'महामन्त्रीहरूले सामाजिक सञ्जालमा पार्टीभित्रको असन्तुष्टि व्यक्त गर्नु राम्रो होइन'
वीरेन्द्रनगर : नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमा पार्टी भित्रको असन्तुष्टि व्यक्त गर्नु गैर जिम्मेवारीपन भएको बताएका छन्।
पार्टीभित्र बृहत्तर सुधार र रूपान्त्रणको अभियान थालेका युवा नेता शाहीले आफ्नो गृह प्रदेश कर्णाली आएर मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी यस्तो बताएका हुन्।
कांग्रेस महामन्त्री थापाको पार्टीभित्रको असन्तुष्टिहरू सामाजिक सञ्जालमा आयो। अर्का महामन्त्री शर्माको पनि सामाजिक सञ्जालमा असन्तुष्टिहरू आइरहेका छन्।
उनले भने, 'पार्टीका महामन्त्रीहरूले आफ्ना असन्तुष्टिहरू सामाजिक सञ्जालमा राखेर टाउको लुकाउने की पार्टी भित्र ठोस कदम चाल्ने ? पार्टीको नेतृत्वले उहाँहरू माथि अन्याय गरेकै हो भने पार्टीको विशेष महाधिवेशन बोलाउने उहाँहरूको हिक्मत छ ? हैन भने सामाजिक सञ्जालमा साहित्यिक रूपमा स्टाटस लेखेर उम्कने छुट उहाँहरूलाई पनि छैन्। यो उहाँहरूको गैर जिम्मेवारी पन हो।'
उनले पछिल्लो समय कांग्रेसका युवा नेताहरू गुरु घिमिरे, रञ्जीत कर्ण, मधु आचार्य, देवराज चालिसे, डा. गोविन्द पोख्रेल, भरत खड्का लगायतले थालेको पार्टी सुधार र रूपान्त्रणको अभियान कुनै पनि गुट केन्द्रित नभएर समग्र पार्टी रूपान्त्रणको अभियान भएको बताए।
उनले भने, 'पार्टीको महाधिवेशनमा हामी को कसको पक्षमा उभियौँ भन्ने कुरा प्रमुख होइन। अहिले पार्टीको नेतृत्व र पदाधिकारीहरूले पार्टी हितमा काम गर्न नसक्दा नेपाली कांग्रेस जस्तो लोकप्रिय पार्टी कम्जोर बन्दै गएको छ। हामीले त पार्टीमा सुधार र रूपान्त्रणको अभियान थालेर मुलुकभरी निराश कांग्रेसजनहरूमा जागरणको ऊर्जा थप्ने काम गरेका हौँ। यो अभियान मेची महाकाली नै चलाइनेछ।'
कांग्रेस युवा नेताहरूले थालेको पार्टी सुधार तथा रूपान्त्रण अभियानका कर्णाली प्रदेश संयोजक समेत रहेका नेता शाहीले मुलुकमा हाम्रै पार्टीको समर्थनको सरकारले जनजीविका सवालहरूलाई सम्बोधन गर्न नसकेको बताए।
उनले भने, यो मुलुकमा सरकार त छ। तर जनताको पक्षमा काम गर्ने कुरामा सरकार असफल छ। यसले कांग्रेस पार्टीलाई समेत हानी गरेको छ। यसका विरुद्धमा हामी कठोर भएर बोल्नुपर्ने अवस्था आएको छ।'