जब जातीय विभेद उन्मूलन हुन्छ, तब जात सबैलाई प्रिय लाग्छ। बल्ल जातको महत्व थाहा हुन्छ। आफ्नै जात आफूलाई अरूको भन्दा विशेष र महान् लाग्छ।
‘विभेद विकृत विचारको उपज हो, जातको होइन। नपचेको विचार नपचेको भोजनभन्दा धेरै खराब हुन्छ।’
– महात्मा गान्धी
मानिस जिज्ञासु जीव हो। यो कलियुगको भयानक क्षुद्र जीव पनि हो। जसमध्ये पनि सबैभन्दा क्षुद्र जातीय हल्लाका बेवकुफहरू हुन्। जातीय विभेद यिनैद्वारा समाजमा भित्र्याइएको अक्षम्य विकृति हो। तिनीहरू आमजनतामा साँचो सन्देश दिनै चाहन्नन्। सामान्य मानिसलाई सधैं स्वाँठ ठानेर दुहुनो गाई बनाइरहन चाहन्छन्।
आजका यी अनेकौं सम्प्रदाय यिनै निकृष्टहरूका निकृष्टतम् कर्म हुन्। जातिभेद अनेकौं प्रचलनमध्ये सबैभन्दा निन्दनीय कुसंस्कार हो। सबै जीवमा अन्तर्निहित महान् गुणको निन्दा हो। मानवीय हिसाबले एक निकृष्ट कर्म हो। जातिमा निहित दिव्य गुणको रक्षा जीवहरूको सबैभन्दा सुन्दर शृंगार हो। यही गुणले नै उक्त जातिलाई शारीरिक, मानसिक र सामाजिक रूपमा सदा सबल र अब्बल राख्छ। हरेक जातिका लागि आफ्नो जातीय निजत्व अनेकौं दृष्टिकोणबाट सर्वोत्कृष्ट हुन्छ।
संसारको उत्पत्ति, स्थिति र संहारजस्ता लीलामा अपरिवर्तित छ। यसर्थ निर्मूल पार्ने त जातका विरोधीहरू अर्थात् जातीय विभेदकारीहरूलाई हो। जात बचे नै जीवनको अस्तित्व बच्ने हो। जात नरहे जीव नै रहँदैन र जीव नै नरहेको जीवन बाँच्नुको के अर्थ ? मेकाइबरले भनेका छन्, ‘कसैको पनि जातिले जीवनका कार्यहरू निश्चित गर्छ। तसर्थ जातलाई प्रेम गरौं। प्रेम ब्रह्माण्डको महान् शक्ति हो। विचारको सर्वोच्च आवृत्ति हो। विभेद मानव जीवनको अभिशाप हो।’
यसर्थ नकारात्मक सोचाइ र विचारलाई निर्मूल पारौं। समस्या विकृत विचारले ल्याएको विभेदको हो। विभेद कुरीति हो। अतः अन्त्य कुरीतिको गरौं। जातीय विभेद धारणा र अभिव्यक्तिभित्रको मानवनिर्मित सामाजिक दूराग्रहबाहेक केही होइन। जब जातीय विभेद उन्मूलन हुन्छ, तब जात सबैलाई प्रिय लाग्छ। बल्ल जातको महत्व थाहा हुन्छ। आफ्नै जात आफूलाई अरूको भन्दा विशेष र महान् लाग्छ।
के हो जात ?
