प्रेम, राजनीति र वर्गीय विभेदविरुद्ध युवाद्धारा चालिएका कदमलाई विषयवस्तु बनाइएको छ उपन्यासमा।
स्वस्थ मस्तिष्क निर्माणमा स्वच्छ हावापानी, खानपिन र रहनसहनको जति महत्त्व छ, त्यति नै सभ्य समाजको निर्माणमा मानवीय व्यवहार, संस्कार वा संस्कृति स्वस्थ हुनु जरुरी छ। देशभित्र रोग, भोक, शोक, विभेद र अशान्ति नहोस्। कसैको पसिनामा कोही राज गर्न नपाओस्। कसैले मानव हुनुको पहिचान गुमाउनु नपरोस्। यिनै सन्दर्भलाई शब्दजालका मालामा कलात्मक ढंगले कुद्ने उपन्यासकार हुन्, दिलीप ढकाल। उनको छलाङ उपन्यासलाई शिखा बुक्सले बजारमा ल्याएको छ।
झट्ट हेर्दा देश विकासको गतिलाई आधार मानेर लेखिएको वैज्ञानिक उपन्यास हो कि भन्ने अनुमान गर्न सकिन्छ। तर समाजका विभेदका तमाम शृंखला चिर्न तत्पर आलोचनात्मक यथार्थवादी एवं स्वैरकाल्पनिक उपन्यास हो यो। समतामूलक समाजको निर्माण चाहने हो भने विभेदपूर्ण परिस्थितिलाई बदल्ने जिम्मेवारी हरेक नागरिकको हुन्छ। देशमा जाति, वर्ग, धर्म, लिंग, भूगोल आदिका आधारमा गर्दै आएको विभेदको निराकरणमा छन् युवा। उनीहरू समतामूलक समाजको निर्माणमा आकर्षित छन्। प्रेम, राजनीति र वर्गीय एवं जातीय विभेदविरुद्ध युवाद्धारा चालिएका कदमलाई विषयवस्तु बनाइएको छ उपन्यासमा।
सबै मिलेर भ्रष्टाचारमुक्त, न्यायपूर्ण, विभेदरहित कदमलाई आत्मसात् गर्दै जन्मभूमिलाई मात्र नभएर सिंगो पृथ्वीलाई जननी र सबै मानवलाई एकै परिवार मानी धरतीलाई सिँगार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्ने कल्पना उपन्यासमा देखिन्छ।
मूल पात्र कथित दलित समुदायको विश्वकर्मा थरकी युवती मानवी र कथित उच्च जातका ब्राह्मण परिवारको युवक प्रभातको उपस्थिति छ। राजनीतिक रूपमा उत्तिकै सक्रिय र सचेत दुवै पात्रले देशविकासका लागि खेलेको भूमिका अत्यन्त सराहनीय छ। सामान्य परिवारमा जन्मिहुर्केका युवकयुवतीले समतामूलक देश निर्माणको कल्पना गरेर चालेका संघर्षपूर्ण कदमहरू चुनौतीयुक्त छन्। हिम्मत र संघर्ष नै सफलताको मूल जड हो भन्ने सिद्धान्त आत्मसात् गरेर अघि बढेका यी जोडीका जीवनका सुखदुःखका आयाम र अनेक मोडलाई उपन्यासले विषयवस्तु बनाएको छ।
मूलतः गण्डकी प्रदेश, स्याङ्जाको ग्रामीण परिवेशलाई यथार्थ रूपमा टिपिएको छ। उपन्यासको कथावस्तु, घटना तथा परिवेश प्रभात र मानवीकै जीवनयात्रासँगै गाउँसहरबाट वैदेशिक मुलुकसम्म पुगेको छ। यसमा समाविष्ट ग्रामीण परिवेश, घटना तथा पात्रहरू भने भौगोलिक हिसाबले एक जिल्ला विशेषमा केन्द्रित नभई सिंगो नेपालकै ग्रामीण जनजीवनको प्रतिनिधि बनेर देखा परेका छन्। उपन्यासको नायक प्रभात उच्च शिक्षा अध्ययनका