अब त स्मार्ट सिटी
हरेक चुनावको बेला नेतादेखि कार्यकर्ता सबैका भाषणमा नछुट्ने विषय हो ‘स्मार्ट सिटी’। चिटिक्क परेको बस्ती। भौतिक सुविधासम्पन्न। सरकारले नै योजना बनाएर निर्माण गरेको व्यवस्थित सहर नै ‘स्मार्ट सिटी’ हो। सहरमा अव्यवस्थित बसोबासले भीडभाड र कोलाहल बढ्दै गएपछि सरकारले स्मार्ट सिटीको परिकल्पना गरेको छ।
स्मार्ट सिटीले रोजगारी, शिक्षा, स्वास्थ्य, सडकनिर्माण तथा आर्थिक क्रियाकलाप र रोजगारीको सुनिश्चित गरेको हुन्छ। यसको अवधारणमा सवै बासिन्दा समान हुन भन्ने अटाएको हुन्छ। स्मार्ट सिटीको मुख्य आधार सञ्चार, सूचना र प्रविधि हो। स्मार्ट सिटीमा सञ्चार, सूचना र प्रविधिको अधिकतम प्रयोग गरेर सहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्तदुरुस्त बनाइन्छ।
स्मार्ट सिटीको सुरुवात
सहरी विकास विज्ञहरूका अनुसार सन् १९९० को मध्यतिर इन्टरनेटको सुरुवात भएपछि विभिन्न देशहरूले स्मार्ट सिटीको अवधारण विकसित गरेका हुन्। सहरी पुर्वाधारलाई व्यवस्थीत गर्ने शहरको परिकल्पना स्वरूप स्मार्ट सिटी शब्द प्रचलनमा आयो।
स्मार्ट सिटीमा मुख्यत चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र र संरचना, रोजगारी र आर्थिक उत्पादन अनिवार्य हुन्छ। सहरको अर्थतन्त्र र नागरिकको जीवनस्तर नै स्मार्ट सिटीको मुख्य आधार हो।
पूर्वाधारविज्ञ किशोर थापाका अनुसार प्रविधिको उच्चतम प्रयोग गरिएको र नागरिकको जीवनस्तर सहज बनाइएको सहरको परिकल्पना नै स्मार्ट सिटी हो। केन्द्रीय सरकार होस् या स्थानीय सरकारको योजनामा पर्ने र चाहने हो भने स्मार्ट सिटी बनाउन खास ठूलो लगानी लाग्दैन। अहिलेका सहरहरू पनि स्मार्ट बन्न सक्छन्। नागरिकका कामहरू डिजिटल प्रविधि प्रयोग गर्नु हो। स्मार्ट सिटी बन्न यो नै हुनुपर्छ भन्ने बाध्यकारी नियम त छैन?
उनी भन्छन्, डिजिटल प्रविधिको उपयोग गरेर सहरको विकास, व्यवस्थापना, प्रशासन चलाउने काम स्मार्ट सिटीको विशेषता हो। यस्तै नेपालमा ७० प्रतिशत नेपालीले स्मार्टफोन चलाउँछन् भन्ने तथ्यांक छ। नगरपालिकाको कर अनलाइनबाट तिर्नु, लाइसेन्स, सवारी कर, सवारी टिकट अनलाइन दिन पाउनु। बैंकको सम्पूर्ण काम घरमा बसिबसी गर्न सक्नु पनि स्मार्ट सिटीको विशेषता हो।
स्मार्ट सिटीले सहरको ट्राफिक कम गर्छ। मान्छेको मुभमेन्ट कम गर्छ। धेरै कर्मचारी राखेर भक्ता खुवाउनु पर्दैन। इन्टरनेटको माध्यमबाट धेरै काम कम्प्युटरले नै गर्छ। कुनै पनि काम छिटोछरितो ढंगबाट कम खर्चमा सेवा लिने र दिने व्यवस्था भएको सिटी नै स्मार्ट सिटी हो। स्मार्ट सिटीमा बस्ती व्यवस्थित हुन्छ। यसले गर्दा पूर्वाधार निर्माणमा खर्च कम लाग्छ। स्मार्ट हाउस निर्माण हन्छ।
सानो घरमा धेरै मानिस बस्न सक्ने प्रविधि प्रयोग भएको हुन्छ। घरभित्रको धारा, ढोका, भ्याल आफैं लक अनलक हुने। सबै कुरा डिजिटल प्रविधिबाट हुने व्यवस्था हुन्छ। मोबाइलबाटै घरको मोटर बन्द गर्न सक्ने। प्रविधिको उच्चतम प्रयोग भएको बस्ती। घरहरू एकनाशका र पूर्वाधार पर्याप्त। पानी बत्ती सुविधा, अस्पताल, स्कुल, कलेजको सुविधा हुन्छ।
