लक्जम्वर्गका मन्त्रीले गरे गोरखा भ्रमण
गोरखा : लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेका छन् । बुधबार दिउसो १ बजे हेलिकोप्टरबाट गोरखा आएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी लिएर फर्केका हुन् ।
लक्जम्वर्गले गोरखा भूकम्पपछि पाँचवर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो । गोरखा अस्पतालको अवलोकनपछि मन्त्री फ्राञ्जले गोरखा नगरपालिका वडा नं ७ हिलेपोखरीका एकजना किसान दाउरी सार्कीसँग भेटवार्ता गरेका थिए ।
लक्जम्वर्ग सरकारको परियोजनाअन्तरगत बंगुर पालन गरेकी उनीसँग मन्त्री फ्रान्जले भेटवार्ता गरेका हुन् । अपांग रहेका उनका छोरा अभिषेक कोइरालाको पठनपाठनमा मद्दत पुगोस् भन्ने उद्देश्यले परियोजनाले २ वटा सुँगुर पालनमा सहयोग गरेको थियो । हाल उनको २८ वटा सुँगुर देखेर मन्त्री फ्राञ्जले खुशी व्यक्त गरेका थिए ।
साथै उनले गोरखा नगरपालिका वडा नं ८ का अर्का पूर्ण अपांग लाभग्राहीका परिवारसँग भेटवार्ता गरेका थिए । जीविकोपार्जन सहयोग कार्यक्रमअन्तरगत बाख्रापालनमा सहयोग गरेको लाभग्राही सिमोन बस्नेतको परिवारसँग मन्त्रीले भेटवार्ता गरेका हुन् ।
करिब तीन घण्टा गोरखामा विताएका मन्त्री फ्राञ्जलाई गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर,गोरखा अस्पतालको व्यवस्थापन समिति र एकीकरण नेपाल गोरखाले स्वागत गरेको थियो । मन्त्री फ्रान्जले परियोजनाको दिगोपनाका बारेमा जिज्ञासा राखेका थिए ।
भ्रमण टोलीमा नेपालका लागि लक्जम्वर्गका राजदूत पेग्गी फ्रान्टजेन,विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज,विकास सहयोग तथा मानवीय सहायता नागरिक समाज र गैरसरकारी संयोजक सिल्भी दस सन्तोस, निजी अंगरक्षक, ह्याण्डीक्याप लक्जम्वर्गका निर्देशक म्हेदीमग्हर,नेपालका निर्देशक पाउलिन नादिम डुकोसलगायत उच्चअधिकारीहरुको संग्लनता रहेको थियो ।
लक्जेम्वर्ग ह्याण्डीक्याप इन्टरनेश्नल तथा एकीकरण नेपालसँगको सहकार्यमा गोरखामा समावेशी शिक्षा,समावेशी जीविकोपार्जन र फिजियोथेरापी तथा पुनस्र्थापना कार्यक्रम सञ्चालन गरेको थियो । सन् २०१७ बाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ ।
आफूले सञ्चालन गरेको सहयोग फलदायी बनेको,नबनेको बारे अध्ययन गर्न पोस्ट प्रोजेक्ट मनिटरिङ कार्यक्रमअन्तर्गत मन्त्रीको टोली अनुगमनमा आएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।