मुहार फेर्ने माथिल्लो मर्स्याङ्दी ‘ए’
गाउँपालिका केन्द्र भुलभुले पुग्न मर्स्याङ्दी नदीमा बेलिब्रिज हालिएको छ। बेलिब्रिज तर्नासाथ सुरुङ मार्ग हुँदै गाउँपालिका पुग्न सकिन्छ।
मोटरबाटोले नछोएको तत्कालीन भुलभुले गाविस रहेको स्थानमा अहिले गाउँपालिका केन्द्र छ। गाउँपालिका केन्द्र रहेको भुलभुलेका सबै गाउँमा अहिले मोटरबाटोको सञ्जाल पुगेको छ।
स्थानीय तह बनी नसक्दा तत्कालीन भुलभुले गाविसमा मोटरबाटोको सञ्जाल थिएन। मर्स्याङ्दी नदी बारी बेंसीसहर–चामे सडक छ। पारिपट्टी भुलभुले गाउँ। अहिले यो क्षेत्र गुल्जार बनेको छ। सडकको सञ्जालसँग जोडिन मर्स्याङ्दी नदीमा बनेको बेलिब्रिज पुल र त्योसँगै बनेको सुरुङ मार्ग प्रमुख हुन्।
भुलभुलेदेखि ङादीसम्म ५ किलोमिटर लामो सडक निर्माण भएपछि बजार विस्तार भएको छ। सडक सञ्जालले आवातजावत सहज बनाएको छ, स्थानीय उत्पादनले बजार पाएको छ। दुर्गम गाउँहरू भुष्मे, छिनखोला, लुदीसम्म सडक पहुँच पुगेको छ।
यी सबै क्षेत्रको विकास यति छिट्टै गर्न राज्यको खर्चमा मात्र सम्भव थिएन्। विकास नै भए पनि सरकारको लगानीमा मात्र गर्दा धेरै ढिला हुन्थ्यो। सन् २०१३ मा मर्स्याङ्दी नदीमा ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत् आयोजना निर्माण सुरु भएपछि यस क्षेत्रको विकासले तीव्र गति लियो।
‘यहाँ जलविद्युत् आयोजना नआएको भए हाम्रो क्षेत्र विकासले धेरैपछि पथ्र्यो’, मर्स्याङ्दी–७ उस्ता निवासी संविधानसभा सदस्य जमिन्द्रमान घलेले भने, ‘जलविद्युत् आयोजना निर्माण भएपछि गाउँ–गाउँमा मोटरबाटो पुग्यो, मर्स्याङ्दी नदीमा बेलिब्रिज पुल बन्यो, पहरा फोरेर सुरुङ मार्ग बन्यो। विद्यालय, सामुदायिक भवन, पाटीपौवा धेरै बने।’
घलेका अनुसार माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनाले सामाजिक उत्तरदायित्वअन्तर्गत बाटो, सामुदायिक भवन, विद्यालय आदि क्षेत्रमा सहयोग गरेको हो। भौतिक विकास मात्र नभएर यहाँका नागरीकले सीप अनुसारको रोजगारी पनि पाए।
आयोजनाको संरचना बन्ने स्थानका जग्गाधनीले राम्रो मुअब्जा पनि पाए। ‘एउटा आयोजना बन्दा राष्ट्रिय रूपमा विद्युत् उत्पादनबाट आम्दानी भयो भने स्थानीय रूपमा विकास निर्माण र रोजगारी सिर्जना भयो’, घलेले भने।
माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजनाले स्थानीयले प्रयोग गर्न मिल्ने गरी ३ सय ४० मिटर लामो सुरुङ मार्ग बनाइदिएको छ। सुरुङ मार्गले स्थानीयलाई आवतजावत गर्न मात्र हैन, पर्यटन प्रबद्र्धनमा समेत टेवा पुगेको छ।
‘यो नेपालकै पहिलो सुरुङ मार्ग हो। अन्नपूर्ण पदमार्ग घुम्न आएका आन्तरिक पर्यटकहरूलाई यसले आकर्षण थपेको छ’, मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले भने, ‘आयोजना नभएको भए यस्तो सुरुङ खनेर सडक बनाउन सम्भव नै हुने थिएन। सडक सञ्चालन र पर्यटक भुलाउन सुरुङ मार्ग काम लागेको छ।’
सन् २०१३ को जनवरीमा निर्माण सुरु गरिएको माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाले २०१७ जनवरीबाट व्यावसायिक विद्युत् उत्पादन थालेको थियो। चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनीको ९० र नेपालको चितवन कोइ समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत लगानी रहेको उक्त आयोजना १६ अर्ब रुपैयाँमा निर्माण गरिएको थियो। सो आयोजनाबाट अहिले नियमिति विद्युत् उत्पादन भई राष्ट्रिय प्रसारणमा जोडिएको छ।
