वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि
उदयपुर : अध्ययन तथा रोजगारीका लागि वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ।
रोजगार सुनिश्चित नहुनु, उद्योग कलकारखाना, उत्पादनमुखी कार्यक्रमहरू ठप्प हुनु, कृषि पेशामा आत्मनिर्भर नहुनु, श्रमको ज्याला नपाउनु र छिमेकीका छोराछोरीले विदेशमा गरेको प्रगतिले लोभिनु लगायतका कारण वैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको हो।
वैदेशिक रोजगार गएका धेरैजसो सीप नसिकी जाँदा भनेजस्तो ज्याला र काम नपाउने, फर्केर आउनु पर्ने समस्या पनि उत्तिकै छ। सरकारको नीति तथा कार्यक्रमलाई पछ्याउन नसक्दा वैदेशिक रोजगारमा लाग्ने रकम, पाउने पारिश्रमिक, कामको ग्यारेन्टी, मृत्युपछि पाउने बिमा लगायतका रकममा आर्थिक ठगि हुने गरेको त्रियुगा नगरपालिकाका मेयर वसन्तकुमार बस्नेत बताउँछन्।
उनले पैसा कमाउने लोभमा हचुवाको भरमा विदेशको तयारी गर्दा अधिकांश ठगिने गरेको बताए। उनले वैदेशिक रोजगारमा नेपालीहरू ठगिनुका साथै पारिश्रमिकमा अन्याय श्रममा शोषणमा पर्ने गरेको बताए।
नेपालीहरू कम्पनी, तलब, काम लगायतका सेवा सुविधा नबुझ्ने, खाली विदेश पुग्न मात्रै हतार गर्ने कारण ठगिने बढी सम्भावना रहेको उनले बताए।
सरकारले वैदेशिक रोजगारमा जान चाहाने युवायुवतीका लागि लक्षित गरी ल्याएको सीप सम्बन्धी तालिम नलिने, लागत रकमको सम्झौता गर्ने बेलामा सरकारी नियमभन्दा बाहिर गएर आफूखुसी फरक ढंगले गर्दा ठगीका घटनामा वृद्धि भएको तथ्यांकले देखाएको छ।
जिल्लाको त्रियुगा, चौदण्डिगढी, कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा सञ्चालित परियोजनाले वैदेशिक रोजगारलाई सुरक्षित कसरी गर्ने, कसरी ठगिन नदिने र कस्ता खालका सीप सिकाउने भन्ने विषयमा केन्द्रित रहेर काम गर्दै आएको जिल्ला संयोजक बिजनकुमारी बस्नेतले बताइन्।
सरकारी तथ्यांकले नै दैनिक दुई हजार ५०० जना वैदेशिक रोजगारमा जाने गरेको देखाएको परियोजनाका कोसी प्रदेशका कार्यक्रम अधिकृत डिएन चौधरीले बताए। वैदेशिक रोजगारमा हालसम्म गएका ६५ लाखमध्ये कोसी प्रदेशमा अघिल्लो आर्थिक वर्षमा मात्रै एक लाख ३१ हजार २०२ जना अर्थात् समग्रमा २१ प्रतिशत रहेको उनले बताए।
तथ्यांकले उदयपुरमा मात्रै अघिल्लो वर्ष ८ हजार ८३८ जनाले श्रमस्वीकृति लिएको देखाएको छ। त्यसमध्ये धेरैजसो मलेसिया र खाडीमुलुक रहेका छन्। वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवारलाई राज्य संयन्त्रबाट संरक्षित तथा गन्तव्य मुलुकमा मर्यादित कार्यको वातावरण तय गर्न परियोजना सञ्चालन गरिएको उनले बताए।
उनीहरूलाई सुरक्षित र सम्मानजनक रूपमा काम गर्न सक्ने गरी सूचना, सीप, परामर्श लगायतका क्षेत्रमा सहयोग गर्दै आएको उनले बताए।
परियोजनाले सूचना तथा सीप परामर्श, न्यायमा पहुँच, वित्तीय साक्षरता, मनोसामाजिक परामर्श र परिवारको उचित संरक्षणमा ध्यान दिएको बताए। तर सरकारले देशमै रोजगार बढाएर विदेश पलाएन रोक्ने भने पनि त्यसको ठोस परिणाम आउन सकेको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुँयालले वैदेशिक रोजगार नेपालका लागि अर्थतन्त्रको मेरुदण्ड भए पनि उत्तिकै विकृति भित्र्याएको बताए।
जिल्ला कार्यक्रम संयोजक बस्नेतले विदेश जाँदा, लागत, श्रम स्वीकृत, तलब, काम, नीति नियम, प्रक्रिया र अन्य सेवा सुविधाका बारेमा प्रष्ट हुन र नेपाल सरकारको माताहतमा रहेको एजेन्सीहरूबाट मात्रै विदेश जानु पर्ने बताइन्। विदेश जानुभन्दा पूर्व सम्बन्धित निकायहरूमा गएर सोधपुछ गर्ने गर्दा दुःख नपाइने बताइन्।