पूर्वीय संस्कृतिमा देवी दुर्गालाई ‘शक्ति–स्वरूपा’का रूपमा चिनिन्छ। उनलाई नित्यस्वरूपा अर्थात् अजन्मा भनिन्छ। परन्तु अजन्मा भएर पनि भक्तहरूको कार्यसिद्धिका लागि उनी प्रकृतिका गुण अनुकूल आफूलाई सृष्टि गर्छिन्। ‘श्री दुर्गा सप्तशती’मा सारा जगत् यिनै देवीद्वारा व्याप्त छ भनिएको छ। सात सय श्लोकको यस पुस्तकको पाँचौं अध्यायको श्लोक–४१ मा जातलाई उनै माता दुर्गाको स्वरूपका रूपमा देवताहरूद्वारा यसप्रकार स्तुति गरिएको प्रसंग छ–
या देवी सर्वभुतेषु जातिरुपेण संस्थिता
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः।
यसर्थ जात जीवहरूमा निहित अत्यन्तै महत्त्वपूर्ण तत्त्व हो। जीवहरूमा निर्वासित ईश्वरको साक्षात् रूप हो। सबैबाट सदा पुजित तत्त्व हो। आफूभित्रको श्रद्धेय व्यक्तित्व हो। अतः जातिभेद भनेको ‘ईश्वरभेद’ हो अर्थात् ईश्वरलाई घृणा गर्नु हो। आफैंलाई घृणा गर्नु हो। आफूले आफैंलाई नरुचाउनु हो। आफूले आफैंलाई नरुचाएपछि अरूले रुचाएनन् भन्नु बेकार छ। आफ्नो अनुहारमा आफैंले रछानले छ्यापेर आफैंले आफूलाई छिःछिः भन्नुजस्तै हो।
कुललाई नष्ट पार्नु हो किनकि जात त जातिको कुलदेवता हो। धर्मलाई समाप्त पार्नु हो। यो त प्रत्येक जातिको ‘जीवनको गुभो’ हो, जीवनको आनन्द तत्त्व हो। जीवभित्रको जीवतत्त्व हो। वंशको कारक हो। योबिना जीव अपूर्ण छ। यो रागरहित छ। ‘जात’ एक संस्कृत शब्द हो। यसको अर्थ हुन्छ– जन्म वा जन्मिने वा प्रजाति। जीएच कुलेका अनुसार पनि जन्मैदेखि निश्चित भएको वर्गलाई जाति भनिन्छ। यसर्थ सबै जाति एकार्काका विरोधी हुन्छन्, भिन्न हुन्छन् परन्तु विशेष हुन्छन्।
हिमवतखण्ड, श्रीमद्भागवत, स्कन्दपुराणका अनुसार ‘उद्भिज’ (बीउबाट उम्रिने बोटबिरुवा र लतालहरा)’ स्वेदज (शारीरिक फोहोर र पसिनाको संयोजनबाट उत्पत्ति हुने उडुस, उपियाँ, जुम्रा आदि), ‘अण्डज’ (अन्डाबाट उत्पत्ति हुने कीटपतंग, पन्छीहरू र सरिसृपहरू) र ‘जरायुज वा पिण्डज’ (सीधै बच्चा जन्माउने जीवहरू) गरी जगत्भरका लाखौं जीवहरू चार प्रकारले जन्मिन्छन्। यो विज्ञानसम्मत वर्गीकरण हो। यसमा शंका र आपत्तिको जरुरत नै छैन।
जात एक दिव्य गुणको जन्म हो र जन्म एक दिव्यशक्तिको आविष्कार हो। जातसँगको आक्रोश बुद्धिमान् मानिसलाई सुहाउँदैन। परन्तु अचेल मानिसको बुद्धि निशाचरका आँखाजस्ता अँध्यारोमा उज्यालो देख्ने भएका छन्। फलतः उनीहरूले आफ्नै महान् मौलिक व्यक्तित्वलाई ‘जातपात निर्मूल पारौं !’ भन्दै सराप र गालीगलौज गर्न थालेका छन्। जुन कुरा मानवीय अज्ञानताका कारण सिर्जित एक अधम श्रेणीको विचार हो।
