पुस्तकमा अभिव्यक्ति विषयगत विविधताका कारण अन्तर्वस्तु र प्रस्तुतिले निबन्धमा परिवर्तन ल्याएको छ।
नेपाली निबन्धको साढे दुई सय वर्षको परम्परा छ। जसमा साहित्यका अन्य विधाजस्तो यसको इतिहास लामो देखिँदैन। आत्मपरक निबन्ध लेख्नु चुनौतीपूर्ण कार्य मानिन्छ। त्यसैले स्रष्टाहरूको उपस्थिति कमै देखिन्छ। आत्मपरक निबन्ध भनेको आफूले आफैंलाई पढ्नु हो। यसभित्र निजात्मकता र वैयक्तिकता हुन्छ। अनि आफूलाई नढाँटी प्रस्तुत गरिन्छ। यसमा विचार, चिन्तन र दृष्टिकोण प्रस्तुत गरिएको हुन्छ।
यही निबन्धको ऐतिहासिक चरणमा समकालीन नेपाली निबन्ध परम्परामा श्रीओम श्रेष्ठ ‘रोदन’को ‘समकालीन नेपाली निबन्ध’ मानक कृतिका रूपमा देखिन्छ। उनको सम्पादनमा प्रकाशित ‘समकालीन नेपाली निबन्ध’ (२०७९) नेपाली निबन्धको इतिहासमै पहिलो आत्मपरक निबन्ध संग्रह हो। २०४० को दशकदेखि निबन्ध लेखनमा सक्रिय श्रीओमद्वारा सम्पादित यो कृतिको पनि विशेष महत्त्व छ। जसभित्र जीवित निबन्धकारका झन्डै चार दर्जन आत्मपरक निबन्ध छन्। जीवन र जगत्प्रतिको दृष्टिकोण, वैयक्तिक जीवनका अनुभूतिहरू, राजनीतिक, सामाजिक परिदृश्यको सूक्ष्म निरीक्षण, कलात्मक मूल्य, काव्यात्मक लालित्यपूर्ण एवं काव्यात्मक भाषाशैलीको प्रयोग, सुक्तिमयता आदि यी समकालीन निबन्धमा पाइने विशेषता हुन्। सरल सुबोध्य भाषाले यसभित्रका निबन्धलाई अझ बढी आस्वादनीय बनाएका छन्। यी निबन्ध जीवन र जगत्लाई हेर्ने दार्शनिक दृष्टिकोण प्रस्तुत गर्न सक्षम छन्।
पृथ्वीनारायण शाहको ‘दिव्योपदेश’बाट प्रारम्भ भएको नेपाली निबन्ध परम्परामा १९९१ सालमा ऋद्धिबहादुर मल्लले सम्पादन गरेको ‘शारदा’ पत्रिकाको प्रकाशनसँगै आधुनिककाल आरम्भ भएको पाइन्छ। यसरी झन्डै नौ दशकको समयावधि पार गरेको आधुनिक नेपाली निबन्धको जगमा आत्मपरक निबन्ध संख्यात्मक दृष्टिले कान्छो मानिन्छ। ‘समकालीन नेपाली निबन्ध’ नेपाली निबन्धको इतिहासमा आत्मपरक निबन्धको जगमा नौलो आयाम बोकेको पहिलो मझौला आकारको कृति हो। यसमा ९० हाराहारीका वरिष्ठ निबन्धकार तेजेश्वरबाबु ग्वंगदेखि कान्छो पुस्ताकी अनिता न्यौपानेसम्मका लामाछोटा ४५ निबन्ध संकलित छन्। यसमा छोटा आकारका तीन–चार पृष्ठका १२, मझौला आकारका ५–६ पृष्ठका २३ र ७–९ पृष्ठसम्मका लामा आकारका १० निबन्ध छन्।
निबन्ध नेपाली साहित्यको कान्छो विधा हो। साढे दुई सय वर्षको इतिहास बोकेको नेपाली निबन्ध परम्परामा आत्मपरक निबन्धको इतिहास भने छोटो छ। १८३१ सालको ‘दिव्योपदेश’बाट प्रारम्भ भएको नेपाली निबन्ध पछिल्लो समयको सामूहिक संकलन ‘समकालीन नेपाली निबन्ध’ अन्तर्वस्तु र शैली दुवै दृष्टिले विविधतामय छ। निबन्धका विभिन्न भेद भए पनि गैरआख्यान विधाका रूपमा आत्मपरक निबन्ध नै यसको पहिचान हो। यसको पठनमा पाठकको रुचि बढ्दै जानु यसको सकारात्मक पक्ष हो।
जीवित निबन्धकारका निबन्धमात्र संग्रहीत यस संग्रहका सबै निबन्धमा अन्तर्वस्तु, भाव वा विचार अविरल रूपमा प्रवाहित भएका छन्। जसभित्र तेजेश्वरबाबु ग्वंगः, गोविन्दराज भट्टराई, रमेश गोर्खाली, रामबाबु घिमिरे, कृष्ण धरावासी, श्रीओम श्रेष्ठ ‘रोदन’, लक्ष्मणप्रसाद गौतम, मोमिला, ज्ञानु अधिकारी, कुमारी लामा, गीता त्रिपाठी, नवीन विभासलगायत निबन्धकारका ४५ निबन्ध संकलित छन्। ‘समकालीन नेपाली निबन्ध’ विशुद्ध आत्मपरक निबन्धको संगालो भनिए पनि कतिपय निबन्ध यात्रा संस्मरणजस्ता पनि छन्।
संग्रहभित्रका निबन्धहरूमा निबन्धकारका आआफ्नै वैचारिक चिन्तन र चेतनाअनुरूप निजात्मकता, वैयक्तिकता, वैचारिकता, संस्मरणात्मकता, स्मृतिबिम्बको प्रयोग, भावात्मक, अनुभूतिको प्रकटीकरण, भाषाशैलीगत वैशिष्ठ्य अभिव्यक्त भएका छन्। कतिपय निबन्ध खँदिला र जटिल खालका छन्। कतिपय उच्च कलात्मक मूल्यका छन् भने कतिपय अपेक्षाकृत कम खँदिला खालका देखिन्छन्।
यसमा ‘अक्षर र अक्षता’, ‘केन्द्र र परिधि’, ‘कहाँ देख्नु आफैंलाई’, ‘पुस्तकमा ध्यानस्थ छु म’, ‘ईश्वरको अदालतमा आउट साइडरको बयान’, ‘के म सफल आमा बन्न सकें ?’ आदि निबन्ध उच्च कलात्मक मूल्यका छन्। ‘दार्शनिक जिज्ञासा’, ‘सहयात्रीको डायरी’, ‘ऊ मेरो अमूक प्रेमी’, ‘डुब्न लागेको घामसँगै उदाउने लामिछाने’ आदि निबन्ध उच्च मध्यमस्तरका देखिन्छन्। ‘समकालीन नेपाली निबन्ध’भित्रका निबन्धहरूमा निबन्धकारका आत्मप्रकटीकरणका कारण अनुभूति पक्ष तीव्र र शैलीगत विविधता पाइन्छ। संग्रहमा अभिव्यक्त विषयगत विविधताका कारण अन्तर्वस्तु र प्रस्तुतिले नेपाली निबन्धको इतिहासमा परिवर्तन ल्याइदिएको छ। जेहोस्, यो कृति ऐतिहासिक, गुणात्मक र कलात्मक मूल्यका दृष्टिले महत्त्वपूर्ण छ।