कर्णालीका हरेक प्रहरी युनिटमा नागरिक सहजकर्ता
वीरेन्द्रनगर : कर्णाली प्रदेश प्रहरी कार्यालयले कर्णालीका हरेक प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता परिचालन गरेको छ।
सुरक्षित कर्णाली विशेष सुरक्षा योजना अन्तर्गत प्रहरीले आइतबार कर्णाली प्रदेशका १० वटै जिल्लाहरूमा एकैसाथ हरेक प्रहरी युनिटहरूमा नागरिक सहजकर्ता खटाएको हो।
नागरिक सहजकर्ता प्रहरी परिचालन अभियानको सुर्खेतमा उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीलाई सुरक्षित प्रदेश बनाउन प्रहरीको सक्रियता प्रशंसनीय रहेको बताए। उनले भने, 'मन्त्रालय र प्रदेश प्रहरी कार्यालयको संयुक्त सहकार्यमा सुरक्षित कर्णाली प्रदेश विशेष सुरक्षा योजना अन्तर्गत नागरिक सहजकर्ता प्रहरी खटाइएको छ।'
यसले नेपाल प्रहरीले गर्दै आएको सेवा प्रवाह थप प्रभावकारी हुनेछ। कर्णालीका सबै जिल्लाको शान्ति सुरक्षाको अवस्था मजबुत हुनेछ। प्रदेश सरकारको प्रवक्ता समेत रहेका मन्त्री जिसीले भने, ‘अब कर्णालीमा अपराध नियन्त्रण र अनुसन्धानलाई पनि मजबुत बनाइनेछ।’
कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले नेपाल प्रहरीको सेवालाई प्रभावकारी बनाउन कर्णालीका २ सय ४४ प्रहरी युनिटमै २ सय ४४ जना नागरिक सहजकर्ता प्रहरी परिचालन गरिएको बताए।
उनले भने, 'आइतबार सबै जिल्लामा एक दिने अभिमुखीकरण गरी हरेक प्रहरी युनिटमा एक जना नागरिक सहजकर्ता प्रहरी खटाइएको छ। नागरिक सहजकर्ताका रूपमा खटिएका प्रहरीहरूले प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई नमस्कार गर्ने, के सेवा लिन आएको हो त्यस विषयमा सोधपुछ गर्ने, उक्त सेवा कहाँ पाउने हो सोही शाखासम्म स्कटिङ गरेर लिने र सेवा लिइएर फर्किने बेला सेवाको प्रभावकारिताका विषयमा बुझेर नमस्कार गरेर बिदा गर्ने छन्। जसका आधारमा प्रहरी कार्यालयमा आएका सेवाग्राही, उनीहरूले लिएको सेवा र त्यसको प्रभावकारिताका विषयमा पनि अभिलेख राखिनेछ।'
नागरिक सहजकर्ता प्रहरी कर्णाली प्रदेश प्रहरी कार्यालय, तालिम केन्द्र, गण, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी चौकी, प्रहरी चौकी, प्रहरी बिद्यालय लगायतका कार्यालयहरूमा परिचालित छन्।
प्रहरी प्रहरी प्रमुख ढकालले भने, 'प्रहरी जनताको सेवक हो। समाजमा शान्ति, सुरक्षा, अमनचयन कायम राख्नु प्रहरीको दायित्व हो। सुरक्षित कर्णाली विशेष सुरक्षा योजना अन्तर्गत नागरिक सहजकर्ता प्रहरी यो एक कार्यक्रम हो।'
कर्णालीलाई सबै हिसावले शान्त, सुरक्षित र सभ्य बनाउनका लागि समाजमा रहेका सामाजिक विकृति विसंगतिहरू न्यूनीकरण, अपराधमुक्त समाज र जनउत्तदायी प्रहरी प्रशासन, सुविधा सम्पन्न संरचना लगायतका धेरै पक्षहरू जोडिएका छन्।
सुरक्षित कर्णाली विशेष सुरक्षा योजनामा परिकल्पना गरेका सबै पक्षलाई कार्ययोजना बनाएर क्रमश लागु गर्दै अगाडि बढिने उनले बताए।
प्रहरी कार्यालयमा आफ्नो काम वा सुरक्षा समस्या लिएर आउने नागरिकहरूलाई सेवा प्रवाह छिटो, छरितो र प्रभावकारी होस तथा कुनै अर्को व्यक्ति वा विचौलियाको सहयोग लिन नपरोस् भन्ने उद्देश्यले पनि कार्यालय कम्पाउन्डमा छुट्टै पहिचानसहित ‘नागरिक सहजकर्ता’ प्रहरी सेवा सुरु गरिएको हो ।