जातले न कसैको बस्ती उजाड पार्छ न त व्यवसाय नै ठप्प पार्छ। जात न ब्राह्मण, क्षेत्री, वैश्य वा शूद्रमध्येको कुनै जात हो न त यसको आफ्नो धर्म, सम्प्रदाय र संस्कृति नै छ। न यसको रङ छ न साइज न त आकार नै। यो त पूर्णतः निर्गुण र निराकार छ। अतः जात सबैखाले सांसारिक प्रपञ्चबाट अलग छ। यो त जीवजगत्को द्रष्टाको रूपमा आदिदेखि अनादिसम्मका लागि तटस्थकर्ता बनेर रहेको छ।
‘बसुधैव कटुम्बकम्’ र विभेद
भगवान् श्रीरामले शबरी (जो शूद्र थिइन्)ले चाखेका जुठो बयर घिन नमानी खाएका थिए। कलियुगका सम्माननीय सन्त ‘कबिर र हरिदास’ शूद्रकुलमा जन्मेका थिए। यसरी भेदरहित वेदमा जातीय विभेद छैन भन्ने उनको ठम्याइँ थियो। उनलाई जातको महत्त्व र वर्णको विशेषता वैदिक साध्यको दिव्य प्रमाण हो भन्नेमा रत्तिभर पनि भ्रम थिएन। यही ज्ञानले उनलाई नेपाललाई ‘४ जात ३६ वर्णको साझा फूलबारी हो’ भन्न सिकाएको हो।
‘साझा’ शब्दले सबैको भन्ने बुझाउँछ। यसमा विभेदको क्लेश नै हुँदैन। यसले अनेकतामा एकतालाई बुझाउँछ। ‘बसुधैव कटुम्बकम्’को बोध गराउँछ। यही वैदिक ज्ञानको बलले उनले काठमाडौं आक्रमणका क्रममा गोर्खाबाट आफूसँग आएका बहादुर शूद्र जातिका करिब दुई जति युद्धमा वफादार योद्धालाई ‘यिनीहरू मैले शूद्रभित्र भेटेका ब्राह्मणहरू हुन् र यसैगरी ब्राह्मणमा पनि थुप्रै शूद्रहरू भेटिन सक्छन्’ भन्दै ब्रतबन्ध गराई जनै लगाइदिएर ब्राह्मण बनाइदिएका थिए। यस प्रकार वेदको प्रभावका कारण उनलाई जातीय विभेद मन पर्दैनथ्यो।
जातका गुणअनुसार जातिले बेग्लाबेग्लै कर्म गर्न रुचाउने हुनाले हिन्दू समाजमा जातिप्रथाअन्तर्गत निकै कर्म गरिन्छन्। अतः यस प्रथालाई हिन्दू समाजमा महत्त्वपूर्ण दृष्टिले हेर्ने गरिन्छ। हिन्दू संस्कृतिमा ‘वर्णाश्रम धर्म’ यही उद्देश्य प्राप्तिका लागि परमेश्वरद्वारा जातका लागि बनाइएको विशेष प्रणाली थियो। त्यतिबेलाको शिक्षाको लक्ष्य नै मनुष्यको अखण्ड सुखको स्रोत बताउनु थियो। किन्तु समयले पाना पल्टायो। मनुष्यको दृष्टि छलकपट, दम्भ, असत्य, अन्याय र हिंसाजस्ता जघन्य पापकर्ममा रमाउन थाले। उनीहरूले अरूलाई लुटेर, मारेर बाँच्नुलाई सुख ठान्न थाले। फलतः जातको अर्थ अनर्थको फोहोरमा फालिन थाल्यो।
