शून्य नतिजा आएका विद्यालयलाई धनगढीका मेयरले पारिश्रमिकबाट १० लाख दिने
धनगढी : धनगढी उपमहानरपालिकाका मेयर गोपाल हमालले १७ विद्यालयलाई आफ्नो तलब सुविधाको १० लाख रकम दिने भएका छन्।
आधारभूत तहको परीक्षामा शून्य नतिजा आएका ती सामुदायिक विद्यालयलाई उनले रकम उपलब्ध गराउन लागेका हुन्।
शुक्रबार शून्य नतिजा आएका विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षहरूलाई नगरपालिकामै बोलाएर मेयर हमालले समस्या बारे छलफल गरेका थिए। उनले शून्य नतिजा आएका विद्यालयहरूको शैक्षिक गुणस्तर बढाउने योजना बनाउन पनि सुरु गरेका छन्।
‘अधिकांश विद्यालयका प्रधानाध्यापकको भनाइ विद्यालयमा आउने विद्यार्थीहरूले कपि र कमल नल्याएर आउने गरेका कारण नतिजा शून्य आएको गुनासो गरे। गरिबीका कारण उनीहरूसँग कापी र कलम किन्ने पैसा छैन। त्यसैले मैले मेरो तलबबाट आउने रकममा केही थपेर ती बालबालिकाका लागि १० लाख दिने घोषणा गरेको छु,’ मेयर हमालले भने।
उनले यसपछि शिक्षकहरूले गुनासो गर्न नपाउने भएकाले यस्तो गरेको बताए। ‘१० लाखले १७ विद्यालयमा कापी र कलम किन्न नसक्नेलाई कलम र कापी किनिदिनुस्, यसपछि नतिजा राम्रो आउनुपर्छ भने। धेरै प्रधानाध्यापकहरूले अबको आधारभूत तहको परीक्षामा ५० प्रतिशतभन्दा बढी नतिजा ल्याउने प्रतिवद्धता गरेका उनले बताए।
उनले आफ्नो वार्षिक सेवासुविधा ९ लाखको हाराहारीमा हुने बताए। ‘१० लाखमा अपुग रकम मैले व्यक्तिगत रुपमा दिने भनेको छु’, उनले भने।
हमालले मेयरको निर्वाचनको प्रचारप्रसारका बेला नै मेयरमा जितेपछि आफूले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका थिए। उनी अहिले आफ्नै निजी गाडी चढ्छन् भने गाडीको इन्धन, मर्मत पनि उपमहानगरपालिकाबाट लिँदैनन्। मेयर हमाल सरकारी कामका लागि संघीय राजधानी वा देश बाहिर गएपनि आफ्नो पैसामा जाने गरेका छन्।
धनगढी उपमहानगरपालिकाका शरस्वती आधारभूत विद्यालय शान्ति नगर, नवज्योती आधारभूत विद्यालय श्रीलंका, जनता राष्ट्रिय मावि राजपुर, भैरवबाबा आधारभूत विद्यालय मटीयारी, शिव मावि देवहरिया, सरस्वती मावि मावि बंगरा, भानु मावि पथरी, सज्जन मावि दमैलिया, दिपेन्द्र चारपाते मावि भादा, शिवशंकर आधारभूत विद्यालय फूलबारीको नजिता शून्य आएको थियो।
यस्तै सिद्धार्थ आधारभूत विद्यालय एच गाउँ, खप्तडी आधारभूत विद्यालय एफ गाउँ, इन्द्रोदय मावि ई गाउँ, फुलबारी आधारभूत विद्यालय फुलबारी, नवदुर्गा आधारभूत विद्यालय जनकबस्ती, दुर्गा मावि दुर्गाबस्ती र जनकल्याण मावि जुगेडाको नतिजा शून्य आएको थियो। धनगढीकै मोडर्न बोर्डिङ स्कुल बोराडाँडीको नतिजा पनि शून्य आएको थियो।
मेयर हमालले विद्यार्थीहरूलाई विद्यालयमा टिकाउने र राम्रो नतिजा ल्याउन सबै पक्षले लाग्नुपर्ने बताए। उनले आगामी शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउन र सामुदायिक विद्यालयहरूको सिकाइ उपलब्धि राम्रो बनाउन उपमहानगरले ठोस योजना र कार्यक्रम ल्याउने बताए।
कार्यक्रममा नगरउपप्रमुख कन्दकला कुमारी रानाले विद्यालयहरूको गुणस्तर वृद्धि गर्न अनुगमन र सहयोग सँगसँगै अगाडि बढाउने बताए। उनले विद्यालयको अनुगमन गर्न आफैं खटिने र धनगढीका सामुदायिक विद्यालयको अवस्था सुधार गर्न उपमहानगरले काम गर्ने बताइन्।