मध्यपहाडी लोकमार्गले रुकुम पूर्व र पश्चिम, बागलुङसम्मका नागरिकलाई छोटो दूरीमा संघीय राजधानी पुग्ने यात्रा सहज बनाइदियो।
मध्यपहाडको समृद्धिको आधारका रूपमा रहेको पुष्पलाल (मध्यपहाडी) राजमार्गको निर्माण सुरु भएको डेढ दशक बित्यो। राष्ट्रिय गौरवको यो आयोजनालाई कर्णालीबाट कोसी प्रदेशको सिमानासम्म हेर्ने हो भने नेपालको सबै प्रकारको हावापानी, लोकसंस्कृति र भूगोल भेटिन्छ। यो आयोजनाले नेपालको महाभारत शृंखलाभन्दा माथिको मध्यपहाडी भागका २६ जिल्ला तथा २ सय १५ बस्तीलाई जोडेको छ। आर्थिक वर्ष २०६४/६५ बाट सुरु गरी २०७९/८० सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको यो राजमार्ग हालसम्म ६८ प्रतिशत काम सम्पन्न भएको छ।
पूर्वी नेपालको पाँचथर जिल्लाबाट सुरु भएर सुदूरपश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म करिब १ हजार ८ सय ७९ किलोमिटर यसको दूरी छ। सुर्खेतको वीरेन्द्रनगरदेखि जाजरकोट सदरमुकाम खलंगा बजारसम्म ऐतिहासिक दरबार, गर्मीयाममा पनि शीतल दिने लेकाली लोभलाग्दा डाँडाहरू भेटिन्छन्।
सानी भेरीको किनारैकिनार रुकुम पश्चिम पुगिन्छ। रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा भाइरल पुल छ। यस राजमार्गले रुकुम पश्चिमको पूरापूरी दृश्यावलोकन गराउँछ। त्यहाँबाट लेकाली बाटो अघि बढ्छ। अगाडि फिरफिरे डाँडाबाट आन्तरिक पर्यटकले आनन्द लिन्छन्। रुकुम पश्चिम पार गरेपछि रुकुम पूर्व प्रवेश गर्छ सडक।
रुकुम पूर्व प्रवेश गर्नासाथ सिस्ने पुगिन्छ। जुन रुकुम पूर्वको सदरमुकाम पनि हो। नेपालको कान्छो जिल्ला मानिन्छ, कालीकोट। रुकुम पूर्वको प्रवेशसँगै कमल ताल पुगिन्छ। पूरै तालभरि देखिने कमलको फूलले लोभलाग्दो वातावरण सिर्जना गरेको छ। हिलोमा फुल्ने फूल कमलको विशेषताले जीवनमा सयौंलाई उत्प्रेरणा दिएको छ। हिलोमा फुल्ने फूल भनेर के गर्नु ? तालको वरिपरि धेरै मानिस त्यही फूललाई कैद गरिरहेका थिए। कृष्ण श्रेष्ठ, भूपेन्द्र बीसी, पत्रकार गोविन्द केसीसहितको हाम्रो समूह पनि अछूतो रहेन।
पहिलो दिन रुकुम पूर्वमै साँझ पर्यो। सिस्ने गाउँपालिका जहाँ मध्यपहाडी राजमार्गको दैलेखदेखि जाजरकोट, रुकुम पूर्व र पश्चिम हेर्ने इन्जिनियरहरू युवराज पोखरेल र होमनाथ पौडेलसँग राजमार्गबारे जानकारी पाइयो।
दोस्रो दिन रुकुम पूर्वबाट दुई किलोमिटर मात्र अगाडि पुगेका थियौं जहाँ जनयुद्धमा ज्यान गुमाएका लडाकुहरूको सालिक देखिए। जसलाई ‘सहिद स्मारक’ भनिएको रहेछ। त्यहाँबाट पाँच किलोमिटर अगाडि गुरिल्ला मार्ग भेटियो। निकै रमाइलो पहाडी सुन्दर भू–भागको बीचबाट दुई लेनको कालोपत्रे सडक अघि बढेको छ।