‘गीता’ मानव जीवनको सर्वोच्च शान्तिको मार्ग हो। आनन्द प्राप्तिको सूत्र हो। समस्त मानव जातिको विज्ञान हो। कर्म र कर्मफलको निष्कर्ष हो। दिव्यज्ञान र दिव्यदृष्टिको मिलनविन्दु हो। जन्मको गुप्त सार र यथार्थको परिभाषा हो। यसले मानिसलाई आफ्नो स्वभावको पहिचान गरेर जीवनको उद्देश्य प्राप्त गर्न सिकाउँछ। नोबेल पुरस्कार विजेता ‘हर्मन हेस्से’ले गीताको जीवनप्रतिको शाश्वत ज्ञानले आफूलाई निकै प्रभावित पारेको बताउँछन्।
गुण र कर्मको आधारमा वर्ण
दार्शनिक एल्डस् हक्सलेले गीतालाई शाश्वत दर्शनको आजसम्म प्रस्तुत सबैभन्दा स्पष्ट र सर्वांगीण सार हो। जर्मन दार्शनिक हर्मन ग्रफ केसर्लिङले त विश्वलाई नै गीता पढ्ने सल्लाह दिन्थे। वर्णाश्रम व्यवस्थामा ‘वंशाणुगत’को र ‘पारिपाशविकता (वातावरण)को अनुपम समन्वय छ। यसर्थ हिन्दू–संस्कृतिको वर्णाश्रम–व्यवस्थालाई मानवरचित पद्धति भनिँदैन। यस वर्ण व्यवस्थाअनुसार ब्राह्मण, क्षेत्री, वैश्य र शुद्र यी मानिसका चार प्रमुख वर्ण हुन्। गीताको अध्याय–४, श्लोक–१३ मा भगवान् कृष्णले गुण र कर्मका आधारमा यी वर्णहरूको रचना आफैंद्वारा गरेको भनेका छन्–
‘चातुर्वर्ण्यं मया सृष्टं, गुणकर्मविभागशः
तस्य कर्तारमपि मां विद्धयकर्तारमव्ययम्।’
यस प्रकार जाति र कुलका आधारमा नभएर वर्णको विभाजन गुण र कर्मको आधारमा भएको तथ्य स्पष्ट हुन्छ। खासमा गीता मानवका लागि कृष्णार्जुनको विज्ञानसिद्ध ‘दिव्यवार्ता’ हो। यसले वर्णको स्वभावानुसार सबैलाई कर्म गर्न सिकाउँछ। भगवान्का अनुसार संसारमा ८४ लाख जीव तिनीहरूको गुण र कर्मानुसार उत्पन्न भएका हुन्। ब्राह्मणका सन्तान ब्राह्मण, क्षेत्रीका क्षेत्री र शूद्रका शूद्रको हिसाबले यसको विभाजन गरिएको होइन।
सृष्टिमा चमत्कार छ। जसको रहस्य भनेकै जीवहरूको मौलिकता अर्थात् जात हो। अतः जातले कसलाई भेदभाव गर्छ ? यो परम वैज्ञानिक र व्यावहारिक पद्धतिले कोसँग बहस गर्छ ? यसर्थ यस्तो पद्धतिमा शंका गर्नु भनेको मानवीय अज्ञानताको परिणाम हो। सबै जीव र वनस्पतिमा ‘वंशाणुगत
गुण र वातावरणीय एकता’को सम्बन्धमा पूर्वजन्मदेखिकै अपूर्व प्रभाव हुन्छ। फलतः चारैवर्णका वर्णाधिकारी सबैले सदैव आआफ्ना स्वभावानुकूलका कर्म गरिरहेका हुन्छन्।
- भेदरहित वेदमा जातीय विभेद छैन भन्ने ठम्याइँले जातको महत्तव र वर्णको विशेषता दर्शाउँछ। जुन वैदिक साध्यको दिव्य प्रमाण हो भन्नेमा रत्तिभर पनि भ्रम थिएन। यही ज्ञानले नेपाललाई ‘४ जात ३६ वर्णको साझा फूलबारी हो’ भनिएको पाइन्छ।
- विभेद कुरीति हो। अतः अन्त्य कुरीतिको गरौं। जातीय विभेद धारणा र अभिव्यत्तिाmभित्रको मानवनिर्मित सामाजिक दूराग्रहबाहेक केही होइन।
- अतः जातिभेद भनेको ‘ईश्वरभेद’ हो अर्थात् ईश्वरलाई घृणा गर्नु हो। आफैंलाई घृणा गर्नु हो। आफूले आफैंलाई नरुचाउनु हो। आफूले आफैंलाई नरुचाएपछि अरूले रुचाएनन् भन्नु बेकार छ।
हरेक जातभित्रका बिजतत्त्व/धर्मतत्त्व हुन्। यसर्थ सबै वर्णमा शूद्र र ब्राह्मण दुवै जातिको अस्तित्व छिपेको हुन्छ। बिजतत्त्व भनेकै जात हो। आत्मा हो। दैवी ऊर्जा हो। ब्राह्मण हो। यो कुनै सम्प्रदायको पेवा होइन। यसकारण वर्ण व्यवस्था नीतिसम्मत व्यावहारिक विज्ञान हो। यो सबै जात, वर्ण र लिंगका लागि उत्तिकै हितकारी छ। शूद्र र ब्राह्मणका बीचमा क्षेत्री र वैश्य पनि कर्म र गुणकै आधारमा आफ्नो जातीय धर्ममा सुहाएका हुन्। गीताको अध्याय–१८, श्लोक–४३ र अध्याय–१८, श्लोक–४४ मा श्रीकृष्णले अर्जुनलाई क्रमशः क्षेत्रीयका र वैश्यका गुण र ती गुणले गर्ने कर्मलाई यसरी बताएका छन्–
‘शौर्य तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम्।
दानमीश्वरभावश्चक्षात्रं कर्म स्वभावजम्।’
अर्थात् शुरवीरता, तेज, धैर्य, चतुरता, युद्धमा नभाग्नु, दान दिनु र स्वामीभाव राख्नु। यी सबै क्षत्रीयका स्वाभाविक कर्म हुन्। महाभारतको युद्धमा कौरव सेनाका प्रथम सेनापति ‘भीष्म पितामह’ (देवव्रत)ले आदर्श क्षत्रीय धर्मको पालना गरेको उदाहरण हामीसँग छ।
कृषि–गौरक्ष्य–वाणिज्यं, वैश्यकर्म स्वभावजम्।
अर्थात् खेती, गौपालन र क्रय–विक्रयरूपी सत्य व्यवहारहरू वैश्यका स्वाभाविक कर्महरू हुन्। उपनिषद्ले वर्णाश्रम व्यवस्थाको सन्दर्भमा सुकर्मले शूद्रलाई ब्राह्मण र कुकर्मले ब्राह्मणलाई शूद्र बनाइदिन सक्छ भनेर भनेको छ। मनुस्मृतिमा पनि यिनै तथ्य उल्लेख छन्। यसका अनुसार सतोगुणमा अवस्थित बुद्धिमान् मानिसहरूको वर्णलाई ‘ब्राह्मण’ रजोगुणमा अवस्थित प्रशासकीय खुबी भएकालाई ‘क्षेत्रीय’ रजोगुण र तमोगुणको मिश्रित गुणमा अवस्थित व्यापारिक खुबी भएकालाई ‘वैश्य’ र अन्तिम तमोगुण प्रधान श्रमिक वर्गका मानिसलाई ‘शूद्र’ भनिन्छ। अतः गुणानुसार ब्राह्मणमा ब्रह्म वा परमात्मासम्बन्धी ज्ञान हुनुपर्छ।
जस्ता देवता उस्तै पूजा !
