साइवर अपराध न्युनिकरणका लागि सचेतना अभियान
उदयपुर : साइवर अपराधका घटना न्युनिकरण गर्न उदयपुरको त्रियुगा नगरपालिका २ ले समुदायमा सचेतना अभियान सुरू गरेको छ । सामाजिक संजालको बढ्दो प्रयोग र दुरुपयोगले गाउँघरमा साइवर अपराधका घटना बढ्दै जान थालेपछि वडा कार्यलयले अभियान सुरू गरेको हो ।
अभियानअन्तरगत पहिलो चरणमा विज्ञहरूको सहजिकरणमा नेस्पेक उदयपुरसँगको साझेदारीमा समुदायका नेतृत्वकर्तालाई प्रशिक्षित गराएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए ।
सामाजिक सञ्जालमा जोडिएर गाउँघरमा चिठ्ठा परेको भन्दै विभिन्न प्रलोभनमा पारेर ठगीधन्दा सुरु भएको र युवायुवती समेत कुलत बाटोमा फस्न थालेपछि अभियान सुरू गरिएको उनले बताए । वडाध्यक्ष खत्रीले पछिल्लो समय वडा नम्बर २ लागुपदार्थ ओसारपसारको ट्रान्जिन्टप्वाइन्ट बन्दै गएकाले सुरक्षा सतकर्ता बढाइदिन आग्रह गरे ।
वडा सदस्य अर्जुन पोखरेलले नेतृत्वकर्तालाई प्रशिक्षित गराएसँगै वडाभित्रका विद्यालयका बालबालिका, टोलविकास संस्था, आमा, युवा, बाल समूहका सदस्यलाई प्रशिक्षित गराइने बताए । उनले टोलबासीलाई समेत साइवर अपराधका विषयमा जानकारी गराउँदै जागरुक बनाइने बताए ।
कार्यक्रमको सहजिकरण गर्दै जिल्लामा प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले इन्टरनेट प्रतिको मोह बढेसँगै त्यसलाई सहि ढंगले सदुपयोग नगर्दा अपराधका घटना बढ्दै गएको बताए ।
उनले सामाजिक संजालको दुरुपयोग गरी विभिन्न प्रलोभनमा पार्ने गिरोहरु सक्रिय भएकाले समुदाय आफै सचेत रहनु पर्ने बताए । फुयाँलले भने, ‘कोहि कसैले चिठ्ठा, उपहार परो भन्दै कसैले व्यक्तिग वितरण माग्ने,त्ययवापत यति रकम खर्च गर्नु पर्ने भन्दै मागरे ठगि गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता कुराको विश्वास नगर्नुस ।'
त्यस्तै जिल्ला ट्राफिक कार्यालयका प्रमुख लोकबहादुर दियालीले सवारीसाधनमार्फत् लागुऔषध ओसारपसार गर्ने, अपराधिक क्रियाकलाप गर्ने जस्ता घटना हुने गरेकाले सजकता अपनाउन अपिल गरे । साथै उनले धेरैजसो सवारी दुर्घटना लापरवाही हुने गरेकाले आफ्ना सन्ततिहरूलाई बेलामौकामा सचेतना जगाउनसमेत आग्रह गरे ।
दियालीले ट्राफिक नियम, दुर्घटना न्यूनीकरण,सडक र सवारीबारे विशेष भीडियो रिपोर्ट प्रस्तुत गरेका थिए ।