केपी ओलीको प्रश्न- प्रचण्डजी सबैतिर चलिसक्यो, तपाइँको हलमा कहिले चल्छ फिल्म?
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो फिल्म देखाउन आग्रह गरेका छन्। युवा संघको कार्यक्रममा उनले प्रधानमन्त्रीलाई हलमा किन ताला लगेको भन्दै प्रश्न गरे।
प्रधानमन्त्रीले नक्कली भुटानी शरणार्थी प्रकरणमा यो ट्रेलर मात्र रहेको र फिल्म आउन बाँकी नै रहेको बताएका थिए। त्यसैको जवाफमा ओलीले आफूहरू फिल्म हेर्न आतुर रहेको बताए।
'म प्रचण्डजीलाई सोध्न चाहन्छु, तपाईँको सिनेमा हलमा कहिलेदेखि लाग्छ फिल्म? अन्त त धुमधामले भइसक्यो त। सबैतिर सिनेमा चल्याछ तपाइँको हलमा कहिले चल्छ हामी हेर्न चाहन्छौं,' उनले भेन।
सञ्चारमाध्यममा फिल्म सुरु भइसकेको भन्दै ओलीले ट्रेलरमात्रै किन भन्दै प्रचण्डलाई प्रश्न गरे। 'सधैं ट्रेलरमात्रै किन प्रचण्डजी। सिनेमा चलाउनुस् न तपाइँको हलमा। हल किन रित्तै। किन ताला लागेको छ,' उनले भने।
उनले केही बेरपछि बस्ने संवैधानिक परिषद्को बैठक पनि फिल्म कहिलेदेखि सुरु हुन्छ भनेर सोध्ने बताए।
उनले प्रधानमन्त्री प्रचण्डले आफूले दबाब दिएको आश्य व्यक्त गरेको भन्दै कडा आलोचना गरे। उनले आफूसँग भेट भएको केही समयमै उनले दबाबको सामना गर्नुपरेको बताएको भन्दै कसले दबाब दिएको सार्वजनिक गर्न माग गरे।
'म पूर्वतिर हुँदा उहाँले भेट्ने मनासाय गर्नुभयो। हामीबीच दुई घन्टा छलफल भएको पनि हो। भेटमा मैले निर्दोषलाई फसकाउने काम नहोस्। दोषी कोही उम्किन नपाओस् भनेको हुँ। अनि मैले दबाब दिएँ भनेर भन्ने? मैले दोषी उम्काउन वा छोड्न दबाब दिएँजस्तो गरी भन्नुभयो,' ओलीले भने। उनले भ्रष्टाचारलाई एमालेले टोलरेट नगर्ने प्रस्ट पारे।