पूर्वीपहाडको सेतु तमोर करिडोर
तमोर नदीको किनारै किनारको करिडोर पूर्वीपहाडी जिल्लाको समृद्धिको सेतु बनेको छ। तेह्रथुम, ताप्लेजुंग, पाँचथर र धनकुटाका तमोर किनारका बस्तीहरूलाई तराई झर्न दूरी छोट्याएको मात्रै छैन, सहज पनि बनाइदिएको छ।
पहाडी क्षेत्रको बीच वा माथिल्लो भागबाट मात्रै सडक बन्दा तमोर किनारका बस्तीहरू दुर्गम बनेका थिए। तर, अहिले तमोर कोरिडोरको ट्रयाक खोलिएपछि सबैभन्दा सुगम बनेका छन् ती बस्तीहरू।
पूर्वीपहाडी जिल्लालाई तराईसँग जोड्ने छोटो सडकका रूपमा लिइएको चतरा–मुलघाट–गणेशचोक सडकमा अहिले कालोपत्र गर्ने काम अघि बढेको छ। धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोकसम्मको १ सय १२ किलोमिटर सडक कालोपत्र गर्न ठेक्का लागिसकेको तमोर कोरिडोर (चतरा–मुलघाट–सुभाङखोला) सडक योजनाका प्रमुख चित्रान्जन रानले बताए।
दुर्गमलाई सुगम बनायो
डेढ दशक अघिसम्म धनकुटा सदरमुकामदेखि ११ कोष पूर्वीभेगस्थित साविकका गाविसहरू कुरुलेतेनुपा, वसन्तटार, मुढेवास, मौनावुधुक, बोधे, खुवाफोकका बेंसीफाँट अर्थात् तमोर नदी किनारका बस्तीहरूलाई दुर्गम क्षेत्र मानिन्थ्यो।
ती क्षेत्रका स्थानीयवासीलाई धनकुटा सदरमुकाम वा तराईका बजार धरान, इटहरी, विराटनगरसम्म पुग्न बेंसीफाँट माथि पहाडमा बनेका सडकसम्म पुग्न मात्रै पनि घण्टौं पैदल हिँड्नु पर्थ्यो।
कुरुलेतेनुपाको बेंसीफाँट भैंसेटार, फलामेटारदेखि मूलघाट आएर बस चढ्न ५ घण्टा पैदल हिँड्नु पर्थ्यो। ०६४ सालभन्दा अघिको समयमा त्यो क्षेत्रको जीवनस्तर निकै कस्टकर थियो। सडक पूर्वाधार वनेको थिएन। पैदल गल्लीको बाटो पन्छाउँदै ५ घण्टासम्म हिँडेर बस चढ्नका लागि मूलघाट धाउनु पर्थ्यो।
तमोर नदीमा डुंगा चले पनि बर्खाको बेला बन्द हुन्थ्यो। कुनै बेला दुर्गम क्षेत्रमा पर्थ्यो तमोर नदीका बेंसीफाँट पाँचथर धनकुटाको सीमाक्षेत्रको डिहिटारदेखि यताको भैंसेटार, फलामेटार, हंशमोरङ, सदरमटार, कुसेटारसम्मको क्षेत्र।
तर, अहिले तमोर कोरिडोर सडक बनेसँगै ती क्षेत्र सुगममा परिणत हुन थालेका छन्। सुगम बन्ने माध्यम बाटो नै रहेको हंशमोरङकी ८२ वर्षीय रणकुमारी भण्डारीले बताइन्। त्यस्तै सोही गाउँका ८५ वर्षीय लोकेन्द्र भण्डारीलाई थुम्छेमा अन्नपात बोकेर हिँडेको सपना जस्तै लाग्न थालेको छ हिजोआज।
उनी भन्छन्, अहिले गाडी चढेर हिँड्न पाइएको छ। खुसी लाग्छ। कुनै बेला डिहिटारदेखि भैंसेटार, फलामेटार हुँदै मूलघाटसम्मको ६/७ घण्टाको पैदल दुरी अहिले सडकको सहज पहुँचले १ घण्टामा छोट्टिएको छ।
