‘कमाउन गएको थिएँ, दुबईको सडकमा भौंतारिएर फर्किएँ’
काठमाडौं : दशरथचन्द्र नगरपालिका– ९ बैतडीका दीपक जोशीले अभावका सयौं पहाड उक्लिए। दुःखका उकालाहरू चढ्दै गर्दा कहिले गाउँ त कहिले भारतको मजदुर बनिरहे। काकाको घरमा आश्रय लिइरहेको परिवारलाई आफ्नै झुपडीमा सार्ने सपनाले जोशीलाई दुबई पुर्यायो। तर, सपनामा देखेजस्तो सजिलो थिएन विदेश पुगेपछिको रोजगारी। दुई सय दिराम एडभान्स लिएर काम सुरु गरेका उनलाई कम्पनीले ७ दिनमात्रै काम दियो।
स्टोरकिपरको जिम्मेवारीमा दुबई गएका जोशीले सुरुमै सामान लोड, अनलोडको कठिन काम गरे। एक हप्तापछि प्लास्टिक बनाउने कारखानामा मेसिन चलाउन लगाइयो। चलाउन जानेनन्। उही दिन नै कम्पनीले राजीनामापत्रमा सही गराएर कामविहीन बनाइदियो। कम्पनीबाट बाहिर निकालिदियो। डेढ महिनासम्म दुबईको सडकमा भौंतारिए। कहिले प्रहरी स्टेसन त कहिले लेवरकोट गर्दै दिन काटे। अन्ततः नेपाल फर्काइए।
१ लाख ७० हजार एजेन्टलाई बुझाएर दुबई गएका दीपक काठमाडौं ओर्लिएर सहयोगको याचना गरिरहेका छन्। विदेश पठाउँदा एजेन्टलाई दिएको रकम उठाउन भन्दै कहिले प्रहरी वृत्त त कहिले रोजगार विभाग पुग्छन्। तर, न्याय पाएनन्। भन्छन्, ‘यताउता गर्दागर्दै आफ्नै देशमा शरणार्थीजस्तो भएको छु।’
दुबई लैजाने भन्दै बैतडीकै सुरेश भट्टलाई उनले पैसा बुझाएका थिए। सुरेश काठमाडौंको बसुन्धरामा रहेको साव इन्टरनेसनल ह्युमन रिसोर्स म्यानपावरका कर्मचारी हुन्। जोशीले उनलाई नै पैसा बुझाएका हुन्। तर, सुरेशले पैसा फिर्ता दिन सक्दिन भन्दै धम्की दिने गरेको दीपकले बताए। भन्छन्, ‘मेनपावरमा पनि पैसा फिर्ता हुन्न, तँ जहाँसुकेै जा भन्दै धम्की दिए।’ काठमाडौंमा मुद्दा लड्न धेरै पैसा लाग्ने भन्दै मेनपावर सञ्चालकले मेनपावरको बदनाम गरे मुद्दा लगाएर जेलमा कोचिदिने धम्की दिए। डराएको अनुहार पार्दै जोशीले अन्नपूर्णकर्मीसँग प्रश्न गरेका थिए, ‘मेनपावरले मुद्दा लगाएर मलाई थुन्न मिल्छ र ?’
बाल्यकालमै बुवा गुमाएका दीपक परिवारको जेठा छोरा हुन्। कक्षा ७ मा पढ्दापढ्दै भाइहरू र बिरामी आमाको हेरविचार गर्ने जिम्मेवारीले पढाइ छाडेर भारतको रेल्वे स्टेसन पुर्यायो। भारतमा उनले कहिले प्रहरी स्टेसनमा चिया पकाउने काम गरे त कहिले कोठीमा भात पकाउने काम गरे। वर्षमा एक/दुई पटक घर आउँदा १५— २० हजार बोेकेर आउने गर्थे। दुःख,सुख चलेकै थियो जिन्दगी। आफ्ना दुई सन्तान, श्रीमती तथा आमा र भाइको लालनपालनको जिम्मेवारीको बोझले उनले गाउँका अन्य युवाझै विदेश जाने सपना देख्न थाले। यहीबीच मेनपावरका कर्मचारी सुरेशले प्रलोभन देखाए। गाउँमा ऋण खोजेर पैसा बुझाए।
कागजात बोकेर काठमाडौं आएका दीपक मेडिकल फेल भए। मेडिकल फेलको रिपोर्ट आएपछि विदेश जान्नँ पैसा फिर्ता दिनु भन्दै उनी सुरेशकहाँ पुगे। तर, सुरेशले भिसा आइसकेको बताउँदै जसरी भए पनि दुबई जानुपर्ने भन्दै दबाब दिए। दीपक दुबईको टिम्याक्स अन डिमान्ड लेवर सप्लाई कम्पनीमा काम गर्न विदेश उडेका थिए। तर, सात दिनमात्रै काम पाएका जोशी भोकभोकै सारजाहमा भौंतारिएपछि नेपाल फर्कन बाध्य छन्।
उनी भन्छन्, ‘घरमा जाउ, ऋण कसरी तिर्नु ? साहुले ताकेता गरिरहेको छ।’ एजेन्ट सुरेशले आफू रिटायर्ड प्रहरी भएकाले कसैले केही गर्न नसक्ने भन्दै धम्काउने गरेका छन्। यस विषयमा बुझ्न अन्नपूर्णले सुरेशलाई पटकपटक फोन गरेको थियो। तर, उनले फोन उठाएनन्।