सहमति कार्यान्वयन नगरेको भन्दै निर्माणाधीन गाउँपालिकाको भवनमा भैसी बाँधियो
वीरेन्द्रनगर : कालिकोटको सान्नीत्रिवेणी गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनमा भैँसी बाँधिएको छ।
पालिकाको केन्द्र बनाउने बेलामा गाउँपालिका र जग्गाधनीबीच जग्गा दान गर्दा भएको सहमति कार्यन्वयन नगरेको भन्दै जग्गा दाता गणेश संज्यालले पालिकाको निर्माणाधीन प्रशासनिक भवनमा भैँसी बाँधेका हुन्।
संज्यालले २०७४ सालको स्थानीय तहको निर्वाचनपछि पालिकाको केन्द्र बनाउँदा ३ सय २५ वर्गमिटर जग्गा दान गरे।
घर आँगनमै पालिकाको केन्द्र बन्ने र गाउँपालिकामा आउने अवसरहरूमा जग्गादातालाई पहिलो प्राथमिकता दिने भनेर गाउँपालिकाले कागज गरेपछि उनले रोपाई खेतमै आफ्नो जग्गा दान गरेको कागजमा ल्याप्चे लगाए। जति बेला उनको नागरिकता पनि बनेको थिएन्।
बाजे मधुकर संज्यालका नाममा रहेको उक्त जग्गा २०५३ सालतिर बुवाको समेत मृत्यु भएपछि मरुवाको सरुवा पनि भएको थिएन्।
जग्गादाता संज्यालले भने, गाउँपालिकाको केन्द्र बन्ने र आफूले पनि केही अवसर पाउने भनेपछि आफ्नो नाममा नआएको जग्गा सिधै पालिकाका नाममा पास गर्न सहमति जनाएँ। तर गाउँपालिका सञ्चालन भएको ५ वर्ष बित्यो। मैले पनि एसएलसी पास गरेर अमिन समेत पढे। त्यस बीचमा गाउँपालिकामा धेरै अवसरहरू पनि आए। तर म लगायत मेरो परिवारबाट पालिकामा एक जना कार्यालय सहयोगी समेत राखिएन्। केही दिन अगाडि पालिकाले अमिनका लागि खोलेको विज्ञापनमा पनि मलाई छनोट गरिएन। त्यसैले मैले मेरो जग्गामा निर्माण हुन लागेको प्रशासनिक भवनमा भैँसी लगेर बाँधेको हुँ।'
२०७४ सालको निर्वाचनपछि सान्नीत्रिवेणी गाउँपालिका-६ मेहेलमुडीमा पालिकाको केन्द्र बनाउने भनेसँगै आफूसहित मेहलमुडीका २२ जनाले जग्गा दान गरेको उनले बताए।
'ती जग्गा दान गर्नेहरूमा सबैभन्दा बढी मेरो जग्गा हो। म नाबालक हुँदा जागिरकै आश देखाएर जग्गा लिए। मेरो परिवारबाट एक जना कार्यालय सहयोगी समेतको अवसर नपाउने भएपछि मैले जग्गा दान किन गर्ने? मेरै जग्गामा भवन बनाउने अनी गाउँपालिकाको नेतृत्व गर्नेहरूले आफ्नै आसेपासेलाई अवसर दिने। मेरो जग्गा लिएर मलाई अवसर नदिने भएपछि म पनि जग्गा दिन्नँ। जग्गा दान गर्ने बेला गरेको कागज लिएर जग्गा फिर्ता गराउनका लागि मुद्दा लड्छु। मेरो त अहिले न जग्गा रह्यो। न पैसा पाइयो। न अवसर पाइयो', उनले भने।'
सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वति सिंहले पहिलेको सरकारले जग्गादातालाई अवसर दिने भनेर गरेको कागज आफूहरूलाई थाहा नभएको र अहिले समस्या आएपछि जानकारी पाएको बताइन्।
उनले भनिन्, 'खासमा जग्गा दान इच्छाले गराउने हो। सर्त राखेर जग्गा दान गराउँदा त्यति बेला नै गाउँपालिकाले केही न केही अवसर दिनुपर्ने हो। कागज गरिजाने र अवसर नदिने उति बेला नै भयो। अहिले गाउँपालिकाले विज्ञापन गरेको अमिन पदमा जग्गा दाताले पनि दरखास्त हाल्नु भएछ। तर प्रतिस्पर्धामा उहाँले जित्न सक्नु भएन्। त्यसपछि उहाँले भवन निर्माण भइरहेको ठाउँमा भैँसी बाँध्नुभयो। उहाँसँग बसेर छलफल गरिरहेका छौँ। समस्या समाधान गर्नका लागि पहल गरिरहेका छौँ।'
निर्माणाधीन उक्त प्रशासकीय भवन संघबाट ६ करोड र गाउँपालिकाको ३ करोड गरी ९ करोडमा निर्माण हुन लागेको हो। उक्त भवन निर्माण व्यवसायीले २ वर्षभित्र निर्माण गरिसक्नुपर्ने गरी सम्झौता गरिएको छ।
तर निर्माण सुरु हुँदा नै उत्पन्न विवादले काम पनि प्रभावित भएको छ। पालिकाको केन्द्र बनाउन सबैलाई कागज गरेर जग्गा दान गर्न लगाइयो। 'जग्गा दातासँग कागज गर्दा पालिकामा आउने अवसरहरू जग्गा दाताहरूलाई नदिए तत्कालीन समयमा गरेको कागज लिएर अड्डा अदालत गएर त्यो अवसर भराई लिन हामी मन्जुरी छौँ भनेर तत्कालिन वडा अध्यक्ष रंगराज सार्कीले हस्ताक्षर गरेका छन्। यहाँका २२ जनाले २२ कित्ता जग्गादान गरेका थिए। पालिका उपाध्यक्ष संज्यालले भनिन्, विवाद भएको जग्गामा पालिकाको भवन निर्माण गर्न थालिएको छ।'