मानव समाजमा यसरी चार वर्णको सृष्टि गरेर पनि आनन्दस्वरूप भगवान् कृष्ण यी चारै वर्णभन्दा अलग हुनुहुन्छ। उहाँ मानवसमाजको कुनै पनि अंगमा पर्नुहुन्न। किनकि उहाँलाई प्रभावित पार्ने कुनै कर्म नै छैन। उहाँमा कर्मफलको चाहनै छैन। जोसँग यो यथार्थ बुझ्न सक्ने सामथ्र्य छ, ब्राह्मण उही हो। स्वधर्ममा रहँदा यदि मरिन्छ भने पनि त्यसैमा रहँदा कल्याण छ; परन्तु परधर्म भयंकर हुन्छ भनिएको छ गीतामा। लोकमा प्रचलित ‘अर्काको बुद्धिले महान् हुनुभन्दा आफ्नो बुद्धिले तुच्छ हुनु वेश’ भनाइले गीताकै भनाइलाई पुष्टि गर्छ। यसकारण गुणरहित भए पनि आफ्नो स्वभाव/धर्म/जातलाई त्याग्नु हुँदैन। आफ्नै स्वभावमा कर्म गर्नुमै जीवहरूको कल्याण हुन्छ।
महात्मा गान्धीको एउटा भनाइ छ– ‘जस्ता देवता उस्तै पूजा !’ यहाँ ‘देवता’ भनेर स्वभाव (गुण/जात)लाई भनिएको हो भने ‘पूजा’ भनेर त्यसप्रति गरिने व्यवहार/कर्मलाई हो। यसको मूल आशय हो– जीवले कर्म/व्यवहार आफ्नो स्वभावअनुसार गर्छ। यसर्थ ‘जस्तो स्वभाव उस्तै कर्म’ गर्नुमा नै जीवास्तित्वको रक्षा हुन्छ। जस्तै– ‘झिनुवा र अनदी’जस्ता धानका चामललाई घिउमा पकाउँदा जति गुणोन्नति हुन्छ अरू चामललाई पकाउँदा हुँदैन। धान र धानमा यस्तो अलगताको मुख्य कारण उनीहरूमा निहित वंशाणु तत्त्व वा स्वभाव वा जातमा भिन्नता हुनु हो। आफूसँग भएको गुण र गुणको चमत्कारलाई बिर्सेर अरूको गुणमा रमाउन खोज्नु भनेको आफ्नो अस्तित्वलाई गुमाउनु हो।
जन्मैदेखिको स्वभाव भनेको जीवनको सभ्यता हो। जीवमा यो स्वभावको निर्देशन ‘जिन’ अर्थात् ‘वंशाणु तत्त्व’ले गर्छ। वंशाणु जीवकोषको न्युक्लियसको ‘क्रोमोजोम’भित्र पाइन्छ। यो अति नै सूक्ष्म हुन्छ। मानवशरीरमा यस्ता जिनहरू २० हजारदेखि २५ हजारको संख्यामा पाइन्छन्। यसको अध्ययनबाट अघिका अनगिन्ती पुस्तादेखि पछिका अनगिन्ती पुस्तासम्मको ‘वंशवृक्ष’ थाहा पाउन सकिन्छ। जीव उद्विकासको सिद्धान्तलाई ‘चाल्स डार्बिन’ले अघि सारेका थिए।
परन्तु उनले वंशाणुगत गुण कसरी एउटा पुस्ताबाट अर्को पुस्तामा सर्छ र त्यसले सिंगो पुस्तालाई नै कसरी प्रभावित पार्छ भन्नेबारे चित्तबुझ्दो व्याख्या दिन सकेका थिएनन्। अस्ट्रियाका ‘ग्रेगर जोन मेण्डल’ जो चाल्र्स डार्बिनभन्दा करिब १३ वर्षले कान्छा थिए, उनले वंशाणुगत गुण र ती गुण एक पुस्ताबाट अर्को पुस्तामा कसरी सर्दै जान्छ भन्नेबारेमा गहन अन्तर्दृष्टि प्रदान गरिदिए। उनको ‘लैंगिक शुद्धताको नियम’अनुसार जिनहरूले कहिल्यै पनि आफ्नो मौलिकता नगुमाई सधैं शुद्ध रहन्छन्।
