जनप्रतिनिधिको असहयोगले पूर्ण खोपयुक्त जिल्ला घोषणा हुन सकेन
वीरगन्ज : स्थानीय तहका जनप्रतिनिधिले सहयोग नगर्दा पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
बिहीबार आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले केही पालिकाका जनप्रतिनिधिले चासो नलिएको र सहयोग नगर्दा पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्न नसकिएको बताए।
उनका अनुसार पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ २०७४ सालदेखि नै अभियान सुरु गरिएको थियो।
तर अहिलेसम्म जिल्लाका १४ पालिकामध्ये ९ वटामात्र पालिका पूर्ण खोपयुक्त पालिका घोषणा भएका छन्। कालिकामाई गाउँपालिका, पटेर्वा सुगौली , पकाहामैनपुर, विन्दवासिनी र धोबिनी गाउँपालिका अहिलेसम्म पनि पूर्ण खोपयुक्त घोषणा हुन नसकेको उनले जानकारी दिए।
जन्मेदेखि ५ वर्षमुनिका सबै बालबालिकालाई विभिन्न सात प्रकारका खोप लगाएपछि मात्रै सम्बन्धित जिल्लालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने सरकारी प्रावधान छ।
जिल्ला खोप समन्वय समिति र स्वास्थ्य कार्यालयले पालिकाका वडाध्यक्षदेखि पालिका प्रमुखलाई पटक पटक आग्रह र ताकेता गर्दै आएको भएपनि उनीहरू यसप्रति गम्भीर नदेखिएको उनले गुनासो गरे।
ठाकुरले भने, ‘खोप समितिको बैठकमा बोलाउँदा समेत कतिपय पालिका प्रमुखहरू आउनु हुन्न, व्यस्त छु, बाहिर छु भनेर टार्नु हुन्छ।'
ठाकुरका अनुसार मैनपुर गाउँपालिकामा नियमित खोप लगाउन आवश्यक ८३ बालबालिका नै बाँकी छन्।
स्वास्थ्य कार्यालयले १४ वटै पालिकामा १३२ खोप केन्द्र सञ्चालन गरेको छ। ठाकुरले भने, ‘हरेक वडामा महिला स्वास्थ्य स्वयंसेविका घरघमा पुगेर खोप बारे जानकारी गराउनुहुन्छ, खोप निःशुल्क पनि छ, तैपनि अभिभावकले बालबालिकालाई खोप केन्द्रमा ल्याएर खोप लगाउँदैनन्, यसमा जनप्रतिनिधिले चासो पनि देखाउँदैनन्।'
चालू आर्थिक वर्ष २०७९/०८० भित्रै पर्सालाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गराउने लक्ष्यका साथ काम भइरहेको उनले जानकारी दिए।
छुटेका वा खोप नै लगाएका बालबालिकालाई खोप केन्द्रसम्म ल्याएर खोप लगाइरहेको उनले बताए।
जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अजय सर्राफले पूर्ण खोपयुक्त जिल्ला घोषणाका लागि सञ्चालित अभियानलाई सफल बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए।
बिहीबारको बैठकमा जिल्ला खोप समन्वय समितिले पूर्ण खोपयुक्त जिल्ला घोषणा गर्ने अभियानलाई सफल पार्न विभिन्न क्षेत्र र धर्म समुदायका गरी चार जनालाई खोप दूत घोषणा गरेको छ।
समितिले सिख धर्मका अगुवा सरदार जसपाल सिंह, हिन्दु स्वंय सेवक संघका सदस्य माधव राजपाल, मुस्लिम धर्मका अगुवा हाजी ग्यासुदिन मियाँ र दलित महिला अगुवा नीला रामलाई खोप दूत घोषणा गरेको हो।