पाइला चाल्ने स्वर्णभूमि
पदयात्रा वा ट्रेकिङ, जहाँसुकै यसको लहर छ। स्वास्थ्य तथा मनोरञ्जनसँग मात्रै अव यो सीमित रहेन। पर्यटन व्यवसाय अर्थात् आर्थिक उर्पाजनको मुख्य औजार बन्दैछ।
चर्चित छन्।
पदयात्राको क्रेज आजकल नेपाली (आन्तरिक पयर्टक)मा पनि बढदै गएको टानका अध्यक्ष निलहरि राजवंशी बताउँछन्। ‘पदयात्राका लागि कति आन्तरिक पर्यटक निस्कन्छन् भन्ने लेखाजोखा ठ्याक्कै छैन,’ राजवंशी भन्छन्, ‘तर मुक्ति क्षेत्र, अन्नपूर्ण बेसक्याम्प, घोडेपानी जानेमा बढी आन्तरिक पदयात्री छन्।’
पहिला–पहिलाको तुलनामा आन्तरिक पर्यटकको संख्या पछिल्ला दिनमा धेरै नै बढेको उनको भनाइ छ। ‘अहिले केही पदमार्गमा विदेशीभन्दा नेपाली पदमार्गी बढी जान थालेका छन,’ उनले भने,‘ लज, होटलको व्यवस्था नभएका पदमार्गमा पनि बाटोघाटो, लज र होटल बनाइरहेका छौं।’
पदयात्राका लागि विदेशीहरूलाई नै प्राथमिकता दिने गरिएको छ। विश्वव्याधी कोभिड महामारी अघि विदेशी पर्यटकको संख्या पनि धेरै थियो। त्यसको तुलनामा अहिले संख्या कम भएको अध्यक्ष राजवंशीले बताए।
उनले भने, ‘कोरोनाकालमा घटेका पर्यटक वा पदमार्गीको संख्या विस्तारै बढिरहेको छ। ठ्याक्कै यति नै पदमार्गी आउँछन् भनेर डाटा राखिएको छैन। नेपालमा आउने १५ देखि २५ प्रतिशत विदेशी पर्यटकले पदयात्रा गर्ने गरेका छन्। यो दर बढ्दो क्रममा छ।’
कोरोनाकालमा सुनसान पदमार्गमा पर्यटकको चहलपहल बढ्दै गएको व्यवसायी बताउँछन्। कोरोनाको समयपछि थला परेको पर्यटन व्यवसाय विस्तारै पुरानै लयमा फर्किने क्रममा रहेको राजवंशीले बताए। पर्यटन व्यवसायमा पनि पदमार्गहरूको ठूलो योगदान रहेको उनको दाबी छ।
‘सन् ०१९ मा जस्तो चाप त छैन, तर संख्या बढदै गएको छ’, टान अध्यक्ष राजवंशीले भने, ‘सन् २०२३ मा लगभग १२ लाख विदेशी पदयात्रामा आउने अनुमान गरेका छौं।’
विकास निर्माणले गति लिएसँगै पहाडी तथा हिमाली क्षेत्रका गाउँगाउँमा आधुनिक सडक बन्दै छन्। पदमार्ग सँगसँगै बनेका कंक्रिटका मोटरबाटा वा ठूलाठूला सडकहरूले भने पदमार्ग मासिदै गएका छन्।
अहिलेकै तरिकाले सडक संरचना अगाडि बढे पदमार्गहरूको आयु लामो नरहने राजवंशीले बताए। ‘यस्तै हो भने अबको १५/२० वर्षमा ट्रेकिङ गन्तव्य खोज्दा पनि नपाइन सक्छ,’ उनले भने, ‘पदमार्गको संरक्षणमा सरकारको ध्यान जान जरुरी छ।’ सञ्चालनमा रहेका चर्चित पदमार्ग जोगाउन तीनै तहका सरकारले पहल थाल्नुपर्ने उनको भनाइ छ।
प्रदेश, स्थानीय र केन्द्रीय सरकारले पुराना पदमार्गलाई जोगाउने तथा नयाँ पदमार्ग पनि नमासिने नीति नियम ल्याउनुपर्ने उनले सुझाए। पदयात्राले मुलुकको पर्यटन व्यवसाय र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याए पनि यसको विकास र प्रवर्द्धनमा भने सरकारले ध्यान नपुर्याएको उनको आरोप छ। अध्यक्ष राजवंशीले भने, ‘हालसम्म सरकारले पदयात्रा विकासमा त्यति ठूलो सहयोग गरेको छैन। लगानी पनि गरेको छैन।’
पदमार्गको संरक्षण र सम्बर्द्धन गरेर अर्को पुस्तालाई सकुशल रुपमा हस्तान्तरण गर्नु सबैको दायित्व भएको उनले बताए।
उनले पदमार्गलाई मासेर कंक्रिडका सडकहरू निर्माण गर्ने काम रोक्नुपर्ने बताए। यसैकारण मुक्ति क्षेत्र, अन्नपूर्ण राउन्डजस्ता मार्ग लोप हुने अवस्थामा पुगेका छन्। पदमार्गभन्दा फरक ठाउँमा सडक निर्माण गर्नुपर्ने उनले बताए।
विदेशीहरू विभिन्न उद्देश्यले नेपाल आउँछन्। तर, नेपाल घुम्न आउनेहरूमध्ये धेरै भने यहाँको भौगोलिक तथा सांस्कृतिक कारणले पदयात्राकै लागि आउँछन्।
अध्यक्ष राजवंशीले विश्वमा नेपाल ट्रेकिङकै लागि चर्चित भएको हुनाले नेपालमा पर्यटनको विकास गर्ने हो भने पदमार्गहरूको विकास गर्नु अति नै आवश्यक भएको बताए।
पदमार्गका बारेमा राज्यले संवेदनशील भएर नसोचेको उनको आरोप छ। नेपालमा पर्यटन विकासका मुद्दा सधैं छायामा पर्ने गरेको उनले गुनासो गरे।
कति छन् पदमार्ग ?
नेपालमा ठ्याक्कै यति नै पदमार्ग छन् भन्ने आधिकारिक तथ्यांक सरकारसँग पनि छैन। टानले नै गाउँपालिकाहरूसँग मिलेर ट्रेकिङ रुटहरू पञ्जीकरण गर्ने र डाटा राख्ने काम गरिरहेको राजवंशीले बताए।
उनका अनुसार करिब २०० भन्दा धेरै पदमार्ग अस्तित्वमा छन्। तीमध्ये सबभन्दा धेरै चलेको एभरेष्ट ट्रेकिङ हो। जहाँ दैनिक ५ सयदेखि ८ सय जनासम्म जान्छन्। त्यस्तै अन्नपूर्ण बेसक्याम्प, लाङटाङ ट्रेकिङ, मनास्लु राउन्ड, मकालु, कञ्चनजंगा, ग्रेट हिमालयन ट्रायल, डोल्पा अपर मुस्ताङ टु तल्लो मुस्ताङ, रुबी भ्याली, जुगल हिमाल, धौलागिरि पास धेरै पर्यटक जाने पदमार्ग हो।
काठमाडौंमा काठमाडौं भ्याली ट्रेकिङ वा काठमाडौं मण्डला ट्रेकिङ पनि पछिल्ला समय पर्यटकको रोजाइमा पर्ने गरेका छन्।