वीरगाथाकालीन (१४५०—१८७३) नेपाली साहित्यमा द्वन्द्वको प्रभाव खासै भेटिँदैन। आन्तरिक होस् वा बाह्य, युद्धको मुख्य उद्देश्य शत्रुपक्षमाथि विजय हासिल गर्ने हुन्छ। कसरी दुश्मनलाई पराजित गर्न सकिन्छ, कसरी बढीभन्दा बढी शत्रुसेनाको हत्या गर्न सकिन्छ भन्ने चिन्तनमा आधारित हुन्छ युद्ध।
लोकगाथाकालीन साहित्यमा राजा र युद्धनायकप्रति भक्तिभाव व्यक्त गरिएको पाइन्छ। सामान्यतया चाँचरी र कर्खाहरू युद्धमा वीरगति प्राप्त गर्ने योद्धा र राजाको पराक्रम र वीरताको वर्णन गरी रचिने भएकाले पनि त्यस्तो साहित्यमा द्वन्द्वको प्रभाव न्यून हुन्छ। लोकगाथाकालीन केही चाँचरीमा मात्र राजाले गरेको अत्याचारको विरोध गरिएको छ। त्यस्तैमध्येको एउटा गाथा हो ‘रिपुमल्लकी चाँचरी।’
यो चाँचरी डोटी, अजैमेरकोटका राजा निरयपाललाई हटाई अछाम तिमिल्सैनका राजा रिपु मल्ललाई सत्तासीन गराइएको कथा छ। चाँचरीमा जनताले निरै पालले पाप गरेकोले सजाय भोग्न तल झर्न दबाब दिँदै भन्छन् :
‘ए ! तमैरे जति है निरै पाल भोर्या तल्ली चाक ओल
ए ! क्यावैहार हे पलापैकी तल्ली चाक ओलु
ए ! तमैरे जति निरै पालौ भोल्यानै कि निको बोल
ए ! तसैहार निरैपाल भौल्या तल्ली चाक ओल
ए ! तसैहार पलापैकी मौल्या तल्ली चाक ओल।’
(डोटेली लोक साहित्य, २०३२)
डोटी राज्यका राजा हरि शाहीको शासनकालमा मुगल सेनासित युद्ध भएको थियो। ‘नरपति शाहीको चैत’ दोस्रोपल्ट युद्ध गर्न आएको मुगल सेनासित भएको युद्धको नेतृत्व गरी लड्दालड्दै वीरगति प्राप्त गर्ने हरि शाहीका भाइ नरपतिमाथि रचिएको गाथा हो। यो युद्ध तराईसँगै जोडिएका ‘फल्टुँड्या’ र ‘बयलाकी’ गढीमा भएको थियो। युद्धमा सिञ्जा राज्य पनि सहभागी भएको देखिन्छ। यसबाट पनि यो युद्ध भयानक प्रकृतिको हुनुपर्छ भनेर अनुमान लगाउन सकिन्छ। युद्धमा आफू मारिए पनि नरपतिले मुगल सेनालाई अघि बढ्न दिएनन्। हेरौं सानो अंश :
‘फल्टुँड्या गढीमाथि ठोकिया निसान
माल मुगुलक उगडिगया कान
फल्टुँड्या गढी माथि बाँजैकी वोटी
बयलाकी गडी जाई जुजिलाग्यो लोटी
पैली जुजनी जुज्यो सिञ्जा महाराज
दोसरी जुजनी जुज्यो भुवापति शाही
तेसरी जुजनी जुज्यो नरपति शाही
नरपति शाहीको ज्यूनार पाकी खीर
नरपति शाही लाग्यो मलौट्या तीर।’
(डोटेली लोकसाहित्य, २०३२)
राजा राम शाहीको पालामा डोटीमाथि कुमाउँ र मुगल सेनाले आक्रमण गरेका थिए। सेनाको नेतृत्व गरी युद्धमा गएको पिरबोरा मल्ल कुमाउँका सेनासँग लड्दालड्दै वीरगति प्राप्त गर्यो। त्यही युद्धवीर पिरिबोरा मल्लको वीरता र शहादतबारे रचिएको गाथा हो ‘पिरबोराको चैत’। अंश :
‘पिरी बोरा पउँच्यो पिथौरा गढ जाइ
सिनी हाल्या झगुलीको राखिहाल्यो फेर
आइ पड्या बोरो कसैकी न हेर
सनि मुख रनि मुख बोरो लडन्थ्यो
कुमैञाकी जुल्फी समाई खेल खेलन्थ्यो
गात लागी पिरिका हत्याराकी धार
