अन्तरिक्षमा घुम्नेछ नेपाल

अन्तरिक्षमा घुम्नेछ नेपाल
सुन्नुहोस्

अन्तरिक्षमा नेपालको आफ्नै भूउपग्रह हुने सपना चाँडै पूरा हुँदैछ। आफ्नो स्याटलाइट भए अन्तरिक्षमा नेपालको पनि पहुँच हुनेछ।

हालसम्म दूरसञ्चार सेवा प्रदायकले विदेशी स्याटलाइट प्रयोग गरिरहेका छन्। आफ्नै स्याटलाइट जडान गरेर रेडियो तथा टेलिभिजन चलाउने लक्ष्य सरकारको छ।

सोही लक्ष्य पूरा गर्न नेपालले भू-उपग्रह नीति, २०७७ ल्याएको थियो। जसमा सन् २०२२ भित्रै अन्तरिक्षमा नेपालको आफ्नै भू-उपग्रह प्रक्षेपण गरी सञ्चालनमा ल्याइने भनिएको थियो। त्यसका लागि परामर्शदाता छनोटको काम सकिएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए।

विदेशी स्याटलाइटको सेवा उपभोग गरेबापत अर्बौ रुपैयाँ विदेश गइरहेको छ। नेपालले आफ्नै भू-उपग्रह राखेमा अर्बौ रुपैयाँ जोगिनेछ। यस्तै नेपालको आफ्नै भू-उपग्रह भएको खण्डमा नेपालका दुर्गम भेगहरूमा पनि सञ्चार सेवाको सरल पहुँच पुर्‍याउन सकिने, राष्ट्रिय सुरक्षालगायतका विषयमा विशेष विकास हुने विज्ञहरू बताउँछन्। 

आईटीयूले नेपाललाई १२३.३ डिग्री पूर्वी देशान्तरको अर्विटल स्लटमा सी ब्यान्डमा ३०० मेगाहर्ज र केयू ब्यान्डमा ५०० मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डविथ उपलब्ध गराएको छ। आईटीयूले उपलब्ध गराएको उक्त ब्यान्डविथ सदुपयोग हुन नसकेकाले भौगोलिक रूपमा विकट रहेका क्षेत्रमा दूरसञ्चार तथा प्रसारण सेवा विस्तार गर्ने तथा विपद्को समयमा उपयुक्त सञ्चार प्रविधिको प्रयोग कार्य गर्ने कार्यमा कठिनाइ भइरहेको छ। 

नेपालले आफ्नै भू-उपग्रह राखेको खण्डमा यी समस्यासमेत हल हुने भू-उपग्रह नीतिमा उल्लेख छ। परामर्शदाताको रूपमा छनोट भएको कम्पनीले स्याटेलाइटको बिजनेस मोडालिटी तयार गरिरहेको छ। भूउपग्रहमा प्राधिकरणको आफ्नै विशेषज्ञता नभएकाले २० करोड रुपैयाँ खर्चेर कन्सल्टेन्ट नियुक्त गरेको हो।

छनोट भएको कम्पनीले आईटीयूले उपलब्ध गराएको नेपालको स्पेसमा भू-उपग्रह पठाउनेसम्बन्धी अध्ययन र परामर्शको काम गर्नेछ। प्राधिकरणका अनुसार उक्त परामर्शभित्र रहेर कम्पनीले यससम्बन्धी नियमन तथा सुरक्षासम्बन्धी नीति, बिजनेस मोडालिटी, तथा सञ्चालनबारे अध्ययन गर्नेछ। 

यसरी अध्ययन गरिसकेपछि उक्त कम्पनीले भूउपग्रह प्रक्षेपणमा समेत प्राविधिक सहयोगहरू गर्नेछ। सरकारले पठाउने तयारी गरेको स्याटेलाइट नेपालको पहिलो भने होइन। यसअघि चार वर्षअघि नेपाली विद्यार्थीले बनाएको भूउपग्रह अन्तरिक्ष पुगिसकेको थियो। सो भुउपग्रह एक किलो तौलका (नानो आकारको) हो। 
‘नेपालीस्याट-१’ नाम दिइएको उक्त भू-उपग्रह अमेरिकाको भर्जिनियास्थित नासाको वालोप्स प्रक्षेपण केन्द्रबाट प्रक्षेपण गरिएको थियो। उक्त स्याटेलाइट जापानको क्युटेक विश्वविद्यालयसँगको सहकार्यमा नेपाली दुई युवा वैज्ञानिक हरिराम श्रेष्ठ र आभाष मास्केले बनाएका थिए।

अन्तरिक्षमा आफ्नै स्याटलाइट राख्ने सरकारको योजना आठ वर्ष पुरानो हो। २०७३ पुसमै भारतले नेपाललाई आफ्नै स्याटलाइट प्रयोग गर्न भन्दै पत्र पठाएको थियो। त्यसअघिदेखि नै नेपालको भू-उपग्रह परियोजना अघि बढाउने योजनामा पटकपटक अवरोध आएको छ।

भू-उपग्रहमार्फत दूरसञ्चार सेवा सुरु भएपछि विदेशी कम्पनीको ब्यान्डविथ प्रयोग गरेबापत हाल वार्षिक रूपमा बाहिरिइरहेको झन्डै १० अर्ब रुपैयाँ जोगिनेछ। यो स्याटलाइटको तौल पाँच हजार किलोको हुने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.