जापानका माचुओ बासो हाइकु लेखन अभियन्ता हुन्। नेपालमा शंकर लामिछाने हुँदै हाइकु झाँगिएको हो।
थोरै शब्दमै गहिरो भाव प्रकट गर्ने हाइकु जापानी शैलीको खँदिलो कविता हो। लगभग उस्तै संरचनाजस्तो लाग्ने तर केही तात्त्विवक भिन्नता भएको हाइकु र सिजोले पूर्वी एसियाली साहित्यको माध्यमबाट विश्व साहित्यमा उल्लेख योगदान दिएको छ। हाइकु इतिहास र पृष्ठभूमि हेर्दा सातौं–आठौं शताब्दीतिरको हाइकाइको विकसित रूप मानिन्छ। हाइकाइ सुरुका तीन हरफमात्र जसलाई होक्कु भनिन्छ। जुन आज हाइकु रूपमा उदाएको छ।
हाइकु पूर्णरूपमा शास्त्रीय संरचनामा बाँधिएको हुन्छ। हाइकु पहिलो हरफमा पाँच, दोस्रो हरफमा सात र तेस्रो हरफमा पाँच गरी १७ अक्षरको हुन्छ। शास्त्रीय संरचना मात्र मिलाएर हुँदैन। हाइकुमा कलात्मक ढंगबाट प्राकृतिक किगोको प्रयोग गर्नुपर्छ। हाइकुले शब्दसँगै गहन भाव बोकेको हुनुपर्छ। यसको प्रमुख विशेषता भनेको प्राकृतिक बिम्बभित्र लुकेको रहस्यमय भाव र आशय हो।
सातौं शताब्दीमा थालिएको शृंखलाबद्ध हाइकाइ लेखन क्रमले बिस्तारै छोटिँदै छोटिँदै ५–७–५ संरचना मात्रको होक्कुको रूप लियो। पछि केही कविले प्रयोगस्वरूप १७ अक्षरीय संरचनामा मात्र लेख्न थाले। ५–७–५ को मात्र प्रयोग गरेर होक्कु लेख्ने चलन त मुरोमाचीकालीन साहित्यिक युगमा देखा परेको थियो। तर त्यो बेला शैली अस्पष्टताको कारणले होक्कुले जरा फैलाउन पाएन। हाइकाइलाई समेत व्यंग्यात्मक प्रस्तुतिमा प्राथमिकता दिइरहेको बेला नवीन प्रयोग गरिए पनि व्यंग्यात्मकताको सिकार बन्न गयो। अहिले पनि यही संरचनाको व्यंग्यात्मक अभिव्यक्तिलाई सेन्र्यु भनिन्छ।
तर समयको गति र मानसिक परिवर्तनसँगै यो शैलीले पनि स्पष्ट अभिव्यक्ति र कवितात्मक भाव दिन थाल्यो। त्यसबेला १७ अक्षरीय संरचनालाई हाइकु भनिँदैनथ्यो। होक्कुमात्रै भनिन्थ्यो। जापानका माचुओ बासो हाइकुका अभियन्ता र कुशल सर्जक मानिन्छन्। नेपालमा शंकर लामिछाने हुँदै झाँगिएको छ, हाइकु लेखन र प्रस्तुति। जसलाई अहिले नेपाल हाइकु केन्द्र (नेहाके)ले संस्थागत रूप पाएको छ। हाइकु सिर्जनामा युवा पुस्ताको आकर्षण बढ्दो छ।
केही वर्षपहिले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टर र नेहाकेले संयुक्त रूपमा जापानमा आयोजना गरेको अन्तर्राष्ट्रिय हाइकु सम्मेलनले नेपाली साहित्यिक जगत्मा हाइकुलाई थप परिचित गराउन र हाइकुलाई अन्तर्राष्ट्रियकरण गर्न ठूलो योगदान पुर्याएको छ। हाइकुकै ढाँचामा छन्द मिलाएर लेखिने सुसेलीलाई भने लमजुङ सेरोफेरोमा गाइने लोकभाका शैलीमा गाएरै प्रस्तुत गरिन्छ। यसको वाचनशैली भने लगभग स्थापित भएको मान्न सकिन्छ। हाइकुको रहस्यलाई खोतल्न अझ सहज होस् भन्ने हेतुले जापानमै रहेका प्रकाश पौडेल ‘माइला’ र नेपाल हाइकु केन्द्रका अध्यक्ष प्रा. रामकुमार पाँडेसँगको साक्षात्कार तथा माइलाले सार्वजनिक गरेको दस्तावेजका आधारमा हाइकुका केही तथ्य बुँदागत रूपमा राखिएको छ :
