उच्च भूगोलमा एक्सन–कट !
दोलखा भीमेश्वर–९ डाँङडुङे डाँडामा नेपालकै पहिलो फिल्म सिटी बनाउने तयारी भइरहेको छ।
फिल्म सिटी निर्माणका सुरुमा १२/१३ अर्ब लगानी लाग्ने र चीन सरकारको सहयोगमा निर्माण कार्यअघि बढाउने भनिएको थियो। पछि सरकारले गरेको विस्तृत अध्ययनमा १ अर्ब ६ करोड ३७ लाख लगानी लाग्ने जनाइएको छ।
फिल्म सिटी आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनमा आयोजनाका वातावरणीय प्रभाव न्यूनीकरणका लागि वृक्षरोपण, संरक्षण, अनुगमनलगायतका विषयमा आयोजनाको कुल लागतको ३ दशमलव ५२ प्रतिशत खर्च गर्नुपर्ने प्रस्ताव गरिएको छ।
फिल्म सिटीका सम्पूर्ण संरचना निर्माणका लागि ७६.२५ हेक्टर जमिन आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ। प्रस्तावित जग्गामध्ये दोलखाको भीमेश्वर नगरपालिका–९ को सेतीदेवीदादर सामुदायिक बनको ६४ हेक्टर र सिन्धुपाल्चोक जिल्लाको १२ हेक्टर जमिनलाई उपयोग गर्ने उल्लेख छ।
इन्डोर र आउटडोर सुटिङका लागि यति धेरै जग्गा आवश्यक परे पनि मुख्य संरचना ९.६१ हेक्टरमा मात्र निर्माण हुने प्रतिवेदनमा उल्लेख छ। अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माणका लागि चलचित्र विकास बोर्डले परामर्शदाताका रूपमा इको इन्भोय प्रालिमार्फत यसको अध्ययन गरेको छ।
अध्ययन अनुसार यहाँ बन्ने फिल्म सिटी विश्वकै सबैभन्दा उच्च स्थानमा रहेको हुने दाबी गरिएको छ। प्रस्तावित फिल्म सिटी डाँङडुङे डाँडा २ हजार ८ सय मिटरदेखि ३ हजार ४ सय मिटरसम्मको उचाइमा रहेको छ।
उक्त क्षेत्र काठमाडौंबाट १ सय ५ किलामिटर पूर्वमा रहेको छ। त्यहाँको हावापानी अनुकुल रहेको र स्थानीयको उत्साहका कारण डाँङडुङे डाँडा नै यसका लागि उपयुक्त हुने सरोकारवालाहरूको भनाइ छ। डाँङडुङे डाँडामा ५० प्रजातिका जैविक र ६ प्रकारका गुराँस छन्।
निर्माणका लागि डाँङडुङे डाँडामा एक हजार ५ सय रोपनी जग्गासमेत व्यवस्था भइसकेको छ। डाँङडुङे डाँडालाई फिल्म सिटी बनाउनका लागि कलाकार तथा फिल्म सिटी अभियन्ता मदनदास श्रेष्ठको संयोजकत्वमा दोलखाली कलाकार समाजसेवीहरूले एक सहयोग समिति समेत बनाएका छन्।
सरकारको तर्फबाट सुरुमा आर्थिक वर्ष २०७०/०७१ मा तत्कालीन सञ्चारमन्त्री माधव पौडेलको पालामा दुई करोड रुपैयाँ छुट्ट्याइएको थियो। उक्त रकमबाट विस्तृत अध्ययनको काम भएको जनाइएको छ। सरकारले डाङडुङे डाँडामा निर्माण सुरु भएको फिल्मसिटीलाई बुट प्रणालीमार्फत अघि बढाउन चाहेको छ। यो आयोजना निक्कै ठूलो भएकाले सरकारको बजेटले मात्र सम्भव नदेखिएपछि बुट प्रणालीमार्फत काम अघि बढाइने तत्कालिन सञ्चारमन्त्री माधव पौडेलको भनाइ थियो।
निर्माण अघि नै विवाद
फिल्मसिटी निर्माणको लागि अध्ययन सुरु भएपछि केही विवादहरूसमेत देखिएका थिए। कतिपय व्यक्ति तथा निकायले डाँङडुङेडाँडा फिल्मसिटी निर्माणका लागि उपयुक्त ठाउँ नभएकोले त्यसलाई पोखरा, चितवन, रुपन्देही जस्ता ठूला सहरमा लानुपर्ने तर्क गरेका थिए। तर, तत्कालीन सञ्चारमन्त्री माधव पौडेललगायत सरकारका हरेक सञ्चारमन्त्रीले दोलखाको डाँङडुङे डाँडामै फिल्मसिटी निर्माण उपयुक्त हुने मत राखेकाले निर्माणको काम अघि बढेको हो।
सडक लगायतका काम सम्पन्न
फिल्मसिटी निर्माण हुने डाँङडुङे डाँडासम्म सडक पुगेको छ। सडकमा कालोपत्र तथा ढलानको कामसमेत अघि बढिरहेको छ। विद्युतीकरण लगायतका काम भइरहेको छ। सरकारले यसलाई राष्ट्रिय महत्वको आयोजनाका रूपमा ग्रहण गर्दै तदारुकताका साथ काम अघि बढाउने हो भने अबको केही वर्षभित्र नै फिल्मसिटी निर्माणको काम सकिने निर्माण सहयोग समितिका संयोजक वरिष्ठ कलाकार मदनदास श्रेष्ठले बताए।
फिल्मशिटी निर्माण स्थल डाँङडुङे डाँडाबाट काठमाडौंको स्वयम्भू, फुलचोकी, रोल्वालिङ हिमशृंखला, गौरीशंकर, जुगल, गणेश हिमालका साथै सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, रामेछाप तथा ओखलढुंगा जिल्लाको ६० प्रतिशत भूभाग दृश्यावलोकन गर्न सकिने
स्थानीयको भनाइ छ।
दोलखामा निर्माणाधिन चलचित्र नगरीको २०६८ सालदेखि नै अभियान सुरु भएको भए तापनि विभिन्न कारणले गर्दा बन्ने कि नबन्ने भन्ने अन्योल थियो। तर, स्थानीयको निरन्तर दबाब र सरोकारवालाको पहलले काम अघि बढेको हो।
चलचित्र विकास बोर्डले निर्माणको लागि लगानी भित्र्याउनेबारे दिल्ली मेगा फिल्म सिटीका अध्यक्षसँग पनि छलफल अघि बढाएको छ। सरकारले यसलाई प्राथमिकता दिएमा सहजै निर्माण सम्पन्न हुने फिल्मसिटी निर्माण समितिका संयोजक श्रेष्ठले बताए।