शूद्र, सबै जातहरूको जरा
वंशाणुहरूले प्राकृतिक नियमलाई पालना गर्दै अनगिन्ती पुर्खाबाट अलगअलग ‘प्याकेज’मा एकापसमा कहिल्यै नमिसिई सन्तान र दर–सन्तानहरूमा सर्ने गर्छन्। कुनै बखतमा ती वंशाणु शक्तिशाली हुन पुग्छन्। फलतः बिरुवा वा जीवमा त्यसको प्रभाव प्रष्ट देखिन्छ। उनको यो आविष्कारको महत्त्वलाई अझ स्पष्ट र व्यापकताका लागि उनीभन्दा २६ वर्षले कान्छा डच वैज्ञानिक ‘ह्युगो डी भ्राइस’ले निकै महत्त्वपूर्ण भूमिका खेलेका छन्। यसले के स्पष्ट पार्छ भने जात अर्थात् जिनतत्त्व जीवको अपरिवर्तनीय र जीवको अस्तित्वका लागि अपरिहार्य गुण हो।
यसर्थ यस्तो गुणको ज्ञान हुनु नै ब्राह्मण हुनु हो। त्यसको संरक्षणार्थ लड्न तयार हुनेहरू क्षेत्रीय हुन्। क्षेत्रीयहरूलाई आवश्यक पर्ने अस्त्र र शस्त्रको व्यवस्था गरिदिने व्यवसायीहरू वैश्य हुन् भने यी सबैको कर्मलाई व्यवस्थित गराइराख्न उनीहरूको दानापानी र सेवामा नित्य खटिइरहनेहरू शूद्र हुन्। यसकारण सामाजिक व्यवस्थापनका लागि शूद्र सबै जातहरूको जरा हो जसले धर्म र प्रकृति सन्तुलनका लागि सदा योगदान गरिरहन्छ।
‘कोदो र मकै’मा कुन ठूलो ? कोदो कोदै हो र मकै, मकै नै हो। कोदोमा भएको अनौठो गुणले कोदोलाई मकैसँग र मकैमा भएको अनौठो गुणले मकैलाई कोदोसँग भिन्न गराउँछ। कोदोको गुण कोदो फलाउनु र मकैको गुण मकै फलाउनु हो। जबर्जस्त गुण मिसाउन खोजियो भने दुवैको अस्तित्व जोखिममा पर्छ। अन्ततः दुवैले खच्चरले जस्तै नपुंसकताको सिकार स्वीकार्नुपर्छ। खच्चर घोडा र गदाको अन्तिम ‘ठिमाहा रूप’ हो। जो जीवनभर निःसन्तान भएर बाँच्छ। नपुंसकको जिन्दगी बाँच्छ। यो प्रजननविहीन अवस्थाले अन्ततः पृथ्वीलाई जीवविहीनताको अवस्थामा लैजान्छ। जातको संरक्षण नगर्नाको अन्तिम नतिजा यही हो।
‘लाइगर’ यो भाले सिंह र पोथी बाघबाट जन्मेको कृत्रिम अर्थात् ठिमाहा जीव हो। जसको तौल र शरीरको लम्बाइ अनि उचाइ दुवै आफ्ना बाबु र आमाको भन्दा ठूलो हुन्छ। ठूलो भइकन पनि यो तिनीहरू जत्तिको बलियो हुँदैन। यसको लड्न सक्ने खुबी दुवैको भन्दा कमजोर हुन्छ। साथै यो आफ्ना बाबुआमाको गतिमा दौडिन पनि सक्दैन। उनीहरूसँग जति योसँग रोग प्रतिरोधात्मक क्षमता पनि हुँदैन। किनकि ठिमाहा अर्थात् वर्णशंकरमा आलस्यताको मात्रा वृद्धि हुन्छ।
