संसारको शिर
विश्वको सर्वोच्च शिखर सगरमाथाको नाम सुन्नासाथ यसलाई हेर्ने र देख्ने उत्साह जो कोहीमा जागिहाल्छ। नहोस् पनि किन ? यो त पृथ्वीकै शिर हो। नेपाललाई विश्वमा चिनाउने माध्यम हो।
यसकै अंग्रेजी नाम माउन्ट एभरेस्टबाट विश्वमा नेपालको पहिचान छ। सगरमाथाको हालै नयाँ उचाइ कायम भएको छ। यसको उचाइ ८,८४८.८६ मिटर छ। यो उचाइ सन् २०२० मा नेपाल चिनले संयुक्त रूपमा मापन गरेर घोषणा गरेका हुन्। यसअघि ८,८४८ थियो।
ऐतिहासिक पक्ष
सगरमाथा शिखरमा पहिलोपटक मानव पाइला टेकेको ७० वर्ष पुग्दैछ। तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले सन् १९५३ मे २९ तारिखमा सगरमाथाको शिखर चुमेका थिए। सन् १९७५ मे १६ मा जापानकी जुनको ताबेई शिखरमा पुगेर संसारकै पहिलो महिला सगरमाथा आरोही बनेर इतिहास कायम गरिन्।
पर्यटन विभागका अनुसार नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म करिब सात हजार आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। सन् २०२१ र २०२२ को समेत संख्या जोड्दा आठ हजार नाघ्छ। यी तथ्यांकबाट थाहा लाग्छ कि सगरमाथा आरोहण कति चुनौतीपूर्ण, ऐतिहासिक र साहासिक छ।
सगरमाथा आरोहणको ७० औं वर्षगाँठको अवसरमा यही मे २९ मा सोलुखुम्बुको खुम्जुङ क्षेत्रमा ‘प्लाटिनम जुब्ली’ मनाउने तयारी छ। उक्त कार्यक्रममा तेञ्जिन शेर्पाका छोरा जम्लिङ तेञ्जिङ शेर्पा र हिलारीका छोरा पिटर हिलारी सहभागी हुने बताइएको छ।
सगरमाथाको प्लाटिनम जुब्लीले नेपालको पर्यटकीय पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।
सगरमाथा आरोहणमा होडबाजी नै देखिन्छ। विभिन्न आरोहीहरूले नयाँ नयाँ कीर्तिमान कायम गर्दै र तोड्दै आएका छन्। यस क्रममा कामीरिता शेर्पाको रोचक कीर्तिमान कायम छ। उनले २६ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाइसकेका छन्। यही सिजनमा उनी आफ्नै रेकर्ड ब्रेक गर्ने तयारीमा छन्।
आरोहणको सिजन फेरिँदै
बसन्त ऋतु सगरमाथा आरोहणको सिजन मानिन्छ। जलवायु परिवर्तनका कारण विश्व तापमानमा भएको वृद्धिले हिमालमा ढिलो हिउँ पर्न थालेपछि आरोहणको सिजन पनि परिवर्तन भइरहेको छ। पहिले सगरमाथा आरोहणको सिजन शरद ऋतु हुन्थ्यो। हाल बसन्त ऋतुमा सगरमाथा आरोहण सबैभन्दा बढी हुने गरेको छ।
शरद ऋतुमा आठ हजार मिटर अग्ला हिमालमा तीव्र गतिमा हावा चल्ने भएकाले जोखिम बढी हुन्छ। सगरमाथा, कन्चनजंगा, ल्होत्से र मकालु हिमाल आरोहण गर्न निकै कठिन र जोखिम हुने आरोहीहरू बताउँछन्। चोयु, धौलागिरि, मनास्लु र अन्नपूर्ण हिमाल आरोहणका लागि दुवै सिजन सहज हुने उनीहरूको भनाइ छ। नेपालमा ५ हजार ८ सय मिटरभन्दा अग्ला ४०३ हिमाल आरोहणका लागि खुल्ला छन्।
अर्थतन्त्रको भरपर्दो माध्यम
सगरमाथा कै कारण खुम्बु क्षेत्रको अर्थतन्त्र संघीय राजधानी काठमाडौंपछि नाम्चेमा चलायमान देखिन्छ। यहाँ आउने पर्यटक नै खुम्बुका मुख्य स्रोत हुन्। पर्यटकहरूले भ्रमण, आरोणका क्रममा गर्ने खर्चले सोलुखुम्बु जिल्लाको अर्थतन्त्रमा ठूलो प्रभाव पारेको छ। यहाँका स्थानीय तहले रोयल्टी रकमबाट यस क्षेत्रको विकासमा टेवा पुगेको छ।
सगरमाथाकै नामले संसारभरका पर्यटकहरू नेपाल आउँछन्। नेपाल आएकामध्ये धेरै हिमाल हेर्न र आरोहण गर्न खुम्बु क्षेत्रमै जान्छन्। यसले नेपालको अर्थत्रन्त्रमा पनि ठूलो टेवा पुर्याएको छ। पर्यटकीय क्षेत्र भएपछि मुख्यगरी खुम्बु क्षेत्रमा यहाँका कला संस्कृति, भाषा शैली र पाहुना सत्कार गर्ने परम्परा गज्जबले विकसित हुँदै गएका छन्।
शिक्षा र चेतानाको विकासमा विदेशी पर्यटक आउँदा पूरै परिवर्तन भएको पाइन्छ। सिधा देखिने रकमभन्दा यो सयौं गुणा ठूलो योगदान हो। यद्यपि सिधै सरकारले पाउने रोयल्टी नेपालको अर्थत्रन्त्रमा पनि निकै टेवा पुगेको छ।
पर्यटन विभागका अनुसार गत सातासम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको अनुमति लिएका थिए।