रहेनन् जनआन्दोलनका ‘जिउँदो सहिद’

रहेनन् जनआन्दोलनका ‘जिउँदो सहिद’

काभ्रे : निरंकुश राजतन्त्र फ्यालेर लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि देशभर राजनीतिक दल, नागरिक समाज, कर्मचारी, सञ्चारकर्मी, विद्यार्थी, मजदुर र आम सर्वसाधारण नागरिक चैतको मध्यगर्मीमा कुनै पर्वाह नगरी राजतन्त्रका विरुद्धमा सडक आन्दोलनमा होमिएका थिए। 

काभ्रेलीहरू बनेपाको चार दोबाटोमा आन्दोलका लागि केन्द्रित थिए। आन्दोलनको कार्यक्रम दिनप्रतिदिन चर्किंदै जाँदा २०६२ साल चैत २६ गते काभ्रेको उग्रचण्डी नालाका भीमसेन दाहालको पोखरामा गोली लागेर मृत्यु भएपछि काभ्रेमा तत्कालीन सरकारविरुद्ध आन्दोलन चर्किएको थियो। 

भीमसेन दाहालको मृत्युपछि चैत २७ गते दाहालको शव जिल्लामा ल्याउने तयारी भएपछि आन्दोलन अझै बढ्न थाल्यो। जनसहभागिता बढिरहेको थियो। हजारौं नागरिक सडकमा ओर्लिएका थिए त्यो दिन। आन्दोलनले ठूलो रूप लिएको थियो बनेपा चार दोबाटोमा। बनेपाको तीनदोबाटोमा रहेको प्रहरी चौकीमा तोडफोड गर्न आन्दोलनकारी अघि बढेसँगै सोही क्रममा प्रहरीले गोली चलायो। गोली १४ वर्षीय मुकेश कायस्थको देब्रे कञ्चटमा लाग्यो उनी आन्दोलनकारीकै बीचमा बेहोस भएर ढले। 

१७ वर्षअघि २०६२ साल चैत २७ गते प्रहरीले चलाएको गोली लागेर घाइते भएका मुकेश कायस्थको बुधबार बेलुका निधन भएको छ। १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो। गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए। ओछ्यानमा लडेका मुकेश कहिल्यै उठेनन्। 

निरन्तरको स्याहार र उपचारपछि देब्रे हात चलाउने, आमा भन्ने, हाँस्ने, गिलो खानेकुरा खाने र ह्विलचियरमा अडिन सक्नेसम्म भएका मुकेश २०७५ असारमा अचानक बिरामी परेपछि पुरानै अर्धचेत अवस्थामा फर्किएका थिए। उनको उपचारमा संलग्न स्वर्गीय डा. उपेन्द्र देवकोटा र बसन्त पन्तले पनि उनमा आएको सुधारलाई ‘चमत्कार’ भनेका थिए।

निरंकुश राजतन्त्र फ्यालेर लोकतन्त्र स्थापना हुँदै संविधानसभामार्फत संविधान जारी भई गणतन्त्र स्थापित भएको वर्षौं बितिसकेको छ। आन्दोलनमा होमिएका दलका नेता प्रधानमन्त्री, मन्त्री पदमा बसे पनि जनआन्दोलनका घाइते र सहिद परिवारको दुःख हट्न नसक्दा घाइते र सहिद परिवारको मन अहिलेसम्म खुसी हुन सकेको छैन। 

‘नयाँ व्यवस्था ल्याउनका लागि मेरो छोरो मुकेशजस्ता थुप्रै छोराहरू कोही सहिद, कोही घाइते कोही अपांग भएका छन्, व्यवस्था फेरियो, थुप्रै प्रधानमन्त्री, मन्त्री फेरिए तर हामीजस्ता पीडित परिवारको अवस्था फेरिएन, हामी सरकारको बेलाबेलाको व्यवहारले झन् मुच्र्छित हुन्छौं’ जनआन्दोलनका घाइते मुकेशकी आमा मीरा कायस्थ दुःखेसो गर्छिन्। 

  •     २०६२ साल चैत २७ गते प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएका थिए।
  •     १७ वर्षदेखि ‘जिउँदो सहिद’का रूपमा रहेका मुकेशको ३२ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो।
  •     मुकेशको शवलाई बनेपा नगर परिक्रमा गराएर उग्रेश्वर घाटमा दाहसंंस्कार गरिएको छ

प्रहरीको गोली लागेर घाइते भएका छोराको उपचारका लागि थुप्रै अस्पताल पुर्‍याएका थिए परिवारले। उनको स्वास्थ्यमा कुनै सुधार आएको थिएन। मुकेश घाइते भएर ओछ्यानमा नै दिसापिसाब गरेको यत्रो वर्ष भइसक्दा पनि उनको स्वास्थ्यमा सुधार आउन सकेन अन्तिममा उस्तै अवस्थामा उनको निधन भयो। तत्कालीन समयमा मुकेशलाई वीर अस्पतालमा ११ महिना उपचार गराएर २०६३ फागुन ११ गते बनेपा ल्याइएको थियो। बायाँ कञ्चटमा गोली लागेर घाइते भएका मुकेशले तीन हप्तामा मात्रै आँखा खोलेका थिए। मुकेशले तीन महिनामा अलि राम्रोसँग हेर्न सक्ने, पाँच महिनामा देब्रे हातको पञ्जा सामान्य चलाउन सक्ने र ६ महिनामा सिरानीमा मात्रै मुन्टो हल्लाउन सक्ने भएका थिए। 

