सुर्खेतमा जेष्ठ नागरिकको राष्ट्रिय सम्मेलन हुँदै
वीरेन्द्रनगर : राष्ट्रिय ज्येष्ठ नागरिक महासंघको राष्ट्रिय अधिवेशन भोलिदेखि कर्णालीको राजधानी वीरेन्द्रनगरमा हुने भएको छ।
अधिवेशनमा सहभागी हुन देशैभरबाट झन्डै चार सयभन्दा बढी प्रतिनिधिहरू सुर्खेत आउने क्रम जारी रहेको आयोजकले जनाएको छ।
जेष्ठ नागरिकहरूका लागि सरकारले विभिन्न कार्यक्रमहरूको आयोजना सञ्चालन गरेपनि प्रभावकारी भने हुन सकेको छैन। ज्येष्ठ नागरिकमैत्री सरकारी सेवा नभएको भन्दै उनीहरूले असन्तुष्टि जनाउँदै आएका छन्।
उनीहरूले यातायात सेवामा, स्वास्थ्य सेवामा दिइने सहुलियत सहितको सुविधा उपलब्ध गराउन माग पनि गरेका छन्।
'यातायात सेवामा छुट पाइँदैन, अस्पतालमा सेवा लिन जाँदा अपमानित हुने गरेका छौँ। महासंघका केन्द्रीय अध्यक्ष छत्रबहादुर प्रधानले भने, हाम्रा सवालहरूमा सरकारले चासो देखाएको छैन।'
ज्येष्ठ नागरिकले सरकारले दिने भनेका सेवा सुविधाहरू सहज गराउनुपर्ने उनको भनाइ छ। उनले ज्येष्ठ नागरिकहरू ज्ञान, सीप, अनुभवलाई राज्यले सदुपयोग गर्न नसकेको आरोप लगाउँदै उनले सामाजिक, आर्थिक, स्वास्थ्य, सुरक्षालगायत राज्यबाट प्राप्त हुनुपर्ने न्यूनतम सेवा सुविधा सहज ढंगले पाउन नसकेको बताए।
अहिलेका ऐन, कानुन, नीति नियम समयानुकूल नभएको र भएका नीति नियम पनि कार्यान्वयन नभएको उनले बताए। सोमबार र मंगलबार सुर्खेतमा हुने राष्ट्रिय सम्मेलनमा जेष्ठ नागरिकका सवाल र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल हुने छ।