सवारी साधन नियमित रूपमा सञ्चालन हुनथालेपछि तेह्रथुम, ताप्लेजुङ, पाँचथर र धनकुटाका त्यस क्षेत्रका स्थानीय बासिन्दालाई धनकुटा सदरमुकाम र तराईका धरान, इटहरी, विराटनगरसम्म पुग्न सहज भएको छ। त्यस्तै दैनिक उपभोग्य सामान गाउँसम्म पुर्याउन तथा गाउँमा उत्पादन भएको कृषिजन्य उत्पादन बजार पुर्याउन पनि निकै सहज बनेको छ।
२७ वर्षका राजन माझी बिदेसिएका मध्येका एक युवा हुन्। भविष्य खोज्दै बिदेसिएका उनी झन्डै ८ वर्ष साउदी र कतार बसे पनि अन्ततः गाउँमै फर्किए। तमोर करिडोरको वाटोले भैसेटार सहित अन्य बेंसीफाँटको जनजीवनलाई परिवर्तन बनाएको उनले बताए।
उनका अनुसार पहाडबाट तराई झर्ने तथा तराईबाट पहाड चढ्ने दैनिक ३०/३५ वटा गाडी आवतजावत गर्छन्। बजारसम्म पुग्नलाई गाह्रो छैन। यहाँ फलेका कृषिजन्य उत्पादनले बजार पाएका छन्। बिदेसिएका युवालाई फर्काएर गाउँमै व्यावसायिक कृषिजन्य उत्पादनतर्फ प्रोत्साहित गर्ने उनको योजना छ।
पहिलो संविधानसभा निर्वाचनको बेला नेकपा माओवादीबाट धनकुटा–१ बाट निर्वाचित बनेका थिए, हेमराज भण्डारी। उनको पुख्यौली गाउँ कुरुले तेनुपा। उनै भण्डारीको २०६५ सालमा संसद् विकास कोषबाट ५ लाख रुपैयाँ विनियोजन गरी तमोर कोरिडोरअन्तर्गत धनकुटा खण्डको वाटोको ट्याक खोल्ने कार्य सुरु गरिएको थियो।
धनकुटा र पाँचथरका जनप्रतिनिधिको सहकार्यमा निर्माण भएको कोरिडोर तमोर किनारमा अवस्थित बस्तीलाई आर्थिक समृद्धिको ढोका खोलिएको संविधानसभा सदस्य भण्डारीले बताए। संसद् विकास कोषबाट विनियोजित रकमबाट निर्माण कार्य भएको यो सडकले अहिले राष्ट्रिय गौरवको आयोजना बन्दा खुसी लागेको उनी बताउँछन्।
धनकुटाको मूलघाटबाट पाँचथरको माझीटार, ताप्लेजुङको दोभान, सुकेटार हुँदै ओलाङचुङगोलासम्म पुर्याएर चीनको तीब्बतसँग जोड्ने लक्ष्यका साथ तमोर करिडोर आयोजना २०६७ सालबाट उक्त सडक निर्माण कार्य सुरु गरिएको हो। धनकुटाको मुलघाटदेखि तमोर नदीको किनारै किनार करिब १ सय ८० किमिको दुरीमा चीनको सीमावर्ती नाका ओलाङचुङ्गोला पर्छ।
तराइ झर्न छोटो दूरी
धरान, इटहरी, विराटनगरदेखि काठमाडौं पुग्न जति समय लाग्छ त्यति नै समय लाग्छ बिर्तामोडदेखि इलाम हुँदै पाँचथर र ताप्लेजुंग पुग्न। बिहान ५ बजे हिँड्दा बेलुका ५ बजे मात्रै ताप्लेजुंग पुगिने पाँचथरका सवारी चालक रामकुमार तामाङले बताए।
उनी तमोर कोरिडोर हुँदै इटहरी, धरानदेखि पाँचथर, ताप्लेजुंगसँग टाटासुमो कुदाउने गर्छन्। तमोर कोरिडोरको बाटोले झन्डै पाँच घण्टा दूरी छोट्याइदिएको उनले बताए। उनका अनुसार ताप्लेजुंग पुग्न बिर्तामोडदेखि बिहान ५ बजे हिँड्दा बेलुका पुगिन्छ। तर, कोरिडोरबाट दिउँसो २ बजे पुगिन्छ।
