प्रदेश सरकारको आगामी बजेट परिणाममुखी हुनेछ : मुख्यमन्त्री कार्की

प्रदेश सरकारको आगामी बजेट परिणाममुखी हुनेछ : मुख्यमन्त्री कार्की
सुन्नुहोस्

विराटनगर : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारको आगामी बजेट परिणामुखी हुने बताएका छन्। 

उनले व्यवस्थापनको पाटो हेरेर प्रदेशलाई मजवुत बनाउने खालको परिणममुखी बजेट ल्याउने तयारीमा सरकार जुटेको जानकारी दिए। पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराटनगरमा सोमबार आयोजना गरेको आर्थिक वर्ष २०७९/०८० को दोस्रो तथा तेस्रो त्रैमासिक प्रगति समीक्षा एवं आगामी आर्थिक वर्ष २०८०/०८१ को योजना तर्जुमा गोष्ठीलाई सम्बोधन गर्दै कार्कीले आफू 
नेतृत्वको प्रदेश सरकारले पहिलोपटक ल्याउन लागेको आगामी बजेटका बारेमा बोलेका हुन्। 

प्रदेशभित्र राजस्व संकलनको अवस्था, वित्तीय अनुशासनको पालना, आर्थिक अराजकताको अन्त्य, सरोकारवालाको सुझाव, प्रशासनिक खर्चमा मित्तव्ययिता, बहुवर्षीय आयोजनामा भएको प्रगति, नयाँ योजना छनोट, रोजगारीको सिर्जना, जनताको आवश्यकतालगायतलाई ध्यानमा राखेर आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट ल्याइने जानकारी उनले दिए।

‘परिणाम दिने हिसाबको बजेट ल्याउने तयारीमा सरकार जुटेको छ। सम्भव नहुने र ‘रिजल्ट’ नदिने खालका कार्यक्रमलाई बजेटमा समेटिने छैन,’ मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशलाई सकारात्मक दिशामा हिँडाउने नीति तथा कार्यक्रम चाहिएको छ। यसका लागि सबै सरोकारवालाको सुझाव आवश्यक पर्‍यो।’ 

रोजगारीको सिर्जनालाई प्राथमिकतामा राखेर ल्याइने बजेटले वन एवं वातावरणका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने पनि उनको भनाइ छ। 

उनका अनुसार ठुल्ठूला नयाँ आयोजनभन्दा पनि मझौला प्रकृतिका आयोजनालाई बजेटमा समेट्ने तयारी छ। ‘राजस्व कसरी बढाउन सकिन्छभन्ने विषयको अध्ययन हुने छ। बजेटमा ठूला आयोजना समेटिने छैन,’ उनले भने, ‘यसपटक मझौला प्रकृतिका आयोजना सरकारको प्राथमिकतामा पर्ने छ। नीति तथा कार्यक्रम जनताले अनुभूति गर्ने खालको हुने छ।’

बजेटको आकार २० प्रतिशत घट्ने संकेत गर्दै मुख्यमन्त्री कार्कीले आगामी वर्ष ठूलो बजेट खर्च गर्नसक्ने अवस्था नभएको जानकारी दिए। राजस्वको सम्भावित स्रोत पहिल्याउँदै प्रदेश सरकारले आन्तरिक राजस्व बढाउन नसकेमा त्यो अवस्था झन् बढेर जाने उनको भनाइ छ। 
‘राजस्व संकलनको निराशाजनक अवस्थालाई हेर्दा आगामी बजेटबाट ठूला खालका नयाँ र महत्वकांक्षी आयोजना सञ्चालन सम्भव छैन,’ उनले भने, ‘यसअघिका बहुवर्षीय आयोजनालाई पनि सम्बोधन गर्दै वित्तीय अनुशासन केन्द्रित बजेट ल्याउनुपर्ने छ।’ 

धेरै कुरामा हात हाल्नेभन्दा पनि व्यवस्थापनको पाटोलाई मजवुत बनाएर प्रदेश सरकारको औचित्य पुष्टि हुने बजेटमा ध्यान केन्द्रित गरिएको कार्कीको भनाइ छ। ‘एकैपटक धेरै कुरामा हात हाल्नेभन्दा पनि सीमित कुरालाई ध्यान दिएर सफल हुनु राम्रो,’ उनले भने, ‘त्यही भएकाले सक्ने कुरा मात्रै समेट्दा ‘रिजल्ट’ राम्रो आएर प्रदेश मजवुत बन्छ।’ 

