बन्यो हाइकुराम झुपडी
काभ्रे : काभ्रेको बनेपामा अक्षरधाममा निर्माण भएको हाइकुराम झुपडीको उद्घाटन भएको छ। उद्घाटन कार्यक्रममा नेपाल हाइकु केन्द्र (नेहाके)का अध्यक्ष प्रा. रामकुमार पाँडेको अंग्रेजी हाइकु संग्रह ‘हाइकु बड’ डा. यादव ढुंगानाको ‘नेपाली सुनौलो शिर’ र चन्द्रकला शाहको ‘कोसेली’को विमोचन गरेका छन्।
१२ वर्षअघि परिकल्पना र निर्माण प्रारम्भ गरेर सञ्चालनमा ल्याइएको अक्षरधाम विकासमा कृयाशील दुई संस्थामध्ये शब्दसाधकका अध्यक्ष हरि मन्जुश्रीले पत्रकारिता तथा साहित्यिक अनुभवबाटै गतिलो साहित्यिक गन्तव्यस्थल निर्माण गर्ने प्रेरणा प्राप्त भएकाले उक्त क्षेत्रलाई विकास र विस्तार गर्न निरन्तर लागेको बताए।
निलकण्ठेश्वर धाम संरक्षण समितिका अध्यक्ष कृष्णमणि कुइँकेलले साहित्यक अध्ययन तथा अनुसन्धानसहित सिर्जनात्मक साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गरिएको अक्षरधाममा नेहाकेले हाइकु अध्ययन, अनुसन्धान तथा साधना स्थलका रूपमा सो क्षेत्रलाई थप विस्तार गर्ने उद्देश्यले सहकार्य सुरु गरेको जानकारी दिए। पाँडेले अन्तर्राष्ट्रिय कविताका रूपमा परिचित हाइकुलाई संस्थागत विकास गर्ने क्रममा उचित ठाउँ र परिवेश पाएको बताए।
उनले भने, ‘यसमा गर्व लागेको छ। भविष्यमा नयाँ साहित्यिक पुस्ताका लागि एउटा तिर्थस्थलका रूपमा हस्तान्तरण गर्न लायक ठाउँ बनाउने प्रयास जारी छ।’ उनले नेहाकेका तर्फबाट कार्यक्रम स्थलमा संकलित एक लाख रुपैयाँ हस्तान्तरण गरे। ढुंगानाले विमोचित पुस्तकबारे जानकारी गराउँदै साधना र प्रकृतिको घनिष्ठ सम्बन्ध रहेकोमा जोड दिए।
डा. बमबहादुर थापा जितालीले सरकारको मुख ताक्नुभन्दा आफैं क्रियाशील हुनसके चाँडै विकास हुने धारणा व्यक्त गरे।