गीताको अध्याय–१ का श्लोकहरूमा धर्मको नाशले कुलमा पाप फैलने र पाप धेरै फैलन थालेपछि कुलका स्त्रीहरू अत्यन्त दूषित हुने उल्लेख छ। यसरी पवित्र स्त्रीहरू दूषित हुँदा ‘वर्णशंकर’ जन्मिन्छन्। जो स्वाभावतः कमजोर हुन्छन्। अर्जुनले यी वर्णशंकरलाई कुलघाती भनेका छन्। यिनले कुल (जात/गुण)लाई नरकमा लैजान्छ भनेका छन्। यहाँ भनिएको नरकको अर्थ जातहीनता हो। यी वर्णशंकरकारक दोषहरूले गर्दा कुलघातीहरूका सनातन कुलधर्म र जातिधर्म नष्ट हुन पुग्छन्। जसको कुलधर्म नष्ट भएको छ, त्यस्ता मानिसको अनन्त समयसम्म नरकमा बास हुन्छ भन्ने कुरा सुनेको छु भन्दै अर्जुनले कृष्णसँग खेद प्रकट गरेका छन्। यसको ज्वलन्त प्रमाण हिजोआजका गुणहीन र लोपोन्मुख ‘वर्णशंकर’ तरकारी, फलफूल, अन्नबाली र पशुपन्छीलाई लिन सकिन्छ।
जात होइन विभेद हुनु हुँदैन
डा. जोनसनको भनाइले यसलाई अझ स्पष्ट पार्छ– ‘कुनै पनि जाति आफ्नो गुणलाई छाडेर अरूका गुणको अनुकरण गरेर कहिल्यै महान् बन्दैनन्। अन्ततः अस्तित्वविहीन भएर समाप्त हुन्छन्।’ ‘चाणक्यको उत्तमता भनेकै गुणहरूबाट आउने चीज हो, उच्च आसनबाट होइन। महलको धुरीमा बस्दैमा काग गरुड हुँदैन’ कथनको सार पनि आफ्नै जातको संरक्षण गर्नु नै हो। यसलाई अझ यसरी बुझौं– शूद्र र ब्राह्मणबाट जन्मेको बच्चा शूद्र र ब्राह्मण दुवैका प्रबल गुणबाट गिर्छ।
यसर्थ स्वगुणले सबै स्थानमा आफ्नो आदर गराउँछ। आचरण अर्थात् जात नष्ट भयो भने केही चीज पनि बच्दैन। वेदार्थी ‘कालीदास’ले पनि बिजातिलाई– ‘डुंगामा परेको प्वाल जस्तो हो जुन सानो होस् वा ठूलो एकदिन डुंगालाई पक्कै डुबाइदिन्छ’ भनेर भनेका छन्। यसर्थ हरेक जातजाति आआफ्ना मौलिक गुणमा मात्रै चमत्कार हुन्। वैदिक तत्त्वज्ञानी ‘शंकराचार्य’ले पनि वर्णाश्रम धर्मकै समर्थनमा यसो भनेका छन्– आफ्नो वर्णाश्रम धर्म यथावत् पालन गर्नाले, तपस्याले र भगवान्लाई भक्तिद्वारा सन्तुष्ट गर्नाले पुरुषलाई वैराग्य आदि साधन–चतुष्ट्यको प्राप्ति हुन्छ।
एउटा जात लोप हुनु भनेको संसारबाट एउटा महान् गुण आफ्ना सम्पूर्ण सामथ्र्यसहित समाप्त हुनु हो। लोकबाट एकचोटि लोप भइसकेको गुण फेरि लोकमा प्रवेश गर्न त्यो प्रदूषित लोक नै लोप भएर ब्रह्माण्डमा नयाँ लोकको लोकार्पण हुनुपर्छ। यसर्थ जात असंख्य जन्मका कर्मका यत्न र प्रयत्नहरू हुन्। सबैले सबेरै जातिभित्रको जातित्वलाई बचाउनु सम्पूर्ण जीव जगत्का लागि कल्याण हुनेछ। जात जातिको दिशा निर्देशक हो। आफैंमा अवस्थित ईश्वर/जातको पूजा गरौं। आफूभन्दा बाहिर आफ्नो जात छैन।
अतः विकृत सोचलाई तुरुन्त परिवर्तन गरौं र एकसाथ भनौं– जात होइन विभेद हुनु हुँदैन। जातीय विभेद एक निकृष्ट कर्म हो।