पुस्तकमा बुढ्यौली जीवन कसरी सहज जिउने भनेर विश्वज्ञानलाई समेत समेटेर लेखिएको छ।
हरेक मानिसका लागि ‘बुढ्यौली जीवन’ अर्थात् उमेरगत ज्येष्ठ जीवनको अवस्था एक अवश्यंभावी प्रक्रिया हो। जो व्यक्ति लामो समय बाँच्ने अवसर पाउँछ, ऊ बाल्यकाल, किशोरकाल, युवाकाल, अधबैंसे काल गर्दै ‘ज्येष्ठ नागरिक’का रूपमा विगतका अमूल्य र अविस्मरणीय क्षण सम्झँदै अनुपम यात्रामा जुट्छ। बुढ्यौली यात्रा केही भाग्यमानी व्यक्तिले मात्र पाउने अवसर हो। नेपालमा करिब ९ प्रतिशत (झन्डै २७ लाख) व्यक्ति वृद्धावस्थाका छन्। ३०–३५ वर्षअघि लगभग ५ प्रतिशत मात्र वृद्धावस्थाका थिए।
विश्वभर पछिल्लो समय वृद्ध नागरिकको संख्या क्रमशः बढ्दै गएको छ। विकासको गति र विश्वको उन्नतिसँगै मान्छेको आयु लम्बिँदै गएको छ। बूढो भएर पनि बूढो नदेखिने, बुढेसकालले छोए पनि फुर्तिलो देखिने उपाय प्रवद्र्धित छन्। स्वास्थ्यको ख्याल गर्ने, औषधोपचार सुविधाको उपलब्धता, उचित खानपान, योग–अभ्यास, सकारात्मक सोचाइ र सहयोगी व्यवहार आदि केही यस्ता कारण हुन् जसले मान्छेको उमेर लम्ब्याउन सकिन्छ। नेपालमा विकासका दृष्टिले सबैभन्दा पछाडि परेको कर्णाली प्रदेशमा औसत आयु अन्य प्रदेशको तुलनामा कम छ। यसका पछाडि विकासको कमजोर अवस्था, चेतना र ज्ञानको कमी, पर्याप्त पोषणयुक्त खानेकुराको अभाव, स्वास्थ्योपचारका पूर्वाधारको अभाव आदि धेरै कारण छन्। ‘नेपालमा वृद्धवृद्धाको अवस्था’ सम्बन्धी एक सहभागीमूलक अध्ययन (नेपाल सहभागीमूलक कार्य समूह– ‘नेपान’) ले यससम्बन्धी तथ्य २०५८ सालमै ल्याइसकेको छ।
सोही अध्ययनपछि नै नेपालमा ज्येष्ठ नागरिक कार्ययोजना, ज्येष्ठ नागरिक ऐन र नियमावली निर्माण, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय (हाल ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय’) मा ज्येष्ठ नागरिक महाशाखा स्थापना, ज्येष्ठ नागरिक सामाजिक सुरक्षा–भत्तामा सुधार, ज्येष्ठ नागरिक परिचयपत्र निर्माण तथा वितरणको थालनी भयो। यस्तै, ज्येष्ठ नागरिकको उपचारसम्बन्धी विशेष सुविधाको प्रावधान, यात्रामा सहुलियत, ज्येष्ठ नागरिक कल्याण कोषको अवधारणा र स्थापना, ज्येष्ठ नागरिक महासंघ स्थापना आदि तमाम नयाँ सोच र विकासमा रणनीतिक दिशाबोध भएको थियो। नेपालमा ज्येष्ठ नागरिकका सवालमा विभिन्न पैरवी तथा जनवकालती कार्यहरूले २०५८ सालपछि विशेष गति र क्रियाशीलता पाएको हो।
अहिले ज्येष्ठ नागरिकका अधिकार संविधानमै उल्लेख छन्। २०६३ र २०६५ सालमा बनेका ज्येष्ठ नागरिकसम्बन्धी ऐन र ज्येष्ठ नागरिकसम्बन्धी नियमावलीलाई पनि थप परिमार्जन तथा संशोधन गरी जारी गर्ने काम भइरहेको छ। समग्रमा हेर्दा विगत साढे दुई दशकमा ज्येष्ठ नागरिक सवालमा नजानिँदो पाराले थुप्रै काम भइसकेका छन्। यी सबैको श्रेय स्वयं ज्येष्ठ नागरिकलाई नै जान्छ ।
यसै सन्दर्भमा ज्येष्ठ नागरिक सवालमा विशेष चासो राख्ने र अध्ययन–अनुसन्धान गर्ने प्रखर व्यक्तित्व श्रीधर लामिछानेले हालै बजारमा ल्याएको पुस्तक ‘सहज बुढ्यौली’ नेपाली पाठकका लागि अनुपम उपहार बनेको छ। लामिछानेले विगत साढे दुई दशकदेखि नै ज्येष्ठ नागरिक सवालमा गैरसरकारी संस्था ‘अस्मी’ स्थापना तथा सञ्चालनमा विशेष पहल गरेर उदाहरणीय काम गर्दै आएका छन्। उनले पुस्तकमा ज्येष्ठ नागरिकले स्वास्थ्य राम्रो बनाउन के गर्नुपर्छ ? खानपान र स्वास्थ्यमा ध्यान दिनुपर्ने अति जरुरी कुरा के के हुन् ? परिवारमा आफूले कस्तो भूमिका खेलिदियो भने राम्रो हुन्छ ? समाजमा ज्येष्ठ नागरिकले कस्ताकस्ता भूमिका निभाउन सक्छन् ? घर–परिपरिवारका सदस्यहरूले ज्येष्ठ नागरिकसँग कस्तो व्यवहार गर्नुपर्छ ? ज्येष्ठ नागरिकले पनि परिवारका सबै सदस्यसँग कस्तो व्यवहार गर्नुपर्छ ? यस्तै विविध विषय सरलभावमा प्रस्तुत गरेका छन्।