मध्यपहाडका सुन्दर डाँडाकाँडा देख्दा लाग्यो, नेपाल प्राकृतिक रूपमा धनी छ। रुकुम पूर्वको यात्रामा कृत्रिम झर्नाले स्वाद थप्छ। झन्डै तीन घण्टाको दूरी पार गरेपछि रुकुम पूर्व र बागलुङको सिमानामा पर्ने लेकाली भेक पाती हाल्न पुग्यौं। जहाँ वैशाखमा पनि हिउँ देखियो। निकै सुन्दर तर चिसो लाग्ने डाँडामा पुग्दा जोकोहीको मन प्रफुल्ल हुने रहेछ। दोस्रो दिन बागलुङको बुर्तिवाङ बजार पुग्यौं। बुर्तिवाङ बजार मध्यपहाडी राजमार्गकै कारण चर्चित बनेको सुन्दर बजार रहेछ। बागलुङ गल्कोट, बागलुङ बजार हुँदै पर्वतको कुश्मा पुगियो।
गर्मी समयमा पनि चिसो अनुभूति गराउने पर्वत सदरमुकाम कुश्मामा बन्जीजम्पले थप सौन्दर्य बढाएको पाइयो। लुम्लेको डाँडाबाट सुन्दर पाखापखेराहरूसँग रुमलिने अवसर मिल्दो रहेछ। मुटु छुने लुम्लेको हावाले भनेर गीत त्यसै लेखिएको रहेनछ। नेपालकै सुन्दर नगरी पोखरा पुगियो।
तेस्रो दिन यात्रा पोखराबाट तनहुँ लाग्यौं। सदरमुकाम दमौली बजारपछि चर्चित पर्यटकीय क्षेत्र बन्दीपुरको दर्शन गर्ने अवसर पाइयो। पुन: आँबुखैरेनी हुँदै गोरखा नलागेर मुग्लिन हुँदै गल्छी भएर नुवाकोट लागियो।
चौथो दिन, नुवाकोटबाट मध्यपहाडी राजमार्ग छाडेर रसुवा पुग्यौं। जहाँ चीनसँग जोडिएको कोरला नाका छ। रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले चीनले नाका बन्द गरेको जानकारी गराएपछि यात्रा लामटाङ राष्ट्रिय निकुञ्जतर्फ मोडियो। त्यसपछि नुवाकोटको ढलानघर हुँदै काठमाडौं नजिक प्राचीन ऐतिहासिक सहर टोखा टेकियो।
पाँचौं दिन, काठमाडौंबाट बीपी राजमार्ग हुँदै अघि बढियो।
छैटौं दिन सिन्धुली सदरमुकाम माडी बजार र अर्को ऐतिहासिकस्थल सिन्धुलीगढी अवलोकन गर्ने अवसर जुर्यो। सिन्धुलीगढीमा नेपाली वीर गोरखालीको इतिहास रहेछ। दरबार र संग्रहालयले आन्तरिक पर्यटक प्रवद्र्धन गरेको पाइयो। बीपी राजमार्गको उक्त खण्डछेउछाउ ऐनैऐनाले सजाइएको सुन्दर दृश्यले सबैको मन तान्दो रहेछ। भित्तामा सेतीदेवी माताको मन्दिर रहेछ। अनौठो कुरा के भने त्यहाँ सडकको भित्तामा राखिएका ऐनाभित्र जसले पैसा पायो, ऊ भाग्यमानी हुने धार्मिक विश्वास रहेछ। सुनकोसी नदीको किनारैकिनार सिन्धुलीकै खुर्कोट पुगियो। जुन ठाउँ सिन्धुली, ओखलढुंगा र खोटाङ जिल्लाको सिमाना रहेछ।
घुर्मीबाट फेरि मध्यपहाडी राजमार्ग जोडियो। घुर्मीबाट सुनकोसी नदीको किनारैकिनार पाँच किलोमिटर यात्रा गरेपछि सुनकोसी नदीपार गर्न पुल तरियो। जहाँ ओखलढुंगा जिल्लाले स्वागत गरेको गेट थियो। अलिपर ओखलढुंगा जाने र खोटाङ हलेसी छुट्ने बाटो जयरामघाट रहेछ। सडकबाट दायाँ लागे खोटाङको हलेसी महादेव पुगिने रहेछ। जयरामघाटदेखि खोटाङ हलेसी जाने मध्यपहाडी राजमार्ग पुरानो सडक स्तरोन्नति नगरिएकाले निकै साँघुरो र जोखिमयुक्त रहेछ। कर्णालीको कडा चट्टानी बाटोमा यात्रा गरेकालाई खासै फरक नपर्ला, अन्य यात्रुलाई आछुआछु पार्ने रहेछ।