दुई साँट भुत्याकी तीन तरबार।’
(डोटेली लोकसाहित्य, २०३२)
बृहत्तर नेपाल निर्माणका लागि भएका युद्धमाथि लेखिएको साहित्यमा द्वन्द्व र संघर्ष कमै भेटिन्छ। यसको सट्टा वीरता, सौर्य र राष्ट्रियताले भरिएका कविता सिर्जना भएको पाइन्छ। राजनीतिक र सामाजिक द्वन्द्वको प्रत्यक्ष प्रभाव नदेखिए पनि युद्धरत पक्षबीचको द्वन्द्वमाथि लेखिएको यस्तो साहित्य मूलत द्वन्द्व साहित्यकै कोटीमा पर्छ। यस्तै द्वन्द्व र संघर्षको चित्रण उदयानन्द अज्र्यालको महाकाव्य ‘पृथ्वीन्द्रोदय’मा भेटिन्छ।
महाकाव्यमा भेटिने द्वन्द्व राजनीतिक, सामाजिक र वर्गीय विषयमा नभएर राज्यविस्तारको क्रममा सिर्जना भएका यौद्धिक विषयमा केन्द्रित छ। काव्यमा गुरगिन खानका सेनासँग गोर्खाली सेना लडेको युद्धको कवि उदयानन्द अज्र्यालले सुन्दर ढंगले चित्रण गरेका छन्। यो दुई पक्षका सेनाबीचमा भएको युद्धमा आधारित कविता मात्र नभएर नेपालको सुरक्षार्थ आक्रमणकारी विदेशी सेनासँग गोर्खाली सेना लड्दाको चित्रण पनि हो, जसलाई युद्धकालीन द्वन्द्वसाहित्यको अत्युत्तम रचना मान्न सकिन्छ।
वि.सं. १८१९ माघ १० मा पश्चिम बंगाल, मुर्सिदावादका नवाब मीर कासिम (कासिम अलि खान) का सेन र गोर्खाली सेनाका बीचमा मकवानपुरमा भएको लडाइँको चित्रण गर्दै ‘पृथ्वीन्द्रोदय’ महाकाव्यमा लेखिएका केही श्लोक हेरौं :
‘कतै काली गोरख् कतै पर्वताला
कतै शब्द राजन् छ अल्लाहचाला
पर्या भारी सोला गर्या मुख त काला
बुझ्या सेरको घेर्भया हालहाला।’
(पृथ्वीन्द्रोदय : पृष्ठ ९०, श्लोक नं. १०९)
‘कतै सेर खुँडा चमक्न्या त बिच्मा
कतै तोप बन्दुक धमक्न्या त खिंचमा’
(पृथ्वीन्द्रोदय : पृष्ठ ९०, श्लोक नं. ११०)
‘दिल्ली बिल्ली गराउँ न्या यवन त्यो कस्मिल्लिखांको जमा तोप्वाला तिर सेर ग्रह्र ती लडाक् साठी हजार्भोजमा
मार्या रातम (हांं) त डांक नृपले सेर्कांढले धोजमा
भो दिल्लीकन फोरी लाज पनि ता भाग्यो त मन् खोजमा।’
(पृथ्वीन्द्रोदय : पृष्ठ ९२, श्लोक नं. ११४)
मकवानपुरमा मुगल सेनासँग युद्ध भएको करिब पाँच वर्षपछि सिन्धुलीगढीमा अंग्रेज र नेपाली सेनाबीच अर्को भीषण युद्ध भयो। अंग्रेज सेनासँग भएको उक्त युद्धमाथि लेखिएका ‘पृथ्वीन्द्रोदय’ महाकाव्यका केही श्लोक हेरौं :
‘कस्मिल्ली (का) झ्याञि तखत् लिन्या छल्
मर्कट् उठ्याको छ त येही नक्कल्
खिलाउनू काँढ र सेरका हल्
बुझ्ला तहां ठग् पनि बेस अ (क्कल्)।’
(पृथ्वीन्द्रोदय : पृष्ठ ११३, श्लोक १७६)
‘चार्मुख् जाई त रातका विषयमा खुप् हांक (पारि) अघि
खल्बल् लस्कर डाँक मारी बीचमा पाल् जर्न लाग्या पछि
त्यै त्यै औसर वर्चिवासंगमहां चार्वत्र्त कांढ्सेर्धसी
मर्कट् (साथ ग) यो भग्यो रजनिमा बन्दुक छाड्यो नसी।’
(पृथ्वीन्द्रोदय : पृष्ठ ११४, श्लोक १८०)
