मेयरमा पराजित राउतका एक वर्षका ११ उपलब्धी
उदयपुर : धेरै नेताहरू चुनाव हारेपछि गाउँमा देखा पर्दैनन् र सामाजिक अभियानमा समेत जोडिदैँनन्। र, आउने निर्वाचनमा फेरि टिकटका दावेदार हुन्छन्।
चुनावको नतिजासँगै हराउने नेताहरूको परिणाम आखिर उहीँ नै आउँछ। तर, त्यस्ता नेता पनि भेटिन्छन् जो निर्वाचनमा पराजित भएर पनि निरन्तर जनताको सेवामा तल्लीन हुन्छन्। यस्ता पात्र समाजमा बिरलै भेटिन्छन्।
गत स्थानीय तहको निर्वाचनमा त्रियुगा नगरपालिकाको मेयर पदमा पराजित भएका नेकपा एमालेका नेता भागवत राउत अहिले पनि सामाजिक अभियानमा जोडिएका छन्।
निर्वाचनमा पराजय भोगेपछि उनले एक वर्षमा ११ वटा काम समाजमा देखिने गरी गरेको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्।
राउतले फेसबुकमार्फत ११ वटा मुख्य कामको सूची शनिबार सार्वजनिक गरेका हुन्। उनले गरेका सामाजिक काममध्ये पहिलो ४२९ जनाको निःशुल्क आँखा शल्यक्रिया रहेको छ।
त्यसैगरी विगत ६ र २ वर्षदेखि मानसिक सन्तुलन गुमाएर साङ्लोमा बाँधिएर कष्टकर जीवन बिताइरहेका दुई जनालाई उद्धार गरी मानव सेवा आश्रममा पठाएको, माझी समुदायको परम्परागत सिपको जगेर्ना र संरक्षणका लागि त्रियुगा नगरपालिका वडा नम्बर १४ धाप्लाङ्गमा ढुङ्गा हस्तान्तरण गरेको रहेको छ।
त्यस्तै स्वास्थ्यचौकी जाँतेमा फलामे बेड हस्तान्तरण, अरुको सहाराबाट हिड्डुल गर्नु पर्ने शारीरिक रूपले अशक्त २० जनालाई ह्विल चियर वितरण, १२ जना दृष्टिविहीनलाई सेतो छडी प्रदान, एक किड्नी रोगी र एक हर्नियाका रोगीलाई आर्थिक सहयोग गरेको जनाएका छन्।
मदन भण्डारी आँखा अस्पताल गाईघाटका अध्यक्षसमेत रहेका राउतले आँखा स्वास्थ्य सम्बन्धी मलेसियामा एसिया महादेश स्तरीय गोष्ठिमा सहभागी भई सहयोगका लागि प्रस्ताव पेस गरेको र जापानी दूतावासका कर्मचारी युमिको उन्साईलाई मदन भण्डारी आँखा अस्पतालको क्षमता विस्तारका लागि थप सहयोगको अनुरोधसहित निरिक्षण भ्रमण गराएको उल्लेख गरेका छन्।
त्यस्तै राष्ट्रपति चुरे संरक्षण समितिका अध्यक्ष डा. किरण पौडेललाई खोलाहरूको स्थलगत अवलोकन गराई नियन्त्रणका लागि योजना माग गरेको र नगरका अतिआवश्यक ठाउँमा झोलुङ्गे पुलको माग तथा योजना सुनिश्चितता गराएको जनाएका छन्। राउत नेपाल नेत्र ज्योति संघका केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसमेत हुन्।
चुनाव पराजित भएको दिनलाई उनले नगरवासीको मन (मत) जित्न नसकेको दिनको रुपमा उल्लेख गरेका छन्। निर्वाचन सम्पन्न भएको एक वर्षमा ११ सामाजिक काम गर्न गरेको र त्रियुगाको समृद्धि र विकासमा दत्तचित्तका साथ लागि पर्ने वचनबद्धतासमेत गरेका छन्।
सबैलाई धन्यवाद दिँदै उनले लेखेका छन्, ‘मतदानमा, राजनीतिमा, विकास र सामाजिक कार्यमा अन्तर हृदयदेखि सहयोग गर्नुहुने सम्पूर्णमा नमन भन्न चाहान्छु। यहाँहरूको साथ सहयोग प्रेरणा र प्रोत्साहन नै मेरा लागि कर्म क्षेत्रमा जुटि रहने अजश्र ऊर्जा र श्रोतको भण्डार हो।'