वीर अस्पतालमा उपचार गरेर घर ल्याउँदा मुकेश भनेर बोलाउँदा ‘हुँ’ भनेर बोल्न खोज्थे। घर ल्याएको एक हप्तामा नै थप उपचारका लागि उनलाई न्युरो अस्पताल बाँसबारी लगिएको थियो। त्यहाँ उनलाई सात महिना राखेर उपचार गरिएको थियो। मुशेकको स्वास्थ्यमा कुनै परिवर्तन हुन्छ कि भनेर मेडिसिटी, अन्नपूर्ण न्युरो, स्पार्क हेल्थ होमलगायतका विभिन्न अस्पतालमा लगेर विभिन्न परीक्षण गर्ने, फिजियोथेरापी गर्नेलगायतका थुप्रै कामहरू गर्‍यौं तर खासै परिवर्तन नआएको मुकेश प्रतिष्ठानका अध्यक्ष हीरा नेपालले बताए।  

पटक–पटकको उपचारपछि मुकेश भनेर बोलाउँदा खिस्स हाँस्ने, माँ भन्ने, हातको पञ्जा समाउने र केही बोल्न खोज्थे, खाना खान सक्थे, गाह्रो भएपछि आँखाबाट आँसु निकाल्थे, २०७६ सालमा सिजर (छारे रोग) जस्तो देखा परेर मस्तिष्कको नसाले काम नगरेपछि अप्रेसन गर्‍यौं, त्यसपछि उनले बोल्न, खाना खान सकेनन् त्यसपछि जिउ सुकेर गयो, अलिअलि भएको होस पनि हराउँदै गएको पछिल्लो चार वर्षदेखि उनको स्वास्थ्य झन् जटिल बन्दै गएको शर्माले बताए। 

मुकेशले मुखबाट खाना खान नसक्ने भएपछि पेटमा पाइप राखेर त्यहाँबाट नै उनलाई झोल कुरा खुवाउने काम गरिएको थियो। ‘मुकेशजस्ता थुप्रै छोराहरू जनआन्दोलनमा घाइते, सहिद र अपांग बनेर देशमा लोकतन्त्र आयो। लोकतन्त्र आउँदा हामी जस्तोसुकै पीडामा हुँदा पनि खुसी थियौं। तर, सत्ताका लागि नेताले हानथाप गरेको देख्दा घाइते र सहिदको योगदानको के कदर भयो ? भनेर मन अमिलो बनेर आउँछ’ मुकेशका बुवा कृष्णमान कायस्थ आँसु पुछ्दै गुनासो गर्छन्। 

मुकेशको परिवारलाई सरकारले क्षतिपूर्तिबापत सुरुमा साढे नौ लाख, मह जोडीले सुरु गरेको जनआन्दोलन कोषबाट २ लाख, विभिन्न संघसंस्था र राजनीतिक संयन्त्रबाट समेत सहयोग प्राप्त भएको थियो। पछि सरकारले पुनः साढे सात लाख दिएको थियो। माधव नेपाल नेतृत्वको सरकारले जीवननिर्वाह भत्ता ४ हजारबाट बढाएर मासिक १० हजार पुर्‍याएको थियो। झलनाथ खनाल नेतृत्वको सरकारले बैंकको साढे सात लाख ऋण मिनाहा गर्र्नुको साथै मुकेशको स्वास्थ्य अवस्था हेर्न एकजना अनमीको व्यवस्थासमेत गरेको थियो। त्यस्तै, बाबुराम भट्टराई नेतृत्वको सरकारले मुकेशको स्याहारसुसार गर्नका लागि मासिक ६ हजार दुई सय उपलब्ध गराएको थियो। खिलराज रेग्मी नेतृत्वको सरकारले जीवन निर्वाह भत्ता १० हजारबाट बढाएर १५ हजार पुर्‍याएको थियो।  

सरकारले मुकेशको जीवन निर्वाह भत्ताबापत वार्षिक २ लाख १६ हजार रुपैयाँ, मुकेशको स्वास्थ्य अवस्था हेर्नको लागि एकजना अनमिका लागि वार्षिक ३ लाख ३८ हजार रुपैयाँको व्यवस्था गरेको थियो। 

मुकेशको पार्थिक शरीरमा नेपाल सरकारका तर्फबाट सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र गृहसचिव दिनेश भट्टराईले नेपालको झन्डा ओढाएर सम्मान गरिएको थियो। बनेपा नगरपालिकामा राखिएको श्रद्धाञ्जलि सभामा पूर्वमन्त्री काभ्रे प्रतिनिधिसभा २ का सांसद गोकुल बाँस्कोटा, प्रतिनिधिसभा १ का सांसद पूर्वराज्यमन्त्री सूर्यमान दोङ, नेपाली कांग्रेसका महामन्त्री प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्मा, प्रतिनिधिसभा सदस्य मीना तामाङ, पूर्वसांसद गंगाबहादुर दोङ, बागमती प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, कञ्चन बादे, जिल्ला समन्वय प्रमुख दीपक गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि र काभ्रेलीहरूले अन्तिम श्रद्धाञ्जलि दिएका थिए। मुकेशको शवलाई बनेपा नगर परिक्रमा गरेर उग्रेश्वर घाटमा दाहसंंस्कार गरिएको छ।

मुकेशको निधनपछि उनको नाममा स्थापना गरिएको मुकेश कायस्थ प्रतिष्ठानका अध्यक्ष हीरा शर्मा नेपालले जनआन्दोलनको जिउँदो सहिद मुकेशलाई सहिद घोषणा गर्न सरकारसमक्ष अनुरोध गरिएको छ। मुकेशलाई जीवन्त राख्नको लागि प्रतिष्ठानले योजना बनाएको नेपालले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.