नदीजन्य पदार्थ लोड भएका चारवटा टिप्पर नियन्त्रणमा
महोत्तरी : अवैध रुपमा नदीजन्य पदार्थ लोड गरी निकासी गरिरहेको अवस्थामा गौशाला नगरपालिकाले चारवटा टिप्पर नियन्त्रणमा लिएको छ।
शुक्रबार गौशाला नगरपालिकाको उपप्रमुख रेणु महतो नेतृत्वको टिमले गिटी बालुवा लोड गरिएको टिप्परहरू नियन्त्रणमा लिएको हो।
गौशाला नगरप्रहरीले ना १ आ यो १६४, ना १ क ७८९९, ना १ अ यो १५६ र ना १ अ यो १३५ नम्बरको टिप्परहरु नियन्त्रणमा लिएको छ।
सो टिप्परहरू अहिले प्रहरीको नियन्त्रणमा रहेको नगरपालिकाले जनाएको छ।
अवैध रुपमा नगरपालिकाको कर छली गरी चोरबाटो हुँदै टिप्पर लगिरहेको विशेष सूचनाका आधारमा अनुसन्धान गर्दा सो टिप्परहरू नियन्त्रणमा लिन सफल भएको नगर उपप्रमुख महतोले बताइन्।
जय बालाजी ढुंगा, गिट्टी, बालुवा वासिङ सेन्टर गौशाला १२ कान्तिबजारबाट गिटी बालुवा लोड गरी जाँदै गरेका १२ वटा टिप्परमध्ये ४ वटामा निकासी पुर्जी थिएन।
यस सम्बन्धमा नगरप्रहरीको समन्वयमा अनुसन्धान भइरहेको नगरपालिकाले जनाएको छ।