जाजरकोटमा चिट चोराउन संकलित रकम फिर्ता
वीरेन्द्रनगर : जाजरकोटको छेडागाड नगरपालिका–११ झाप्राको बाल माध्यमिक विद्यालयले चिट चोराउन विद्यार्थीबाट संकलन गरेको अवैध रकम फिर्ता गरेको छ।
विद्यालयले कक्षा १२ को परीक्षामा पास गराइदिने भन्दै अवैध रूपमा संकलन गरेको झण्डै एक लाख रुपैयाँ फिर्ता गरेको हो।
मंगलबार अन्नपुर्ण पोस्ट् डट्कममा जाजरकोटमा चिट चोराउन विद्यार्थीबाट पैसा उठाइयो र बुधबार अन्नपूर्ण पोस्ट् दैनिकमा कक्षा १२ को परीक्षामा चिट चोराउन स्कुलले असुले रकम भन्ने शीर्षकमा समाचार प्रकाशित भएपछि तीनवटा विद्यालयमध्ये बाल माध्यमिक विद्यालयले उठाएको रकम फिर्ता गरेको हो।
तर कुशे गाउँपालिकाको जनता माध्यमिक विद्यालयका, लक्ष्मी प्राप्ती माध्यमिक विद्यालय र थर्पु माविले भने रकम फिर्ता गरेका छैनन्। जिल्लाका ९० प्रतिशत विद्यालयहरूले कक्षा १२ को परीक्षामा विद्यार्थीबाट अबैध रकम असुलेको त्यहाँका सामाजिक अगुवाहरूको भनाइ छ।
अघिल्लो वर्षको परीक्षामा कम अंक ल्याएका विद्यार्थीको ग्रेडवृद्धि गर्न सहयोग पुर्याउने र अन्य विद्यार्थी पास गराउन सहयोग गर्ने (चिट चोराउने) भन्दै विद्यालयले परीक्षा व्यवस्थापनका नाममा मोटो रकम असुलेका थिए।
समाचार प्रकाशन लगत्तै जिल्लाका विभिन्न विद्यार्थी संगठनहरूले पनि विज्ञप्ति निकालेर अवैध रकम फिर्ता गर्न र दोषीलाई छानबिन गरी कारबाही गर्न माग गरेका थिए। बाल माध्यमिक विद्यालयले बिहीबार पैसा फिर्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमार बिटालुले बताए।
विद्यालय व्यवस्थापन समितिबाट निर्णय नै गरेर असुल गरेको रकम अभिभावकलाई फिर्ता गरेको वडाध्यक्ष लोकेन्द्रबहादुर थापाले बताए। विद्यालयले हाल प्रतिव्यक्ति ७ सयका दरले ४५ हजार ५ सय कक्षामा १ दिन पनि हाजिर नभएका १४ जना विद्यार्थीहरूबाट गयल जरिवाना वापत १ हजार ५ सयका दरले २१ हजार फिर्ता गरेको विद्यालयले जनाएको छ। अन्य पैसा पहिले नै फिर्ता गरेको अध्यक्ष थापाले बताए।
विद्यालयले ८२ जना विद्यार्थीबाट ७ सयका दरले ५७ हजार ४ सय रुपैयाँ, विद्यालय अध्ययन नगरी परीक्षामा मात्रै सहभागी हुने १५ जना विद्यार्थीबाट १ हजार ५ सयका दरले २२ हजार ५ सय र अघिल्लो वर्ष ग्रेडवृद्धिका लागि २७ जनाबाट प्रतिव्यक्ति ७ सयका दरले १८ हजार ९ सय रकम असुलेको थियो।
तर कुशे गाउँपालिकाको जनता माध्यमिक विद्यालयका २ सय जना विद्यार्थीबाट प्रवेशपत्र दिँदा प्रति विद्यार्थी एक हजार, थर्पु माविमा ३९ जना विद्यार्थीबाट प्रति विद्यार्थी २ हजार ५ सय र लक्ष्मीप्राप्ती माध्यमिक विद्यालयका १ सय ९५ जना विद्यार्थीबाट प्रति विद्यार्थी एक हजारका दरले असुलेको रकम फिर्ता गरेका छैनन्।
परीक्षा व्यवस्थापनका नाममा अवैध रूपमा रकम असुली गरेकोमा बाल मावि झाप्राले माफी मागेको छ। बिहीबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रअले एक विज्ञप्ति जारी गर्दै माफी मागेका हुन्।
उनीहरूले नियतवस गल्ती नभई भुलवस गल्ती भएको विज्ञप्तिमा उल्लेख गरेका छन्। सम्पूर्ण अभिभावक एवं सरोकारवाला निकाय र व्यक्तिलाई सम्बोधन गर्दै विव्यस अध्यक्ष र प्रअले माफी मागेका हुन्।
निःशुल्क पाउनुपर्ने प्रवेश पत्र वितरण गर्दा भुलवस रकम संकलन गर्नु गल्ती भएको विद्यालयले जनाएको छ। विद्यालयले उठाएको शुल्कप्रति अभिभावक र मिडियामा समाचार आउनु अगाडि नै केही अभिभावकहरूलाई रकम फिर्ता गरिएको दाबी गरेको छ। उक्त गल्ती प्रति अभिभावक र सरोकारवाला व्यक्ति र निकायप्रति क्षमा याचना गरेका छन्।
विद्यार्थीलाई परीक्षामा सहयोग गर्ने भन्दै रकम अशुल्ने विद्यालयको नगर शिक्षा समितिले स्थलगत अनुगमन गरेको छ। छेडागाड नगरप्रमुख रत्नबहादुर खड्काको नेतृत्वमा विद्यालयको अनुगमन गरिएको हो। अनुगमन गर्दा विद्यालयले पैसा उठाउने गरिएको नगरपालिका प्रमुख खड्काले बताए।
शुक्रबार मात्र नगर शिक्षा समितिको बैठक आह्वान गरिएकोले आवश्यक कारबाही अगाडि बढाउने खड्काले बताए। सबै कुरा विकास निर्माण नभई शिक्षा क्षेत्रको सुधारमा आफू थप प्राथमिकताका साथ अगाडि बढ्ने उनले बताए।
यसैबीच बालमावि झाप्राका प्रधानाध्यापक कमलबहादुर बस्नेत र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्लीकुमार बिटालुविरूद्ध उजुरी गरेको छ।
विद्यार्थीबाट अवैध रकम असुल्ने विद्यालयविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको प्रमुख जिल्ला अधिकारी रामप्रसाद महतोले बताए। निःशुल्क पाउने प्रवेश पत्रमा विद्यालयका विव्यस अध्यक्ष र प्रअले अवैध रकम असुलेको भन्दै प्रशासनमा जाहेरी आएको उनको जानकारी दिए।
शुक्रबारदेखि उक्त विषयमा आवश्यक अनुसन्धान हुने छ। आवश्यक प्रमाणका आधारमा कानुन बमोजिम कारबाही गर्ने प्रशासनले जनाएको छ।