फरार टोपबहादुर ‘भेट्नै सकस’
काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा नाम जोडिएपछि पूर्वऊर्जामन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन्। उनीविरुद्ध वैशाख २० मा जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी गरिएको थियो। नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता दीपेन्द्र जीसीका अनुसार रायमाझी लुक्न सक्ने सबै ठाउँमा प्रहरीले निगरानी बढाइरहेको छ। यसैक्रममा उनको खोजीका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सक्रियता देखाएको छ।
शुक्रबार मात्रै सीआईबी टोलीले रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ। संसद् सचिवालयका अधिकारीहरूका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिरामी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए। निवेदन लिएर जाने व्यक्तिको पहिचानका लागि प्रहरीले संसद् सचिवालयको सीसीटीभी फुटेज लगेर अनुसन्धान सुरु गरेको हो।
प्रहरी स्रोतका अनुसार रायमाझीको खोजीका लागि सीआईबी टोलीले संसद् सचिवालयको सीसीटीभी माग गर्दै पत्र लेखेको थियो। उक्त पत्रअनुसार शुक्रबार संसद् सचिवालयले सीसीटीभी फुटेज प्रहरीलाई उपलब्ध गराएको थियो। वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सीसीटीभी फुटेज सीआईबीलाई उपलव्ध गराएको हो।
देशकै प्रमुख राजनैतिक शक्ति नेकपा एमालेका सचिवसमेत रहेका सांसद फरार भएपछि यसको चौतर्फी विरोध भएको छ। उनलाई पार्टीले दिएको जिम्मेवारीबाट पनि निलम्बन गरेको छ। उनी फरार रहेको विषयमा संसद्मा पटकपटक प्रश्न उठ्ने गरेको छ। यस प्रकरणमा संलग्न भएको आरोपमा उनका छोरा सन्दीप रायमाझी भने यसअघि नै पक्राउ परेका छन्। हाल उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्धामा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पनि प्रहरी हिरासतमा छन्। बहालवाला सचिव टेकनारायण पाण्डे, सुरक्षाविज्ञ डा.इन्द्रजित राईलगायत १२ जनालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ।
हाइप्रोफाइल आरोपी पक्राउ गरिए पनि टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी हातमा लिएर बसेको प्रहरीले उनी सम्पर्कविहीन भएको यतिका दिनसम्म पनि उनलाई फेला पार्न नसक्नु सर्वसाधारणका लागि आशंकाको विषय बनेको छ। उनलाई बचाउनको लागि राजनैतिक चलखेल हुन सक्ने अनुमानसमेत गरिएको छ।