एमालेको स्थायी कमिटी बैठक आज दिउँसो, वार्षिक कार्ययोजनाबारे छलफल हुने
काठमाडौं : नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज दिउँसो ३ बजे बोलाइएको छ। वार्षिक कार्ययोजना बनाउन पार्टी केन्द्रीय कार्यालयमा स्थायी कमिटी बैठक बस्ने एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
उनका अनुसार जारी केन्द्रीय कमिटी बैठकमा ५ प्रदेशका बाँकी प्रतिवेदन प्रस्तुत भएपछि ८ समूहमा छलफल हुनेछ। ‘५ प्रदेशका बँकी रिपोर्ट प्रस्तुतिपछि ८ समूहमा छलफल हुनेछ र बैठकसमक्ष प्रदेशका तर्फबाट कार्ययोजना पेश हुनेछ।’ केन्द्रीय सदस्य रिजालले भने, ‘त्यसलाई एकीकृत रूप दिएर वार्षिक कार्ययोजना बनाउन आजै दिउँसो ३ बजे स्थायी कमिटी बैठक बस्नेछ र भोलि बस्ने केन्द्रीय कमिटी बैठकमा कार्ययोजना प्रस्तुत हुनेछ।’
बिहीबारको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष अमृत बोहोराले, अनुसन्धान आयोगको अध्यक्ष केशव बडालले, लेखा आयोगका पुष्प कँडेलले, निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले आफ्नो भनाईसहित प्रतिवेदन पेश गरेका थिए।
यसैगरी मिसन ग्रासरुट अभियानको समीक्षात्मक प्रतिवेदन सुदूरपश्चिमका संयोजक लेखराज भट्टले, कर्णालीको योगेश भट्टराईले र कोशी प्रदेशको राजेन्द्र गौतमले प्रस्तुत गरेका थिए। १० एजेण्डा तय गरेर बोलाइएको एमाले केन्द्रीय कमिटीको पाँचौं बैठक शनिबारसम्म सञ्चालन हुनेछ।