सदरमुकाम पुगेका यात्रुहरूलाई आफ्नो गाउँसम्म पुग्न पर्याप्त समय पुग्छ। त्यस्तै अर्का सवारी चालक धर्म खड्का अनुसार कोरिडोरको बाटो कालोपत्र भइसकेपछि दूरी झन् छोटो हुने बताउँछन्। अहिले ग्राभेल मात्र छ।
तर, पनि गाडी कुदाउन धेरै सहज छ। नावाखोला र झ्याम्टेबर क्षेत्रमा केही असहज भए पनि समग्रमा कोरिडोरको बाटो सहज नै भएको उनी बताउँछन्। यस सडकमा दैनिक १५/२० वटा टाटा सुमो गुड्ने गर्छ। बस पनि दर्जनभन्दा बढी गुड्छ। पछिल्लो समय ताप्लेजुंगदेखि काठमाडौंसम्म रात्री बससमेत गुड्न थालेका छन्।
होटल खुले
धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशटारसम्म दर्जनभन्दा बढी होटल खुलेका छन्। कोरिडोरको वाटो हुँदै गुड्ने सवारी साधनका यात्रुहरूलाई ती होटलहरूले खाना खुवाउने गर्छन्। होटलहरू सञ्चालन हुँदा चहलपहल पनि बढेको छ।
यस क्षेत्रका विभिन्न ठाउँमा व्यावसायिक रूपमा कृषिजन्य वस्तुको खेती तथा पशुपालन हुन थालेका छन्। कुसेटारका प्रायः घरैपिच्छे उन्नतजातका वाख्रा पालन गर्न थालिएको छ। त्यस्तै ड्रागनको व्यावसायिक खेति हुन थालेको छ। कुसेटार देखिको पल्लो गाउँ सदमटारमा तरकारी खेती हुन थालेका छन्।
गत कात्तिकमा तमोर नदीमा आएको बाढीले उब्जाउ फाँटलाई बगर बनाइदिए पनि त्यहाँ खरभुजा खेती गर्न थालिएको छ। धनकुटाको छथरजोरपाटी गाउँपालिका तेलियाका हरि ओझाले फलामेटारमा होटल संचालन गरेका छन्। प्रायः त्यहाँ खाना खाने यात्रुहरूको भीडभाड लाग्ने गर्छ।
फलामेटारकी हिमकला दाहालले पनि छरुवा खोला छेवैमा होटल सञ्चालन गरिरहेकी छिन्। पैदल हिँड्नेहरूलाई सहज होस् भन्ने सोचले होटल सञ्चालन गरेकी थिए। अहिले यात्रुलाई सेवा दिन पाउँदा खुसी लागेको बताइन्। दैनिक सयभन्दा बढी यात्रुलाई खाना खुवाउने गरेको उनको भनाइ छ।
अहिले तमोर कोरिडोरको सडकमा दमक, बिर्तामोड, धरानदेखि पाँचथर, ताप्लेजुङ सम्म पुग्ने सवारी साधन चल्ने गर्छन्। मेची पहाडका ताप्लेजुङ पाँचथरसहित तेह्रथुम, धनकुटाका तमोर किनारका बस्तीलाई तराई पुग्न छोटो तथा सहज बनाएका छन्।
पछिल्लो समय धनकुटासहित विराटनगर, इटहरी, धरान, भोजपुर, संखुवासभाका स्थानीय बासिन्दालाई ताप्लेजुंगको पाथिभरा मन्दिर जानसमेत दुरी छोट्याइदिएको छ।
साँगुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र राईले तमोर कोरिडोरको सडकले ग्रामीण क्षेत्रका स्थानीयको जीवन शैलीमा परिवर्तन ल्याएको बताए। अब मूलघाटदेखि महाभारत आहाले देखि चतरासम्म पनि सडक कालोपत्र गर्ने प्रक्रिया अगाडि बढाउनुपर्ने उनले बताए।