१०६ जनाको २० वटा उजुरी

नक्कली शरणार्थी प्रकरण

१०६ जनाको २० वटा उजुरी
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं रकम असुली गरेको आरोपमा १०६ जनाको २० वटा उजुरी सामूहिक रूपमा जिल्ला प्रहरी परिसर काठमाडौंमा दर्ता भएको छ।  

परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार पीडितहरूले दिएको उजुरीमा हालसम्म २३ करोड २५ लाख ठगी गरेको प्रमाण पेस भएको छ। यस प्रकरणमा प्रहरीले ४० दिनदेखि अनुसन्धान गरिरहेको छ। अनुसन्धानकै क्रममा बहालवाला सचिव टेकनारायण पाण्डेदेखि एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीसहित ८ जना पक्राउ परेका छन्। 

पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षाविज्ञ डा.इन्द्रजित राई पनि पक्राउ परेका छन्। प्रहरीले यस प्रकरणमा अझै एक दर्जन व्यक्ति नियन्त्रणमा लिएर सोधपुछ गर्न आवश्यक भएको बताएको छ। बुधबार राति बुटवलबाट पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले स्वीकृत गरेको छ। 

नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायत भन्छन्, ‘राज्यका उच्च पदमा रहेका व्यक्तिले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउन भन्दै कागजात बनाउने काममा सहयोगी भूमिका देखिनु गलत कार्य हो। अपराध जुन पदमा बस्नेले गरे पनि कानुनले छाड्दैन। कानुनको नजरमा व्यक्ति र पदभन्दा पनि उसले गरेको काम हो।’ 

जिल्ला प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालका अनुसार पीडितहरूको बयानलाई हेर्दा ठगी हुने व्यक्तिको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। गिरोहले २०७७ सालदेखि नक्कली शरणार्थी बनाइ ठगी अभियान चलाएको खुलेको छ। घटनामा मुख्य आरोपी मानिएका केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङ यसअघि नै पक्राउ परेका छन्। 

प्रहरीका अनुसार पैसा उठाउने गिरोहले गृह मन्त्रालयको सरकारी लोगोको समेत प्रयोग गरेका छन्। शरणार्थी परिचयपत्र तथा ट्राभल डकुमेन्टको नक्कली कागजातसमेत बनाएको प्रमाण प्रहरीले फेला पारेको छ। उनीहरूले आफ्ना साथीसर्कल, आफन्त र उनीहरूका चिनजान समेतलाई भुटानी शरणार्थीका रूपमा नाम दर्ताका लागि फारम भर्न लगाउने गर्थे। गिरोहले गृह मन्त्रालय र शरणार्थी समितिका उच्च अधिकारीसँग सेटिङ छ भन्दै पीडितलाई विश्वासमा पार्ने र प्रलोभन दिने गर्थे। यसका लागि गृह र श्रम मन्त्रालयकोे आधिकारिक कागजातसमेत देखाउने गर्थे। काम नभएको खण्डमा पैसा फिर्ता दिने भन्दै विभिन्न समयमा ८ करोड बराबरको चेकसमेत लिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.