काठमाडौं जस्तो सहरलाई पूर्ण स्मार्ट नै त बनाउन नसकिने बताउँदै पूर्वाधारविज्ञ थापाले नया संरचना निर्माण गर्दा ध्यान दिने हो भने विकासको क्रममा सहर आफैं स्मार्ट बन्ने विश्वास व्यक्त गरे। उनी भन्छन्, उपत्यका बाहिरका सहरहरू केही व्यवस्थित देखिन्छ। नयाँ बस्ती बनाउँदा योजनाबद्ध रूपमा सुरु गर्नुपर्छ। सहर बनाउने काम सरकारको मात्रै हैन, स्थानीय पालिकाको हो। स्थानीय व्यक्तिको पनि हो। निर्माण कम्पनी र इन्जिनियर अनि ठेकेदारको पनि जिम्मा हो।
स्मार्ट सिटीको विषयमा जान्दै नजानी नबुझी नेताहरूले भाषण गरेर मात्रै सहर व्यवस्थित नहुने थापाको तर्क थियो। उनी भन्छन्, अनलाइन खाना मगाउनु, अनलाइनबाटै टिकट बुक गरी गाडी चढ्नु, पठाओ, टुटल चढ्नु प्रविधियुक्त सहरको विशेषता हो। सहरमा वस्तु र सेवाको ट्रान्जेक्सन हुन्छ। यो कारोबारलाई प्रविधिमैत्री बनाउन सक्यौ भने यो स्मार्ट सिटीको निर्माण गर्न नेता र विदेशी दाता खोजिरहन नपर्ने थापाको तर्क थियो।
पछिल्लो समय मेलम्ची खानेपानी योजना चलिरहेको छ। पहिले–पहिले खानेपानी वितरण गर्न कर्मचारी टोलटोलमा धाउने गर्थे। तर, अहिलेको सिष्टममा अफिसमा बसीबसी थाहा पाउने सिष्टम छ। मोबाइल एपबाट नै पानी खोल्न र बन्द गर्न सकिन्छ।
अटोमेटीक रूपमा सहर स्मार्ट बनिरहेको छ। घरजग्गा किन्न पनि अनलाइनमै सकिन्छ नी। घरघर खोजेर कता हिँड्नु। यो पनि स्मार्ट टेक्निक हो। स्मार्ट सिटी भनेर कुनै विशेष व्यवस्था र प्रक्रिया पूरा गर्नेु पर्नेभन्दा पनि सहरका कामहरू डिजिटल प्रविधिमा जोडिनु, नागरिकको दैनीकी सहज हुनु आवस्यक छ।
आगामी २०५० सम्ममा विश्वका ६० प्रतिशतभन्दा बढी जनसंख्या सहरी क्षेत्रमा बस्ने आकलन छ। त्यो समयसम्म सबै सहरलाई स्मार्ट र व्यवस्थित बनाउनुपर्ने दायित्व सबै देशलाई छ। सहरको अर्थतन्त्र र नागरिकको जीवनस्तरमा सुधार ‘स्मार्ट सिटी’ को लक्ष्य हो। स्मार्ट सिटी बनाउन सबभन्दा पहिले सहरका प्रमुख समस्या पहिचान गरिन्छ।
‘स्मार्ट सिटी’ को प्रमुख आधार भनेकै सूचना, सञ्चार र प्रविधि हुन्। विज्ञ भन्छन्, ‘यी प्रमुख तत्वको उचित प्रयोग गरेर सहरलाई सुविधासम्पन्न बनाउनु ‘स्मार्ट सिटी’ को प्रमुख अवधारणा हो।’ सूचना, सञ्चार र प्रविधिको अधिकतम प्रयोग गरेर सहरको अर्थव्यवस्था, वातावरण, यातायात र प्रशासन चुस्तदुरुस्त नबनाइँदासम्म कुनै सहर ‘स्मार्ट’ बन्दैन। त्यसैले जहाँ स्माट सिटी बनाइन्छ त्यहाँ यो अवधारणा लागू गर्नै पर्छ।
‘स्मार्ट सिटी’ का लागि चौबीसै घण्टा खानेपानी, बिजुली, ढल निकास, सार्वजनिक यातायात सञ्जाल, प्रशस्त बाल तथा वृद्धमैत्री खुला क्षेत्र र संरचना अनिवार्य हुन्छ। जुन कुरा विश्वका स्मार्ट सहरले लागू गरेका न्यूनतम कुरा हुन्। ‘स्मार्ट सिटी’ लाई सहरका हरेक नागरिकको जीवनस्तर पहिलेभन्दा माथि उठाउने अवधारणा मानिने भएकाले यसको योजना बनाउँदा धेरै बिचार पुर्याउन जरुरी छ।