चिठ्ठा परेको भन्दै २२ लाख ठगी गर्ने तीन जना पक्राउ
उदयपुर : सामाजिक सञ्जाल मार्फत ठगी गर्ने तीन जनालाई उदयपुर प्रहरीले पक्राउ गरेको छ।
खोटाङको खोटेहाङ गाउँपालिका-९ स्थाई घर भई हाल त्रियुगा नगरपालिका-३ बस्दै आएका २९ वर्षीय उदय राईलाई ह्वाटसएसप मार्फत भारु २५ लाख चिठ्ठा परेको भन्दै ठगी गर्नेहरू पक्राउ परेका हुन्।
पक्राउ परेका कटारी नगरपालिका-३ आलेडाँडाका उज्जवल थापा मगर, सोही ठाउँका विशाल थापा मगर र चितवन रत्ननग-२ का सुशील श्रेष्ठलाई प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
उनीहरूले आकाश वर्माको नाम दिँदै फिसिङ (झुक्याएर गर्ने), भिसिङ (भ्वाइस मेसेज) र सेमसीङ (एसएमएस)बाट सर्वसाधरणलाई प्रलोभनमा पारी ठगीधन्दा चलाएको आरोपमा प्रहरीले पक्राउ गरेको हो।
उनीहरूलाई छुट्टा-छुट्टै स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए। उनीहरूले राईलाई चिठ्ठा परेको भन्दै प्रलोभनमा पारी दस्तुर (कर) वापत पटक-पटक गरी विभिन्न व्यक्तिहरूको खाताबाट २२ लाख २० हजार रकम ठगी गरेको आरोप छ।
राईले भनेजति कर बुझाउँदासमेत चिठ्ठामा परेको रकम नआएपछि वैशाख २० गते जिल्ला प्रहरी कार्यालय उदयपुरमा ठगी सम्बन्धी जाहेरी दर्ता गरेका थिए।
पीडितको जाहेरीका आधारमा विशेष प्रहरी परिचालन गरी उज्जवल र सुशीललाई काठमाडौं महानगरपालिका-१० बुद्धनगर र विशाललाई घरबाटै पक्राउ गरिएको एसपी फुयाँलले बताए।
उनीहरूलाई जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २१ अन्तर्गत ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा थप अनुसन्धान सुरु गरिएको उनले बताए।
उनका अनुसार पीडितले विभिन्न मितिमा इसेवा, आइएमईपे, कनेक्ट आईपिएस लगायतका माध्यमबाट उक्त रकम पठाएका हुन्।
निवेदकले ट्रन्सफर गरी पठाएको खाता नम्बर, बैंक भौचर, रकम पठाएपछि गरिएको स्क्रिनसर्ट, फोन नम्बरलाई मुख्य आधार मानेर सिनियर प्रहरी अधिकृतले गरेको सुक्ष्म अनुसन्धानबाट उनीहरू पत्राउ पर्न सफल भएको एसपी फुयाँलले बताए।
ठगीका अनेक रूप
प्रहरीले अनुसन्धानका क्रममा अपराध गर्ने व्यक्तिहरूले सामाजिक सञ्जालको प्रयोग गरी सुक्ष्म रूपमा मानिसको आर्थिक हैसियत, सोचाई तथा व्यवहारिक ज्ञानको बुझाई र भावनात्मक अवस्थालाई चित्रण गरी उपयुक्त किसिमको विधि अपनाउने गरेको खुलेको छ।
त्यसैगरी व्यक्तिलाई प्रलोभनमा पारी धेरै बैंकमा खाता खोल्न लगाउने, मोबाइल सिमकार्ड निकाल्न लगाउने र तहगत रूपमा उक्त सामग्री तथा विवरण माथिल्लो तहसम्म पुर्याउने, सामान्य व्यक्तिलाई अग्रभागमा देखाई ठगी गिरोहका मुख्यव्यक्ति आफू सुरक्षित हुने गरेको एसपी फुयाँलले बताए।
त्यस्तै साइबर सम्बन्धी ज्ञान भएकाहरूलाई सामाजिक सञ्जालबाट लिंक पठाउने तथा कल गेर चिठ्ठा परेको छ, बोनस तथा पार्सल आएको छ भन्दै प्रलोभनमा पारी योजनाबद्ध ढंगले व्यक्तिका नाममा खोलिएको खातामा पैसा जम्मा गर्न लगाउने र रकम निकाली ठगी गर्ने गरेको अनुसन्धानबाट खुलेको एसपी फुयाँलले बताए।
साइबर अपराध विरुद्ध प्रहरीले अभियान चलाउने
जिल्ला प्रहरी कार्यालयले ठगीका घटनामा वृद्धि हुने थालेपछि अभियान चलाउने भएको छ। प्रहरीले सरोकारवाला निकायसँग समन्वय गरी गाउँ, टोलबस्ती, विद्यालयमा सचेतनाका पाटो अघि सार्ने तय गरेको हो।
एसपी फुयाँलले सामाजिक सञ्जाल प्रयोकर्ताको लापरवाहीका कारण यस्ता घटनाले प्रसय पाएको बताए। प्रहरीले चिठ्ठा, उपहारका नाममा ठगीधन्दाले प्रसय पाएकाले अनधिकृत रूपमा सामाजिक सञ्जालको प्रयोग नगर्न र प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।