पुलबाट बस खस्दा २१ को मृत्यु
नयाँ दिल्ली (एएफपी) : भारतमा मंगलबार एक बस पुलबाट खस्दा कम्तीमा २१ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बस मध्यप्रदेश राज्यको इन्दोर सहरको दक्षिणमा रहेको सुक्खा नदीको किनारमा करिब ६ मिटर तल खसेको थियो। ‘कम्तीमा २१ जनाको मृत्यु भएको छ’, एक वरिष्ठ प्रहरी अधिकारीले भने।
मृत्यु हुनेमा तीन बालबालिका र १० महिला रहेको टाइम्स अफ इन्डियाले जनाएको छ। दुर्घटना हुनुअघि बसका चालक स्टेयरिङमा निदाएका र दुर्घटना हुन पुगेको तर बस दुर्घटना भएपछि उनी घटनास्थलबाट भागेका थिए।
विश्व बैंकले सन् २०२१ मा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार भारतमा विश्वको करिब एक प्रतिशत सवारी साधन भए पनि सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ११ प्रतिशत भारतमा छ। सोही प्रतिवेदनअनुसार भारतमा बर्सेनि करिब १ लाख ५० हजार कार दुर्घटनामा मृत्यु हुने गरेको छ भने प्रत्येक चार मिनेटमा एक जनाको मृत्यु हुने गरेको छ।