सातौं दिन हलेसीको दर्शन गरियो। धार्मिक तथा ऐतिहासिक हिसाबले निकै चर्चित र नेपालको पुग्नै पर्ने धार्मिक गन्तव्य रहेछ पूर्वका पशुपतिनाथ भनिने हलेसी। केही पर खोटाङको सदरमुकाम दिक्तेल बजार। मध्यपहाडी राजमार्ग नछोडी अघि बढेपछि भोजपुर पुगिने रहेछ। तर खाल्डा र हिलाम्ये सडकका कारण यात्राले ओखलढुंगाको मोड लियो। हलेसीबाट चार घण्टामै ओखलढुंगा पुग्यौं। कवि सिद्धिचरण श्रेष्ठको जन्म जिल्ला। उनले त्यसैले लेखेका रहेनछन्, मेरो प्यारो ओखलढुंगा।
आठौं दिन विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको जिल्ला सोलुखुम्बु पुगियो। सोलुखुम्बुको सल्लेरी बजार निकै मनमोहक लाग्यो। पुन: ओखलढुंगा, सिन्धुली हुँदै मधेस प्रदेश प्रवेश गरियो। मिथिलाञ्चलको धार्मिक धरोहर जनकपुरको रमझम अविस्मरणीय रह्यो।
नवौं दिन अर्को धार्मिक महत्वको महोत्तरीस्थित जलेश्वर महादेवको दर्शन सम्भव भयो।सर्लाहीको चर्चित पर्यटकीयस्थल भरत ताल घुम्ने अवसर अनुपम रह्यो। बागमतीका नगरप्रमुख भरत थापाको परिकल्पनामा १ सय २६ बिघा जमिनमा भरत ताल निर्माण हुँदै रहेछ। हाल ६० बिघाको तालमा पानीजहाज चलाइएको रहेछ। रौतहटको चन्द्रनिगाहापुरमा स्थानीय चर्चित परिकार कटियाको स्वाद पाइयो। त्यसपछि बाराको सिमरा बजार।
दसौं दिन सिमराबाट जहाजमा काठमाडौं हुँदै सुर्खेत फर्कियौं।
मध्यपहाडी लोकमार्गमा भएको यात्राले मुख्य तीन कुराको अनुभूति गरायो। पहिलो, कर्णालीका पहाडी जिल्लाहरू जुन यातायात असुविधाकै कारण पहिले पहिले बसाइँसराइ बढी गर्थे। पहाडमै सम्भावना देखाएर मध्यपहाडी लोकमार्गले त्यो बसाइँसराइलाई रोक्यो। दोस्रो, रुकुमपुर्व र पश्चिम, बागलुङसम्मका नागरिकलाई छोटो दूरीमा संघीय राजधानी पुग्ने यात्रा सहज बनाइदियो। तेस्रो, पूर्वी पाँचथर जिल्लाको चियोभन्ज्याङबाट पश्चिम बैतडी जिल्लाको झुलाघाटलाई एकैपटक पूर्व–पश्चिम यात्रा गर्ने अवसर दिलायो।
मध्यपहाडी लोकमार्गले पाँचथर, तेह्रथुम, धनकुटा, भोजपुर, ओखलढुंगा, उदयपुर, सिन्धुली, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बाग्लुङ, पूर्वी रुकुम, रुकुम पश्चिम, जाजरकोट, दैलेख, अछाम, डोटी, डँडेलधुरा र बैतडीसम्मको नेपालको भ्रमण गर्ने सहज रुट बनाएको छ। मध्यपहाडी लोकमार्ग नेपालको सडक सञ्जालको ठूलो महत्व बोकेको दूरगामी लाभको राजमार्ग हो।
१ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको १ हजार ३ सय १९ किलोमिटर सडक खण्ड कालोपत्रे भइसकेको छ। बाँकी कालोपत्रेको काम भइरहेको छ। यो राजमार्गमा १ सय ३७ वटा पुल बन्नेछन्। जसमा ९९ वटा पुल बनिसकेका रहेछन् भने २३ वटा निर्माणाधीन छन्। १५ पुलको ठेक्का व्यवस्थापन हुन बाँकी रहेछ। कुल अनुमानित लागत ८४ अर्ब ३३ करोडमा हालसम्म ६२ अर्ब ११ करोड खर्च भइसकेको रहेछ।