गोदाम फुटाएर २१ वटा टिभी चोरी गर्ने गिरोह पक्राउ
विराटनगर : गोदाम फुटाएर २१ वटा एलईडी टिभी (टेलिभिजन) चोरी गर्ने गिरोहका २ जनालाई प्रहरीले मोरङको बूढीगंगा गाउँपालिका–४ बाट पक्राउ गरेको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी (प्रहरी नायव उपरीक्षक) रन्जनकुमार दाहाल नेतृत्वको टोलीले टिभी चोरीमा संलग्न बूढीगंगा–४ का २५ वर्षीय कोसन ऋषिदेव र १८ वर्षीय सन्दीपकुमार ऋषिदेवलाई पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा कोसन र सन्दीपलाई बुधबार राति १० बजेतिर पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी दिए।
चोरी गरेर लगेको २१ मध्ये १५ थान टिभीसहित उनीहरू पक्राउ परेको पोखरेलको भनाइ छ। अन्य ६ थान टिभी बरामद हुन बाँकी छ। चोरीमा संलग्न १ जना फरार छन्। फरार रहेकाको खोजी तीव्र पारिएको जानकारी एसपी पोखरेलले दिए।
उनका अनुसार बूढीगंगा–४ मा रहेको नवीन डिस्ट्रिब्यूटर्सको झ्याल फुटाएर प्रतिगोटा ४५ हजार रूपैयाँ पर्ने २१ थान टिभी गत चैत २८ गते राति चोरी गरिएको थियो। चोरी भएको टिभीको बजार मूल्य लगभग ९ लाख ४५ हजार बराबर रहेको प्रहरीको भनाइ छ।
‘चोरीमा संलग्नले मोरङ र सुनसरीका विभिन्न ठाउँमा पुर्याएर सस्तो मूल्यमा टिभी बिक्री गरेको पाइयो। विभिन्न व्यक्तिलाई बिक्री गरेको टिभी पनि बरामद भएको छ,’ एसपी पोखरेल भन्छन्, ‘एउटा टिभीलाई २० देखि २५ हजार रूपैयाँसम्ममा बेचेको खुलेको छ। बिक्री हुन बाँकी रहेका केही सेट टिभी भने खाल्डो खनेर माटोमुनि गाडेको अवस्थामा फेला पर्यो।’
उनका अनुसार गिरोहले सस्तोमा किन्ने ग्राहक खोजी गर्दै चोरीको टिभी बेच्ने गरेको पाइयो। बिक्री हुन बाँकी रहेका टिभी किन्ने ग्राहाकको खोजीमा निस्किएका बेला चोरीमा संलग्नहरू पक्राउ परेका हुन्। उनीहरूविरुद्ध प्रहरीले चोरी मुद्दा चलाउन बिहीबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाएको छ।