बजेट ल्याउनुपूर्व सरोकारवालासँग गरिने छलफल अर्थपूर्ण र निस्कर्षसहितको हुने भन्दै कार्कीले पर्यटन, वन तथा वातावरणको क्षेत्र भने बजेटको प्राथमिकतामा पर्ने बताए। वन एवं वातावरण क्षेत्रका विज्ञबाट प्राप्त सुझावका आधारमा जडिबुटी खेतीमा प्रोत्साहन, रोजगारीको सिर्जना एवं वन, जलाधार र पर्यटन क्षेत्रको विकासलाई समेट्ने खालको बजेट ल्याइने उनको भनाइ छ। 

मुलुकको पछिल्लो वित्तीय अवस्थाले राम्रो संकेत नगरेको भन्दै मुख्यमन्त्री कार्कीले प्रदेशको आगामी राजस्व संकलनलाई कोशे ढुंगा सावित गर्न प्रदेश सरकारले संयोजनकारी भूमिका खेल्ने बताए। पछिल्लो समय प्रदेशका बारेमा सकारात्मकभन्दा पनि नकारात्मक, बनिबनाउ र प्रायोजित टिप्पणी धेरै भइरहेको बताउँदै उनले सकारात्मक सन्देश प्रवाह हुने खालको बजेट ल्याउन आवश्यक देखिएको उल्लेख गरे। 

‘विगत दशौं वर्षमा नभएका विकास निर्माणका काम प्रदेश सरकार बनेपछि ५ वर्षमा भएका छन्। पूर्वाधार निर्माणमा प्रदेशले फड्को मारेको छ,’ उनले भने, ‘तर, प्रदेशका बारेमा नकारात्मक हल्ला बढी चलाइयो। यद्यपि, हामी जहाँ छौँ, त्यहीँबाट सुधार गर्न चाहन्छौँ।’ प्रदेशमा धेरै कार्यवोझ भएको पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कर्मचारी पदपूर्तिका लागि लोकसेवा आयोगसँग समन्वय गरिने कार्कीले बताए। ‘धेरै कार्यवोझ बोकेको यो मन्त्रालयमा ५० प्रतिशत मात्रै कर्मचारी छन्,’ उनले भने, ‘आगामी ६ महिनाभित्रमा पदपूर्ति गर्ने गरी लोकसेवासँग समन्वय गरिने छ।’ 

कोसी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्यले अब २० वर्षअघिका जस्ता बजेट बनाएर नहुने बताए। ‘आगामी बजेटले प्रदेशको औचित्य पुष्टि गर्न सक्नुपर्छ। प्रदेश सरकारसँग जनताका आशा धेरै छन्,’ उनले भने, ‘धेरै छलफल भएर नीति तथा कार्यक्रम ल्याउनुपर्छ। प्रदेशमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन मद्धत पुग्ने खालको बजेट आउनुपर्छ।’ 

मन्त्री आचार्यले कोसी प्रदेशलाई समृद्ध बनाउन पर्यटन क्षेत्रको प्रवर्द्धन आवश्यक देखिएको पनि बताए। ‘पर्यटकलाई आकर्षण गर्ने खालका कार्यक्रमहरू ल्याउनुपर्छ। उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्नुपर्छ,’ उनी भन्छन्, ‘सुरक्षा चेकजाँचका नाममा नेपाल आउने पर्यटकलाई निरुत्साहित गर्ने र हतोत्साही बनाउने काम भइरहेको पनि पाइयो। यस विषयमा प्रहरीले ध्यान दिनुपर्छ।’ 

पर्यटन प्रवर्द्धनकै लागि केही दिनभित्रमा विराट–बर्जु दौड प्रतियोगिताको आयोजना गरिने जानकारी उनले दिए। मन्त्री आचार्यले जनतामा सकारात्मक छाप छाड्न र प्रदेशलाई  प्रभावकारी बनाउन अब सरकारले काम गर्नुपर्ने बेला आएको पनि बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.