जहाँ टेलिफोनमा कुरा गर्न रूखमा चढ्नुपर्छ
उदयपुर : देश विदेशका समाचार सुन्न त रेडियो नै छ। तर, आफन्तसँग कुरा गर्न भने रूखमा नै चढेर टेलिफोन गर्नुपर्छ। त्यो पनि कहिले लाग्छ, कहिले लाग्दैन। त्यसैले प्रायःजसो मोबाइल घरमा नभई नजिकको रूखमा ठूलो साउन्डमा घण्टी बज्ने गरी झुन्ड्याएर राखिन्छ। यो कुनै चलचित्रको कथा होइन।
उदयपुरको त्रियुगा नगरपालिका–१४ भैंसेट्याम्केका स्थानीयको वास्तविक अवस्था हो। रूखमा चढेर टेलिफोनमा गफ गर्दै गरेको अवस्थामा भेटिएका भैंसेट्याम्केका भाष्कर मगर भन्छन्, ‘घर नजिक हुँदा त घण्टी बजेको सुन्छौं। त्यहीँ गएर उठाएर कुरा गर्छौं। तर, मेलापात जाँदा सञ्चारविहीन भएर बस्नुपर्छ। तत्काल कुरा गर्नुप¥यो भने रूखमा चढेर कुरा गर्छौ। अनि काममा जान्छांै,’ उनले सुनाए, ‘दिनभर काम गरेर घर आउँछांै मोबाइल हेर्दा कतैबाट फोन आएको रहेछ भने फेरि कल गर्छौं।’
घर बाहिर हिँड्दा, बेलुका र वर्षाको समयबाहेक प्रायःजसो फोन रूखमा नै झुन्ड्याएर राख्ने गरेको उनी बताउँछन्। त्यसो त भाष्करमात्र होइन टेलिफोनको घण्टी बज्नसाथ नरबहादुर मगर घरनजिकको बडहरको रूखमा चढ्छन् र कुरा गर्छन्। भन्छन्, ‘हामी त जेनतेन रूखमा चढेर कुरा गर्छौं। तर रूख चढ्न नसक्ने बुवाआमा, श्रीमती, छोराछोरी, अशक्तहरूले के गर्नु ?’
उनी थप्छन्, ‘रूखमा चढ्न सक्नेले फोनमा कुरा गरिहाल्छन् नसक्नेले तल बस्ने त्यसपछि उता र यताको कुरा दोहोरो संवाद गरिदिनुपर्छ। आपत्कालीन आफूले कुरा गर्दा सहजै छ,’ उनले भने, ‘तर बाहिरबाट त्यस्ता कुरा गर्नुपर्दा मेलापात गएको खण्डमा सम्भव हुन्न।’ फोन नलाग्दा कहिलेकाहीँ एक दिनअघि सुन्नुपर्ने कुरा अर्को दिन सुन्नु परेको स्थानीय सञ्जिना राईले अनुभव सुनाइन्, ‘रूखमा पनि सधैंजसो टेलिफोन लाग्दैन। नेटवर्क आउने र जाने समस्या छ। त्यसैले भनेको बेलामा कसैसँग कुरा गर्न पाइन्नँ।’
यो क्षेत्रमा बसोबास गर्दै आएका ३० घरपरिवारकै समस्या र पीडा उस्तै छ। स्थानीय नमुना टोल विकास समितिका अध्यक्ष अगमबहादुर मगर भन्छन्, ‘नगरपालिका भएर पनि विकासले हामी पछि पर्र्यौं, टेलिफोन, सडक, स्वास्थ्य संस्थाजस्ता अत्यावश्यक सेवा गाउँमा नहुँदा छुट्टै राज्यमा बसेको जस्तो अनुभूति भएको छ।’ समस्याको बारेमा बारम्बार कुरा राख्दासमेत सुनुवाइ नभएको स्थानीयको भनाइ छ।
अगम भन्छन्, ‘नेताहरू चुनावको बेला यो र त्यो विकास गर्छौं भन्दै भोट माग्दै आउनुहुन्छ त्यसपछि कता हराउनु हुन्छ थाहा हुन्न, यस्तै अवस्था रहिरहे आगामी निर्वाचनमा भोट लगाउँदैनौं।’ चौदण्डीगढी र त्रियुगा दुई नगरपालिकाको सिमानामा रहेर पनि विकासका हिसाबले आफूहरू पछि परेको उनीहरूको गुनासो छ।