लागि पोखरा पुग्छ। सादा जीवन र उच्च विचारको भावलाई शिरोधार्य गर्ने प्रभातको जीवनशैली कष्टप्रद, संघर्षपूर्ण र अभावमय छ। तर त्यसभन्दा समतामूलक समाज निर्माणप्रतिको तीव्र इच्छाका कारण भौतिक सुखसुविधा उसका लागि नगन्य बनेका छन्। सानैदेखि उसमा जातीय, वर्गीय, सामाजिक विभेदप्रतिको चेतनाले बास गरेको छ। विभेदका पर्खालहरूलाई चिर्ने अभियानमा उत्रिने उसको सोचको प्रेरक ऊ जन्मेको गाउँको माथिल्लो टोल र तल्लो टोलबीचको आर्थिक, सामाजिक र व्यावहारिक भिन्नता र सोच नै हो।
उपन्यासमा युवावर्गमा कम्युनिस्टप्रतिको बढ्दो आकर्षण भेटिन्छ। कम्युनिस्ट सिद्धान्त बोकेर संगठित भएको ‘सार्थक शक्ति पार्टी’कै प्रतिनिधि र केन्द्रीय चरित्रका रूपमा प्रभातको उदय भएको छ। जसले विभेद, भ्रष्टाचार, बलात्कार, व्यभिचाररहित विकसित एवं अग्रगामी राष्ट्र नेपालको निर्माण द्रूतगतिमा गर्ने लक्ष्य बोकेको छ। क्रान्ति गर्दागर्दै जेल परेको प्रभातमा जेलबाट मुक्त भएपछि जागृत भएको क्रान्तिकारी चेतना झन् प्रबल देखिन्छ। गणतन्त्र आएपछि पनि ऊ भन्थ्यो– ‘जनसत्ताका बाधक एउटा राजाका विरुद्धमा लडेर मात्र जनक्रान्ति कसरी सफल भयो र ? देशभर दलित दलित नै छन्। गरिब गरिब नै छन्। राज्यसत्ताको बागडोरको हस्तान्तरणमात्रै जनविद्रोहको ध्येय होइन। असमानताको कालो बादल सदाका लागि बिलाएर समतारूपी उषा सदाका लागि उदाउनुपर्यो अनि बल्ल जनविद्रोह सार्थक हुन्छ’ (पृ. १६)।
प्रभातकै पदचाप पछ्याएकी मानवी पोखरामा अध्ययनरत विद्यार्थी हो। राजनीतिप्रति विशेष रुचि राख्ने र समर्पित बनेर हिँड्ने उनी क्रान्तिकारी पात्र हो। जातीय अपमानको चोटिलो घाउलाई मनमा बोकेर कम्युनिस्ट विचारधारामा लागेकी मानवी सरल तर बुद्धिमान् नारीपात्रका रूपमा देखा परेकी छ। राजनीतिमा समय निकाल्न सक्ने कुशल गृहणी र राजनीतिक योद्धाका रूपमा उनको उपस्थिति देखिन्छ। मान्छेले चाहेजस्तो र सोचेजस्तो जीवन कसैको हुँदैन। योजना गरेअनुसारकै जीवनयात्रा हुने हो भने कसको जीवनले नै उतारचढावको सामना गर्न बाध्य हुनुपथ्र्यो र ? मानवीको श्रीमान् गम्भीरकै योजनामा मन नलागेरै बिदेसिएकी मानवीका जीवनमा आएको उतारचढावले पारिवारिक सम्बन्धलाई विघटित तुल्याएको छ।
उपन्यासकार ढकालले चित्रण गरेजस्तै हिमाल, पहाड र तराईको भेद मेटिएर धर्मका नाममा हुने गरेका छन्, विविध मतमतान्तर र खिचातानी। सबै मिलेर भ्रष्टाचारमुक्त, न्यायपूर्ण, विभेदरहित कदमलाई आत्मसात् गर्दै जन्मभूमिलाई मात्र नभएर सिंगो पृथ्वीलाई जननी र सबै मानवलाई एकै परिवार मानी धरतीलाई सिँगार्ने अभियानमा हातेमालो गर्दै अघि बढ्ने कल्पना उपन्यासमा देखिन्छ।