राजधानीको सेतु सडक
मुग्लिनबाट नागढुंगासम्म आउँदा पृथ्वी राजमार्गमा एउटा गजबको भिन्नता पाइन्छ। देब्रे छेउ (लेन) केही थिचिएको/दबिएको देखिन्छ, दायाँपट्टिको भाग केही उठेको छ।
यो तस्बिरले देशको अर्थतन्त्रको यथार्थ चित्रण गर्दछ। देशकै धेरै जनसंख्या बस्ने सहर, सबैभन्दा धेरै वस्तु खपत गर्ने सहर काठमाडौं भित्रिने सवारी (मालवाहक ट्रक आदि) सामान टन्न बोकेर भित्रिन्छन् र बाहिरिँदा रित्तै बाहिरिन्छन् भन्ने प्रमाण हो यो।
अर्थतन्त्रको यथार्थ चित्रण पनि यही तथ्यले गर्छ। यही बाटो हुँदै आधाभन्दा बढी मान्छे राजधानी भित्रिन्छन्/बाहिरिन्छन्। दोस्रो ठूलो सहर पोखरा जाने सडकयात्रा पनि यही खण्ड हुँदै गुज्रन्छ। यसर्थ पनि यो सडकको महत्त्व ठूलो छ।
तर, वर्षौंदेखि आम नागरिकले सास्ती भोग्ने क्रम अहिले पनि टुंगिएको छैन। राजधानी पुग्नै लाग्दा घण्टौं जाममा बस्नुपर्ने बाध्यता अझै अन्त्य भएको छैन। नारायणघाटदेखि मुग्लिनसम्मको खण्ड निर्माण सम्पन्न भइसकेको छ। तर, मुग्लिनदेखि राजधानीको मुख्य नाकासम्मको बाटोको हविगत भने उस्तै छ। साँघुरो बाटो, खाल्डाखुल्डीले आम नागरिक आजित छन्। अहिले भने बल्ल यो खण्डको काम अघि बढेको छ।
३० वर्षपछि यो सडकको स्तरोन्नति गर्न लागिएको हो। सन् १९७४ मा चीनले बनाइदिएको यो सडकको सुधार कार्य १९९३ मा भएयता सुधार वा विस्तार हुन सकेको छैन। यो सडक भएर दैनिक १० हजारभन्दा बढी सवारी साधनहरूओहोरदोहोर गर्छन्। यो सडकले संघीय राजधानी काठमाडौंसँग देशका ६८ जिल्लालाई स्थलमार्गमार्फत जोड्छ।
व्यापारिक तथा राष्ट्रिय महत्त्वको सडकका रूपमा रहेको काठमाडौं उपत्यका छिर्ने मुख्य सडकलाई एसियाली स्ट्यान्डर्डअनुसार विकास गर्न स्तरोन्नतिको काम सुरु गरिएको हो।
मुग्लिन नागढुंगा कुल ९५ किलोमिटर सडकखण्ड विस्तारको काम तीन वटा प्याकेज बनाएर अघि बढेको हो। जसमध्ये नागढुंगा सुरुङदेखि नौबिसेसम्मको १२ किलोमिटर सडकलाई पहिलो प्याकेज बनाएर विस्तारको काम अगाडि बढेको १० महिना भएको छ। बाँकी १४ महिनामा सक्नुपर्ने कामको प्रगति १० प्रतिशतमात्र छ। विस्तार कार्य सगुन कन्स्ट्रक्सनले १ अर्ब ३१ करोड ८४ लाख रुपैयाँ खर्चेर सम्पन्न गर्नेछ।
सडकको बजार क्षेत्रमा चार लेन तथा अन्य ठाउँमा तीन लेनको बनाइनेछ। यस्तै कठिन भूगोल र पहिरोको उच्च जोखिम भएका ठाउँमा डेडिकेडेट दुई लेन बनाउने गरी निर्माण अघि बढेको छ।
मालबाहक सवारीलाई ठाडो उकालोमा सहजता होस् भनेर एउटा थप डेडिकेटेड लेन विस्तार गर्न लागिएको छ। साथै सर्भिस लेनसमेत निर्माण गरिनेछ, जसबाट सर्वसाधारणलाई साधनहरू आवतजावत गर्न सजिलो हुनेछ।
सडक ९ मिटरदेखि ३० मिटर चौडा हुनेछ। खानीखोला बजारमा ४ सय ६० मिटर लम्बाइ २१ मिटर चौडा र गल्छी बैरेनीमा ३ सय ७० मिटर लम्बाइ २१ मिटर चौडा हुनेछ। यसैगरी धार्के बजारमा ४ सय २० मिटर, महादेवबेसीमा ३ सय ५० मिटर सिम्लेमा २ सय ७० मिटर, गजुरीमा ७ सय ३० मिटर र मलेखुमा २ सय १० मिटर सडक ३० मिटर चौडा हुनेछ। ३० मिटर चौडाइ हुने स्थानमा दुई सभिर्स लेनसमेत हुनेछ।
काठमाडौं–नौबिसे–मलेखु खण्डको क्षमता बढाउने, मालवाहक सवारीसाधनको आवागमनमा सहजता ल्याउने, यातायातका खर्च र समय घटाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने र बजार क्षेत्रलाई व्यवस्थित गर्ने लक्ष्यसहित सडक सुधार तथा विस्तारको काम अघि बढाइएको हो।
सडक विस्तार कार्यमा सबैभन्दा चुनौतीको विषय हुन्, विद्युत्, खानेपानी र रूख कटान आदि।
यो खण्डमा भित्ता काट्ने, रिटेनिङ वाल लगाउने, नालीका लागि पूर्वतयारीका कामहरू गरिरहेको छ। यस खण्डमा पर्ने दुई स्थानको पुलमध्ये एकको काम थालिएको छ।
सडकखण्डको दोस्रो प्याकेज (नौबिसे–मलेखु) को काम शर्मा लामा जेडआईसीजीले पाएको छ। ४३ किलामिटर लामो यो प्याकेजको काम ५ अर्ब ३३ करोड रुपैयाँ खर्चेर २०८२ जेठमा सकिनेछ। यो खण्डमा कुल तीन स्थानमा पुल निर्माण हुन्छन्।
तेस्रो प्याकेज अर्थात् मलेखुदेखि मुग्लिनसम्मको सडक विस्तारको काम भने सर्भे चरणमै छ। ४० किलोमिटर लामो यो खण्डको निर्माणको जिम्मा शर्मा जेडआईसीजीले पाएको छ। कुल ४ अर्ब ८० करोड रुपैयाँ खर्चेर यो खण्डको काम २०८२ जेठमा सकिनेछ।
यो खण्डमा ६ स्थानमा नयाँ पुलहरू निर्माण गर्नुपर्ने तथा दुई वटा मर्मत गर्नु पर्नेछ। यो खण्डमा कुल २१ वटा नयाँ पुलहरू बन्नेछन्। मुग्लिन नागढुंगा सडकखण्डमा १ सय २० भन्दा धेरै घर टहरा भत्काउनु पर्नेछ।