- १७ अक्षरीय हाइकु कविताको उद्गम थलो जापान हो। साढे तीन सय वर्ष पुरानो जापानी हाइकु कविता अहिले संसारभरका विभिन्न भाषामा लेख्ने गरिन्छ। छोटो मिठोमात्र होइन, तीखो भएका कारण पनि बौद्धिक व्यक्तिलाई हाइकुको शैली मनपर्छ। जापानमा हाइकुका अतिरिक्त अन्य धेरै शास्त्रीय लेखन शैलीका कविता छन्। जस्तै– तान्का, चोका, सेदोका आदि !– नेपालको हाइकु इतिहासबाट पनि यसको अनुमान गर्न सकिन्छ। नेपालका बौद्धिक लेखकमध्येका एक शंकर लामिछानेले २०१९ सालमा यसलाई नेपाल भित्त्वयाए। त्यसताका यो विधा जापानसँग साहित्यिक साइनो गाँसिएको अथवा कुनै न कुनै रूपमा जापानसँग सम्बन्ध जोडिएको बौद्धिक अभ्यास गर्न रुचाउनेहरूले अघि बढाएको देखिन्छ।
- हाइकु कविताले के भन्न खोजेको हो भन्ने बुझ्न केही घोत्लिनु पर्ने हुन्छ। केही लेखकको अनुभवमा हाइकुको अभ्यास गर्दा अन्य विधालाई गहिरो बनाउन मद्दत गर्छ। कम शब्दमा धेरै भाव व्यक्त गर्नु पर्दा हाइकु प्रभावकारी र बलियो ठहर्छ।
- आधुनिक हाइकु तीन लाइन र १७ अक्षरमा विभक्त हुन्छ। पहिलो लाइनमा ५ अक्षर हुन्छन्। दोस्रो लाइनमा ७ अक्षर र अन्तिम लाइनमा पुनः ५ अक्षर हुन्छ। तीन लाइन र १७ अक्षरभित्र जति धेरै कुरा भन्न सक्यो, हाइकु त्यति नै राम्रो मानिन्छ। अक्षर गणना गर्दा सग्लो अक्षरको मात्र गणना गरिन्छ। आधा वा हलन्त काटिएको अक्षरलाई गणना गरिँदैन।
- जापानीहरू आफ्ना हाइकुमा प्रकृतिको वर्णन गर्न रुचाउँछन्। प्राकृतिक बिम्बको मिठासपूर्ण र सांकेतिक प्रयोगले हाइकु प्रभावकारी हुन्छ भन्ने मान्यता छ। जापानमा प्राकृतिक किगो सूचीकृत गरिएका पुस्तकहरू नै किन्न पाइन्छ।
- लिखित जापानी साहित्यको सुरुआत सातौं शताब्दीबाट भएको हो। आज पनि सन् ७७० तिर लेखिएको पुरानो मान योशु ग्रन्थ जापानीले सुरक्षित राखेका छन्। यसमा ३१ अक्षरीय (५–७–५–७–७) ताङ्का समेटिएको थियो। ताङ्का कविताको आधुनिक रूप नै हाइकु हो।
- नेपाली कवितामा जसरी छन्द कविता र मुक्त भनेर लेखनका शैलीहरू छुट्ट्याइन्छ, हाइकुमा पनि विभिन्न शैली हुन्छन्। हाइकुको गहिरो अध्ययन गर्नेहरूले यस्ता भिन्नता मज्जा मानेर पढ्ने गर्छन्।
- संसारभर हाइकु लेख्ने चलन व्यापक भएको छ। अंग्रेजी, नेपाली, हिन्दी, बंगाली, डच, फ्रेन्च, पोर्चुगल, स्पेनिस विभिन्न भाषामा हाइकु लोकप्रिय छन्। नेपाली साहित्यमा त हाइकु कृतिहरू सयौंको संख्यामा प्रकाशित छन्– हिजोआज नेपालमा ३ र १७ अक्षर बनाउनेबित्तिकै हाइकु बन्छ भन्ने भ्रम यदाकदा भेटिन्छ। सिकारु अवस्थामा १७ अक्षरमा कविता सिर्जना गर्न आफैंमा चुनौतीपूर्ण भएका कारण सुरुआतमा त्यो ठीकै लाग्न सक्छ। तर यसमा गहिरिँदै जाँदा भने बिम्बहरू शक्तिशाली बनाउँदै लैजानु पर्छ। जसले कुशलतापूर्वक बिम्बलाई हाइकुमा उतार्न सक्यो, हाइकुमा त्यति नै मिठास र गहनता भेटिन्छ।
- हाइकु रचना गर्ने कविलाई जापानमा ‘हाइजिन’ भनिन्छ। जापानमा हाइजिनको ठूलो इज्जत हुन्छ। विद्यालय र कलेजको पाठ्यपुस्तकमा पुराना हाइजिनको जीवनी, हाइकु इतिहास र लेखन शैलीबारे पढाइ हुन्छ। चर्चित हाइकु–
माकुरा जाल
ओल्झिएको ओशले
तन्किँदै गयो।
– शंकर लामिछाने।