गोरखामा रोट महोत्सव सुरु
गोरखा : गोरखामा हरेक वैशाख पूर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव सुरु भएको छ। गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव शुक्रबारदेखि सुरु भएको हो।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यस वर्षको रोट महोत्सव २० औँ शृङ्खला हो। रोट महोत्सवको पहिलो दिन शुक्रबार बिहान ९ बजे गोरखा बजारदेखि गोरखनाथ गुफासम्म रथयात्रा गरिएको थियो।
१०८ कन्याको कलशयात्रा सहितको सो यात्रामा गोरखनाथको रथ बोकेर मन्दिरसम्म पुर्याइएको थियो। रथ यात्रामा एक सय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो।
महोत्सव जेठ १ गतेसम्म चल्ने छ। सो अवधिभर गुरु गोरखनाथको विशेष पूजासहित एक लाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ। देवी देवताको पूजा, विशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए।
महोत्सव सञ्चालनका लागि करिब २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ। करिब ३० हजार भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ। गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ।
गोरखनाथलाई सबैभन्दा बढी मनपर्ने प्रसादका रूपमा रोटलाई लिइन्छ। रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट नआउने धार्मिक मान्यता छ। गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ।