मूलपानीको अन्तर्राष्ट्रिय डेब्यु
मूलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनलसहित ११ खेल सञ्चालन भएको थियो।
लामो समय सरकारी गोलचक्करमा फसेको मूलपानी क्रिकेट मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना भएको छ।
मूलपानीको माथिल्लो मैदानले एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यु गरेको हो। निर्माण थालेको करिब दुई दशकसम्म केही घरेलु प्रतियोगिता आयोजना हुँदै आएको यो मैदानमा गत वैशाख ५ मा एसीसी प्रिमियर कपअन्तर्गत सिंगापुर र हङकङबीच पहिलोपटक अन्तर्राष्ट्रिय खेल भएको हो।
मूलपानी मैदानमा एसीसी प्रिमियर कपको एक सेमिफाइनलसहित ११ खेल सञ्चालन भएको थियो। नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी प्रिमियर कपका लागि करिब डेढ महिना लगाएर मूलपानी मैदानको पिच तयार गरेको थियो।
मूलपानी मैदानमा पिचसँगै मैदान विस्तार, पार्किङ, ड्रेसिङ रुम, ब्रोडकास्टर हल, खेलाडीको लागि लन्च हल, पर्खाल निर्माणलगायतका पूर्वाधार निर्माण गरिएको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। मैदानमा खानेपानी, बिजुली आपूर्ति, सरसरफाइ र बाटो मर्मतको काममा कागेश्वरी मनोहरा नगरपालिकासँग समन्वय गरेको थियो।
मूलपानीको माथिल्लो मैदानमा सात वटा पिच छन्। सातमध्ये एसीसी प्रिमियर कपका लागि तीनवटा मात्रै पिच प्रयोग गरिएको थियो। ७० मिटरको बाउन्ड्री लाइनलाई बढाएर ७५ मिटरको बनाइएको थियो। अन्तर्राष्ट्रिय मापदण्ड मिलाउन बाउन्ड्री लाइन बढाएको क्यानले जनाएको छ।
डम्पिङ साइटबाट रंगशाला
डम्पिङ साइटका रूपमा रहेको मूलपानीको २ सय ९६ रोपनी जग्गामा रंगशाला बनाउने अभियान वि.सं २०६० सालबाट सुरु भएको थियो। जग्गा अधिकरणलगायतका काममा लामो समय रुमलिएपछि २०६९ बाट भने रंगशाला निर्माणका लागि सरकारले वार्षिक रूपमा बजेट उपलब्ध गराउन थालेको हो।
आर्थिक वर्ष २०६९/०७० मा नेपाल क्रिकेट संघ (क्यान) का नाममा ३० लाख रुपैयाँ दिएर सुरु भएको रंगशाला निर्माणमा ३५ करोडभन्दा बढी खर्च भइसकेको छ। गुरुयोजना अनुसार एकेडेमीसहितको मूलपानी रंगशाला निर्माण सम्पन्न हुन अझै केही वर्ष लाग्ने देखिएको छ।
क्यान अध्यक्ष चन्द गुरुयोजना अनुरूप रंगशालाले पूर्णता पाउन केही समय लागे पनि अहिले निर्माण भएका संरचनालाई संरक्षण गर्नुपर्नेमा जोड दिन्छन्। ‘गुरुयोजना अनुरूप रंगशाला सम्पन्न हुन केही समय लाग्ला। तर, अहिले बनेका संरचनालाई संरक्षण गर्नु पनि उत्तिकै आवश्यक छ’, उनी भन्छन्, ‘अब राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा त्रिवि र मूलपानी मैदानलाई बराबर रूपमा प्राथमिकता दिइनेछ।’
मूलपानी रंगशाला निर्माणमा हालसम्म ३५ करोडभन्दा बढी रुपैयाँ खर्च भइसकेको छ। पछिल्लो पाँच आर्थिक वर्षमा मात्र झन्डै २० करोड रुपैयाँ बजेट मूलपानीका लागि विनियोजित भएको छ।
तर, काम गर्न नसकेका कारण हरेक वर्षजसो बजेट फ्रिज हुने नियति मूलपानी रंगशालाले भोगिरहेको छ। आर्थिक वर्षको अन्तिममा रकमान्तर भएर बजेट आएका कारणले केही बजेट फ्रिज भए पनि अधिकांश बजेट भने सदुपयोग हुँदै आएको राष्ट्रिय खेलकुद परिषद्को दाबी छ।
सुकुम्बासी समस्या सल्टाउन ढिलाइ
वि.सं. २०५५ सालदेखि नै मूलपानीको अहिलेको क्रिकेट रंगशालामा १६ परिवार सुकुम्बासी बस्दै आएका थिए। स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैलाको डम्पिङ साइड रहेको जग्गामा सुकुम्बासीले टहरा बनाएर बसेका थिए। त्यहाँ रहेका सुकुम्बासीलाई अन्यत्र जग्गा सट्टाभर्ना दिने सहमतिअनुसार राष्ट्रिय खेलकुद परिषद्लाई २ सय ९६ रोपनी जग्गा हस्तान्तरण गरिएको थियो।
परिषद्ले तत्कालै मैदानको मध्यभागमा रहेका सुकुम्बासीले निर्माण गरेका टहरा भत्काएर अन्यत्र सार्न १० परिवारलाई दुई लाख रुपैयाँ दिएको थियो। तत्कालीन सदस्यसचिव किशोरबहादुर सिंहको पालामा १६ मध्ये १० सुकुम्बासी टहरा हटाउनप्रति टहरा दुई लाख दिए पनि बाँकी रहेका ६ टहरालाई समयमै पैसा नदिँदा समस्या थपिएको स्थानीय बताउँछन्। ‘
सुकुम्बासीका टहरा एकै पटक हटाउन सकिएन। जसका कारण समस्या बल्झिरह्यो’, एक स्थानीय भन्छन्, ‘उनीहरूलाई मैदानबाट हटाउनै समय लागेपछि रंगशाला निर्माणको काम पनि प्रभावित हुन पुग्यो।’
जग्गा विवाद पनि प्रमुख कारक
मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानको मुख्य विवाद जग्गा मुआब्जाको हो। मैदानको बीच भागमै करिब ५२ आना व्यक्तिगत जग्गा थियो। त्यही जग्गा राखेपलाई लामो समयसम्म टाउको दुखाइ बनेको स्थानीय बताउँछन्। ५२ आना जग्गाको मुआब्जा सल्टाउन ढिला भएका कारण निर्माणका काम पनि अवरुद्ध हुँदै आएको थियो।
राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्यसचिव युवराज लामाले रंगशाला निर्माणको कामअघि बढाएका थिए। त्यसपछि जग्गाको मुआब्जा विवादले पनि उग्र रूप लियो। जसका कारण रंगशाला निर्माणको काम अघि बढ्न सकेन। २०७५ सालमा मुआब्जाका विषयमा सहमति भएपछि मात्रै मूलपानीको तल्लो रंगशाला निर्माणको कामले तीव्रता पाएको थियो।
गुरुयोजना पनि परिवर्तन
मूलपानी क्रिकेट मैदानको गुरुयोजना अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिले तयार पारेका हुन्। गुरुयोजनाअनुसार २ सय ९६ रोपनी जग्गामा एकेडेमीसहितको विशाल संरचना निर्माण हुनेछ। गुरुयोजनामा २० हजार क्षमताको रंगशाला बनाउने भनिएको छ।
तर, राष्ट्रिय खेलकुद परिषद्ले गुरुयोजना परिवर्तन गरिरहँदा दर्शक क्षमता घट्नुका साथै बजेट पनि फ्रिज हुने गरेको स्थानीय बताउँछन्। ‘आईसीसीले तयार पारेको गुरुयोजनालाई राष्ट्रिय खेलकुद परिषद्ले पटकपटक परिवर्तन गर्दै आएको छ’, स्थानीय भन्छन्, ‘गुरुयोजना परिवर्तन गर्दा निर्माणको काम पनि प्रभावित हुने र बजेट पनि फ्रिज हुने गरेको छ।’