खोलिँदै अबरुद्ध सुनकोसी–मरिण डाइभर्सनको सुरुङ
कुसुमटार (सिन्धुली) : सुरुङ खन्ने क्रममा पहिरो खसेर अटोमेटिक टनेल बोरिङ (टिबिएम) मेसिनलाई थिचेपछि अवरुद्ध सुनकोसी–मरिण डाइभर्सनको सुरुङ खन्ने कार्य पुनः सुरु भएको छ।
टनेलको दायाँबायाँ र माथिबाट झरेको पाउडर जस्तो ‘फिलाइट’ माटोलाई बाइपासमार्फत केमिकलको समेत प्रयोग गरी हटाइएपछि सुरुङ खन्ने कार्य सुरु भएको हो।
सुनकोसी–मरिण डाइभर्सन आयोजनाका निर्देशक मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट खसेको पहिरोलाई बाइपास सुरुङ निर्माण गरी घर्षण बल कम गराई रोकिएको स्थानबाट क्राउन क्याभिटीमा केमिकल ग्राउटिङ गरी टीबीएम मेसिनलाई अड्किएको ठाउँबाट नियमित रूपमा पुनः सञ्चालनमा ल्याइएको हो।
राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनको १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने क्रममा चुरे रेन्ज कटेर महाभारत क्षेत्रमा प्रवेश गर्न २ सय ३३ मिटर बाँकी रहँदा टनेलमा दोस्रोपटक पहिरो खसेर काम रोकिएको थियो।
डाइभर्सन निर्माण कम्पनी कोभेक, परामर्शदाता सिमेक अस्ट्रेलिया र जेभि पाटनरका विशेषज्ञहरू, टिबिएम निर्माता कम्पनी रोबिन्स र टनेल प्राविधिक टोलीले थप पहिरो खस्ने क्रम रोक्नको लागि टीबीएमको कटर हेटको माथि सिर्जना भएको क्याभिटी भर्नको लागि रासायनिक इजेक्सन, सतहमा हुने घर्षणलाई हटाउन टेलिस्कोपिक शिल्ड र ग्रिपर शिल्डमा लुब्रिकेटिङ आयल प्रयोग गरिए तापनि टीबीएम मेसिन संचालन हुन सकेको थिएन।
‘तर, झन्डै चार साताको प्रयासपछि बाइपास निर्माण गरी फिलाइट माटोलाई बाहिर निकालिएपछि मेसिन नियमित सुचारु भएको हो’, बरालले भने। यसअघि २ दशमलव १५६ किलोमिटर सुरुङ खन्दा लेदोसहितको पहिरो खस्दा गत पुस महिनाको २१ देखि ३० गतेसम्म ९ दिन काम रोकिएको थियो।
सुनकोसी–मरिण डाइभर्सनको हालसम्म ४ हजार ६ सय ६९ मिटर सुरुङ खनिएको छ। कमलामाई नगरपालिका २ कुसुमटारबाट खन्न सुरु गरिएको सुरुङमार्गमा पहिरो खसेर अबरुद्ध भएपछि गत चैत्र २७ गतेदेखि बाइपास निर्माण थालिएको थियो। आयोजनाको करिब पाँच किलोमिटर सुरुङ खनिसकिएपछि भने अबरोध कम हुने आकलन गरिएको छ।
बरालले भने, ‘अब दुई सय ३३ मिटर सुरुङ खन्दा चुरेक्षेत्र कटेर महाभारत रेन्जमा पुगिन्छ। यसपछि भने समस्या कम हुन्छ भन्ने अपेक्षा छ।’ डाइभर्सन निर्माणका लागि सुरुङ खन्ने कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक)ले ठेक्का पाएको थियो।
गत असोज २८ गतेबाट टीबीएम मेसिनद्वारा सुरुङ खन्ने कार्य सुरु गरिएको थियो। उक्त मेसिनद्वारा दैनिक २५ मिटरदेखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो।