दोर्दीको टाप गाउँमा घरै पिच्छे पानीका धारा
बेंसीसहर : लमजुङको दोर्दी गाउँपालिका -८ स्थित टाप गाउँको ९१ घरमा घरैपिच्छै धारा निर्माण भएका छन् । दोर्दी गाउँपालिका र गोरखा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा एक घर एक धारा निर्माण भएको हो ।
गोरखा वेल्फेयरका आयोजना प्रबन्धक बेलबहादुर गुरुङका अनुसार विरेन्द्र शिला प्रावि,कन्यादेवी आमा भवन,खोप क्लिनिक भवनमा समेत एउटा/एउटा धारा निर्माण भएको छ । सो विद्यालयमा एक शौचालयसहित गाउँमा ९४ वटा खानेपानी धारा निर्माण भएको उनले बताए । ४४ लाख ९५ हजार ५ रुपैयाँ ४१ पैसा लागतमा उक्त संरचनाको निर्माण सम्पन्न भएको छ ।
गोर्खा वेल्फेयरको ३६ लाख ३१ हजार ५ रुपैयाँ ४१ पैसा, गाउँपालिकाको ३ लाख ८० हजार रुपैयाँ र ४ लाख ८४ हजार रुपैयाँ बराबर जन श्रमदान रहेको बताइएको छ । विसं. २०७९ मंसिर १९ गते निर्माण सुरू गरिएको थियो ।
उक्त संरचना गाउँपालिका अध्यक्ष युवराज अधिकारीले हस्तान्तरण गरेका छन् । टाप गाउँमा घरैपिच्छे धारा निर्माणले स्थानीयलाई खानेपानीमा सहज भएको उनले बताए । उनले भने,'गाउँपालिकाले घरेपिच्छे धारा पु र्याउने अभियानलाई अघि बढिरहेकाले धारा नपुगेको घर बस्तीहरूमा चाँडै धारा पुग्नेछ ।’
वडाध्यक्ष नारान घलेले टाप गाउँमा खानेपनीको दुःख हटको बताए । टाप खानेपानी उपभोक्ता तथा सरसफाई आयोजनाका अध्यक्ष चित्रबहादुर गुरुङले धमिलो पानी खान बाध्य टापगाउँबासी शुद्ध खानेपानी पपाउँदा खुसी भएको बताए ।
यसअघि यहाँ ५ वटा सार्वजनिक धारा थियो । त्यहीपनि कहिले पानी आउने कहिले नआउने समस्या थियो । गोरखा वेल्फेयरका आयोजना प्रबन्धक गुरुङका अनुसार दोर्दी गाउँपालिका -४ लामिडाँडाको ३९ घरधुरी र वडा नं. ६ कृर्तिपुरका ३१ घरमा पनि एक घर एक धारा निर्माणकार्य सम्पन्न भएको छ ।