परिशिष्टसहित १४ खण्डमा विभक्त र झन्डै पौने तीन सय पृष्ठको यस पुस्तकमा स्वस्थ, सक्रिय, आरामदायी र समाजोपयोगी बुढ्यौली जीवन जिउने काइदाका अनेक सूत्र पनि छन्। थपमा ज्येष्ठ नागरिकका सवालमा काम गर्ने संघसंस्थालाई पनि आआफ्ना काममा प्रभावकारिता बढाउने विभिन्न उपाय सुझाइएका छन्। पुस्तकका हरेक शीर्षक र पंक्तिमा लेखकका अनुभव र दृष्टिकोण प्रतिबिम्बित छन्। झन्डै तीन दशकदेखिका मानवीय साक्षात्कार र कुराकानीका महत्त्वपूर्ण सार पनि यहाँ झल्किएका छन्। खानपान, योग–ध्यान, सकारात्मक सोच र व्यवहारका कुरा यसमा छन्। सामान्य रोग लाग्दा आफैं सजग हुने र उपचारमा ध्यान दिने, परिवारभित्रका घुलमिल हुने, समाजमा मिलि–बस्ने, आफ्नो जीवनलाई सधैं चुस्त र क्रियाशील राख्ने, दुःख र पीडामा परेका व्यक्तिलाई सहयोग गर्ने तौरतरिका छन्।
पुस्तकमा उठाइएका हरेक सन्दर्भमा लेखकका अनुभव र स्वव्यवहार मिसिएका छन्। एक किसिमले भन्ने हो भने यो एक ‘अनुभव प्रधान पुस्तक’ हो। जनैखटिरो, कोरोना वा अनेक सन्दर्भलाई उनले आफैं नै ‘ज्येष्ठ नागरिक’ भएर अनुभूत गरिसकेका छन्। त्यसले गर्दा पनि पुस्तकको औचित्य, अर्थ र सान्दर्भिकता बढेको छ। लामिछानेले देश–विदेश घुम्दा ज्येष्ठ नागरिक सवालमा थुप्रै सामग्री पढ्ने बुझ्ने अवसर पाएका छन्। ती कुरालाई पनि केही सन्दर्भ–सामग्रीको रूपमा प्रस्तुत गरेर पुस्तकको प्रायोगिकता, व्यावहारिकता, बौद्धिक व्यावसायिकता र प्राज्ञिकतासमेत बढाउने काम भएको छ। बुढ्यौली जीवन कसरी सहज जिउने भनेर विश्वज्ञानलाई समेत ध्यान दिँदै अनुभवजन्य प्रशस्त सिकाइ प्रस्तुत गरिएको छ।
बुढ्यौली जीवनलाई सजिलो ढंगबाट अगाडि बढाउने खँदिलो सामग्री भएको यति राम्रो, सरल र सहज पुस्तक सम्भवतः नेपालमा यो पहिलो हुन सक्छ। त्यसैले परिवारका सबै सदस्यले पढ्नैपर्ने पुस्तक बनेको छ। किशोरकिशोरी, युवायुवती, अधबैंसे, र बुढ्यौली यात्रा गर्दै गरेका व्यक्तिले पढ्नुपर्ने गतिला र चाखिला खुराक यसमा छन्। लेखकले ‘सर्वहिताय’ भन्ने महान् सिद्धान्त आत्मसात् गर्दै यो पुस्तक तयार पारेको यथार्थ हरेक पाठकले अनुभूत गर्नेछ।
परिवारमा हरेकले पढे आपसी बुझाइ, समझदारी, सहयोग, सद्व्यवहार र पारिवारिक समसम्बन्ध अझ प्रगाढ बन्न सक्छ। बुढ्यौली जीवनमा पुग्ने साथै सुखद र खुसीयुक्त बुढ्यौली जीवन जिउने हरेक व्यक्तिको चाहना हुने हुँदा त्यो उमेरमा नपुग्दै के के कुरा सोच्ने र तयारी गर्ने भन्ने कुरा पनि यसमा छन्। बुढ्यौलीमा पुगिसकेका व्यक्तिहरूका लागि त झनै धेरै उपयोगी ज्ञानका कुरा पानैपिच्छे छन्। करिब दुई दर्जन ज्येष्ठ नागरिकका मननीय कथा र अनुभव पनि पुस्तकमा समेटिएकाले पुस्तकका लागि ती मूल्यवान् अतिरिक्त गहना बनेका छन्।
समग्रमा, लेखकका झन्डै तीन दशकका अनुभव पुस्तकमा समेटिएकाले अनुभवले खारिएका शब्द, अन्तर्य र भावहरूको अनुपम कोसेली बनेको छ। पुस्तकलाई कुशल ढंगले सम्पादन गरेर सञ्चारकर्मी श्रीश भण्डारीले गुन लगाएका छन्। इटर्नल प्रकाशनले प्रकाशन गरेको हो ।