युद्धकालमा उपत्यकावासीले भोग्नुपरेको त्रास र अभावका कारण विरोध र द्वन्द्वको अवस्था सिर्जना नभएको हैन तर त्यो विरोधको स्वर राजनीतिक द्वन्द्वको रूपमा प्रकटीकरण भएन। एकातिर तीन राज्यका मल्ल राजा कसरी गोर्खालीसँग लड्ने भन्ने रणनीति बनाउँदै थिए भने अर्कोतिर उपत्यका बासी मिरकासिम र अंग्रेज सेनालाई त पराजित गर्ने गोर्खाली सेना आयो भने हामीले जित्न सक्दैनौं, त्यसकारण उनीसँग लड्नुको औचित्य छैन, जसले जित्छन् उनै हाम्रा मालिक हुन्छन् भन्दै लाचारी व्यक्त गर्दै थिए। ‘पृथ्वीन्द्रोदय’ महाकाव्यको एउटा श्लोक हेरौं :
‘लडाञीमा धन् व्यरथा नफाल्या
हास्हुस् गर्या ज्यान् परिवार पाल्या
गौरुङ् त हौं बात त यो नफाल्या
जो जित्तछौ हाम्री त सोही भाल्या।’
(पृथ्वीन्द्रोदय : पृष्ठ २१९, श्लोक नं. ४६४)
पृथ्वीनारायण शाहले पनि अंग्रेजसँग भएको युद्धमाथि कविता लेखेको पाइन्छ। द्वन्द्वको झलक दिने उनले लेखेको ‘फिरंगानते फिरंगी’ कविताको सानो अंश यस प्रकार छ :
‘फिरंगानते फिरंगी दल दमडी आए चन्द्र सुरजको छपाए
टेढी चली लस्कर भाउ लालै लाल् तों तरन है।।
तोप चल्यो तुपुल् चल्यो मेइनी उलट् पर्यो
गोरेको तोडे बिना छोडी नहीँ आषीर् मर्दौ मरना है।।’ (वीरकालीन कविता, २०५७ : १११)
झट्ट पढ्दा तलको कवितांश राज्यविरोधी युद्धमा सरिक हुँदै गर्दाको भान हुन्छ। तर यो कुनै द्वन्द्व र संघर्षको गाथा नभएर नुवाकोट विजयका लागि सेना प्रस्थान गर्दाको दृश्य हो। यो कवितांश कवि शरदकुमार भट्टराईको काव्य ‘पृथ्वीविजय’ बाट लिइएको हो।
‘बाजा बजे वीरहरू उठाउँदै।
युवा उठे हत्पत जुर्मुराउँदै।।
उठे सिपाही खुकुरी समाउँदै।
आमा उठे सिन्दुर ली रमाउँदै।।’
(पृथ्वीविजय, २०६२, १४)
चौबिसे राज्यमाथि विजय प्राप्त गर्न नेपाली सेनालाई कैयौंपल्ट युद्ध गर्नुपरेको थियो। तनहुँ राज्यलाई कसरी विजय गर्न सकिन्छ भन्नेबारे कवि शक्तिवल्लभ अज्र्यालले ‘तनहुुँ भकुण्डो’ शीर्षकको कवितासमेत लेखे । वि.सं. १८३९ तिर लेखिएको उक्त कविताको एउटा श्लोक हेरौं :
धायको छ लमजुङ मकुण्डो
कास्की बाँध सुनको छ षुुकुण्डो।
पीउठानी कन देउ सुकुण्डो
मारी लेउ तनहँ त भकुण्डो।।२।।’
(वीरकालीन कविता, २०५७ : १६)
कुमाउँ निवासी कवि गुमानी पन्तले वि.सं. १८६७–७३ तिर लेखेको कवितामा प्रशस्तिको सट्टा विद्रोहको स्वर भेटिन्छ। राज्यविस्तारकालीन कवितामा जनताको दु: ख र पीडा व्यक्त भएका कविता साह्रै कम छन्। दुई कविता :
‘आटाका अणचा लिया खसखसा रोटा बडा बाकला
फानो फट्ट गुरुँस औ गहतको डुब्का विना लुणका।।
कालो साग जिनो बिना भुटनणको पिण्डालुका नौलका
ज्यौं त्यौं पेट भरी अकाल काटनी गङ्गावली रौणियां।।’
(वीरकालीन कविता, २०५७: ७४)
‘दिन–दिन खजानाका भारीका बोकनाले
शिव–शिव चलिमैंका बाल नै एककैका
तदपि मुलुक तेरो छोडी नै कोइ भाजा
इति वदति गुमानी धन्य गोर्खाली राजा।।’
(वीरकालीन कविता, २०५७ : ७४)
