै नक्कली कागजात बनाएर नेपाली नागरिकलाई अमेरिका पठाउने धन्दामा हाइप्रोफाइल व्यक्तिको पनि संलग्नता भएको आरोप लागेपछि प्रहरीले अनुसन्धान तीव्र पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालका अनुसार शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको भन्दै २ जनाको उजुरी परिसरमा दर्ता भएको छ। उजुरीमा सयौं व्यक्ति पीडित भएको जानकारी छ। उजुरीका आधारमा हालसम्म ७ जना पक्राउ परेका छन्। 

अनुसन्धानमा सक्रिय प्रहरी अधिकृतका अनुसार नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै करोडौं रुपैयाँ ठगी गर्नमा मुख्य भूमिका पूर्वगृहमन्त्रीका सुरक्षविद् राईकै भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रामबहादुर थापा गृहमन्त्री हुँदा राई उनका सुरक्षा सल्लाहकार थिए। एमाले उपाध्यक्ष बादल गृहमन्त्री रहँदा उनी २०७४ फागुनदेखि २०७८ असारसम्म सुरक्षा सल्लाहकारका रूपमा कार्यरत थिए।

प्रहरीका अनुसार राईले गृह मन्त्रालयमा हुँदा नीतिगत निर्णय गराउनेदेखि लिएर, नक्कली कागजात निर्माण गर्न भूमिका खेल्दथे। पीडित व्यक्तिलाई पूर्वगृहमन्त्रीको पावर देखाउँदै मन्त्रीलाई पैसा बुझाएपछि सजिलै अमेरिकी भिसा लाग्छ भन्दै प्रलोभन दिने गर्थे। बुधबार काठमाडौं प्रहरीले जिल्ला अदालत काठमाडौंबाट रायमाझीका बाबुछोराविरुद्ध पक्राउ पुर्जी लिएको हो। नक्कली शरणार्थी बनाएर नेपालीलाई अमेरिका लैजाने प्रकरणको अनुसन्धानका क्रममा काठमाडौं प्रहरी परिसरले उनीहरूविरुद्ध पक्राउ पुर्जी लिएको हो। 

मंगलबार पक्राउ परेका इन्द्रजित राई र बुधबार पक्राउ परेका तत्कालीन गृहसचिव टेकनारायण पाण्डेको प्रारम्भिक बयानका आधारमा शरणार्थी प्रकरणमा रायमाझी बाबुछोराको संलग्नता देखिएको हो। अन्नपूर्णलाई प्राप्त स्रोतका आधारमा प्रहरीले सन्दीप रायमाझीको नाममा काटिएको डेढ करोडको चेक पनि बरामद गरेको छ। 

अनुसन्धानमा सक्रिय प्रहरीका अनुसार यसअघि पक्राउ परेका सानु भण्डारीको बयानमा इन्द्रजित राईलाई १ करोड ५० लाख दिएको उल्लेख छ। ललितपुरका स्थानीय भण्डारीले आफ्नो डायरीमा ३ पटक डा. राईलाई नगद दिएको विवरण उल्लेख गरेका छन्। डायरीमा उल्लेख गरिएको विवरणअनुसार डा. राईले ५० लाख, ३५ लाख र ६५ लाख गरेर ३ किस्तामा १ करोड ५० लाख लिएको बताएका छन्। 

यस्तै पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आरोपीहरूले १ करोड ५० लाख बुझाएको चेकसमेत प्रहरीले बरामद गरेको छ। यस्तै आरोपीहरूले पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ५० लाख दिएको बयानमा उल्लेख गरेका छन्। आरोपीको बयानलाई पुष्टि हुने किसिमले मंगलबार पक्राउ परेका राईले पनि बयान दिएसँगै बुधबार पाण्डे पक्राउ परेका हुन्। 

प्रहरी अधिकृत भन्छन्, ‘पीडितहरूले राईलाई पैसा बुझाएको प्रमाण प्रहरीले प्राप्त गरेको छ। उनले गृहमन्त्री, गृहसचिवलगायतका सरकारका उच्चस्तरीय व्यक्तिलाई पैसा बुझाउनुपर्छ भन्दै पीडितसँग रकम उठाउने गर्थे। तर, गृहमन्त्रीलाई पैसा दिएको प्रमाण भने प्रहरीले अहिलेसम्म फेला पारेको छैन। यस्तै बुधबार पक्राउ पुर्जी जारी गरिएको एमाले नेता टोपबहादुर रायमाझीले पक्राउ पुर्जीको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। अर्घाखाँचीको सन्धिखर्कमा आयोजित कार्यक्रममा उनले आफूलाई फसाउन र नियोजित तरिकाले बदनाम गर्न गिरोहले नाम मुछेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.