आयोजना निर्माण हुँदा यहाँ सयौंले रोजगारी पाए। स्थानीय उत्पादित वस्तुले बजार पाए। आयोजनाले निर्माणको चरणमा मात्र हैन अहिले पनि सामाजिक क्षेत्रमा काम गरिरहेको छ। ‘अरू आयोजनाले निर्माणको काम सकिएपछि विकास निर्माणको काममा सहयोग गरेको पाएका छैनौं’, माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत आयोजना सरोकार तथा समन्वय समितिका अध्यक्ष नन्दराज तामाङले भने, ‘यो आयोजनाले अहिले पनि स्थानीय स्तरको विकास निर्माणमा सहयोग गरिरहेको छ।’
तामाङका अनुसार आयोजनाले सरोकार समितिमार्फत प्रभावित क्षेत्रको विकास निर्माणका लागि वार्षिक ३० लाख रुपैयाँ खर्च गर्दै आएको छ। सरोकार समितिको प्रशासनिक खर्चका लागि वार्षिक १२ लाख रुपैयाँ पनि दिने गरेको छ। ‘वार्षिक रूपमा आउने १२ लाख प्रशासनिक खर्चमध्ये आधा रकम विकास निर्माणकै काममा खर्च गर्ने गरेका छौं’, तामाङले भने, ‘गाउँठाउँमा सडक निर्माण, विद्यालय, सामुदायिक भवन आदिमा यस्तो रकम काम लाग्ने गरेको छ।’
माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीका अनुसार आयोजनाले पर्यावरण संरक्षण, मर्स्याङ्दी नदीको कटान नियन्त्रण, सडक सञ्जाल निर्माणलगायतका काम गरिरहेको छ। ‘गत वर्ष मर्स्याङ्दी नदीमा आएको बाढीले हाइड्रोपावरको संरचनासँगै सडकका धेरै भागहरू कटान गर्यो। अहिले करोडौं खर्च गरेर ती संरचनाको मर्मत गरिरहेका छौं’, अधिकारीले भने, ‘आयोजना यस क्षेत्रको विकासको साँझेदारका रूपमा रहँदै आएको छ।’
मर्स्याङ्दी नदीमा बनेको एउटा जलविद्युत आयोजनाबाट उत्पादित विद्युत्ले राष्ट्रिय पुँजीको विकास मात्र भएको छैन, स्थानीय रुपमा आर्थिक र विकासको सम्वृद्धी पनि भएको छ। माथिल्लो मर्स्याङ्दी–ए जलविद्युत आयोजना सरोकार समितिका पूर्वअध्यक्ष जितबहादुर गुरुङले आयोजना निर्माणले मर्स्याङ्दी गाउँपालिकाको विकासमा टेवा पुगेको बताए। ‘यस्ता आयोजना धेरै बनाउन सके राष्ट्रिय पूँजीको विकास गर्न सकिन्छ ’, उनले भने।
सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका दोभासे दयाराम दाहालका अनुसार आयोजनाबाट उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको दमौली प्रसारणलाइनमा जोडिएको छ। आयोजनाले सुक्खायाममा अर्थात पुसदेखि चैतसम्ममा ५ करोड ७० लाख युनिट र वर्षायाममा २६ करोड ६ लाख युनिट गरी एक वर्षमा कुल ३१ करोड ७६ लाख युनिट बिजुली उत्पादन गर्नेछ।
५.२ किलोमिटर सुरुङबाट रन अफ रिभर प्रविधिमा बनेको यो आयोजनाले २० किलोमिटर लामो १ सय २५ केभी प्रसारण लाइन आफै निर्माण गरेको थियो। करिब २५ करोड रुपैयाँ लागतमा प्राधिकरणले प्रसारण लाइन निर्माणका लागि जग्गा उपलब्ध गराउने र अन्य लजिस्टिक प्रबन्ध सिनो हाइड्रोपावर कम्पनीले गरेको थियो।
सिनो हाइड्रो सगरमाथा पावर कम्पनीले प्रसारण लाइन बनाउन तयार नभएको भए २०७२ को अन्तसम्म व्यापारिक उत्पादन गर्न लागेको माथिल्लो मस्र्याङदी ए को विद्युत् खेर जाने थियो।
त्यसबापत प्राधिकरणले सिनो हाइड्रो सगरमाथा कम्पनीलाई मासिक करिब १५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने थियो। तर, सिनो हाइड्रो सगरमाथा प्रसारण लाइन बनाउन तयार भएपछि प्राधिकरण क्षतिपूति तिर्नबाट जोगियो र आयोजनाबाट उत्पादन हुने विद्युत खेर जानबाट जोगियो।
अहिले मर्स्याङ्दी गाउँपालिकामा ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी–ए, ३० मेगावाटको ङादी जलविद्युत, ५ मेगावाटको सिउरी, ४ दशमलव ४ मेगावाटको राँधी, ३ दशमलव ४ मेगावाटको खुदी र १ मेगावाटको स्याँगे जलविद्युत आयोजनाबाट विद्युत् उत्पादन हुँदै आएको छ।
यहाँ नै २६ मेगावाटको अपर खुदी, ङादीखोला, ह्याङ्दीखोला लगायतमा नयाँ जलविद्युत आयोजना निर्माण भैरहेका छन्। यी आयोजनाहरूले गर्ने सामाजिक उत्तरदायित्वको कामले गाउँठाउँको विकासमा टेवा पुग्दै आएको छ।