कालीपारि पुगिसक्दा नेपाली सेना विजेता र लुटाहामा परिवर्तन भएको थियो। जसका कारण त्यहाँका जनताको मन जित्न सकेन। गोर्खाली सेनाको लुटेरा चरित्रलाई गुमानी पन्त जस्ता कविले मात्र हैन आम जनताले पनि लोकगीत बनाएर चित्रण गरेका थिए। हेरौं एउटा टुक्रा :
‘राजा तेरे गोरखियाँ ने लुट्या पहाड
लुट्या पहाड गोरीरा लुट्या पहाड
तीस लुट्या वैरा लुट्या लुट्या भान्दल किहार,
पांगिदी पंगवालिया लुटियाँ लुटी बाँकी नार। राजा०
सुन्ना लुट्या चान्दी लुट्या, लुट्या जबाहरा
सेजा सुक्ती कामिनी लटियाँ लुटिया पहाड। राजा०’
(प्राथमिककालीन कवि र काव्यप्रवृत्ति २०३२)
कुमाउँ, गढवाल र किलाकाँगडामा भएको युद्धमाथि लेखिएको काव्य हो, देवीप्रसाद शर्मा पौडेलको ‘अमर सिंह (२०१२)’। काव्यमा कुमाउँ, गढवाल र काँगडामा भएको लडाइँको विवरण छ। कवि युद्धभूमिमा नेपाली सेना र गढवाली सेनाबीच भएको युद्धको चित्रण गर्दै लेख्छन् :
‘बढ्दै अगाडि गई त्यो गढवाललाई
नेपालीले सहजसाथ गर्यो चढाई
त्यो देहरादून नजीक पुगी प्रचण्ड
गढवाली सैन्यसँग भो घमसान जङ्ग।’
(अमर सिंह, २०१२, १०)
‘गोली र बर्छी तरबार छुरी घुँयत्रा
पर्रा छुटे ती वीरका घनघोर बाक्ला
झल्काउँदा खुकुरी, संगीन, बाँण, भाला
टिक्नै सकेन गढवाली भयो बिहाल।’
(अमर सिंह, २०१२, १०)
नेपाली सेनाले काँगडा विजय गरे पनि काँगडा किल्ला हात पार्न सकेन। किल्ला हात पार्न नसकेपछि नेपाली सेना काँगडालाई घेरा हालेर बस्यो। यही कारण काँगडाबासी र नेपाली सेनाबीच द्वन्द्वको अवस्था सिर्जना भयो। उक्त अवस्थालाई कवि देवीप्रसाद शर्मा यसरी चित्रण गर्छन् :
‘बढ्दै गई अमरले अझ काँगडाको
किल्ला विषे विजयको बइजन्ती राँको
सल्काउने सुर कसी कन पक्की घेरा
किल्ला वरिपरि बसे नब हाली डेरा।’
(अमर सिंह, २०१२, ११)
कवि यदुनाथ पोख्रेल ‘स्तुति–पद्य (१)मा राष्ट्रभक्ति र स्वाधीनताको भाव यसरी व्यक्त गर्छन् :
‘बडो बाजी ताजी महाराजि जो छन्
सवार्मा त वर्सी मनोरथ् कहन्छन्
फिरंगी हटाई लुटिपिटी चाँडो
पुगी आज गंगा पषाल्नु छ खाँडो।।२०।।’
(प्राग्भानुभक्तीय नेपाली काव्य, २०५३, ३५८)
अंग्रेजसँग पराजित भइसकेपछि पनि नेपाल र अंग्रेजबीचमा द्वन्द्वको मानसिकता कायमै थियो। नेपालीहरूमा अझै पनि लड्नुपर्छ र गुमेको भू–भाग फिर्ता ल्याउनुपर्छ भन्ने मानसिकता थियो भने अंग्रेजमा नेपाललाई कसरी पराधीन बनाउन सकिन्छ भन्ने चिन्तन कायम थियो। यही कारण नेपालीमा राष्ट्रवाद र राष्ट्रभक्तिको भावना बढेर गयो। नेपालमा विकसित हुँदै गएको राष्ट्रभक्तिको चित्रण गर्दै यदुनाथ पोख्रेल ‘स्तुति–पद्य (१)मा लेख्छन् :
‘गोरा त शूरा दुई एक हुन्छन्
गोर्षातिहाँ कातर आज कुन् छन्।
गारन् डराई पनि चिठ्ठी लेष्यो
नेपालका वीर सिपाहि देष्यो।।२३।।’
(प्राग्भानुभक्तीय नेपाली काव्य, २०५३, ३५९)।